नेपाल नर्सिङ परिषद्ले नर्सिङ अनुमतिपत्रका लागि भएको मोलमोलाइबारे आवश्यक छानबिन भइरहेको जनाएको छ।
परिषद्का रजिष्ट्रार बिन्दा घिमिरेले आज प्रेस विज्ञप्ति जारी गर्दै परिषद्ले सञ्चालन गर्ने नर्सिङ अनुमति परीक्षाको विषयलाई लिएर यस परिषद्का सदस्यले पैसा मोलमोलाइ गरेको समाचारका सम्बन्धमा परिषद्ले सम्बन्धित सदस्यसँग सोधपुछ गरेको र वास्तविकताबारे छानबिन गरिरहेको बताइन्।
‘सदस्यले लिखितरूपमा यो विषयमा परिषद्लाई जानकारी गराउनुभएको छ र आफ्नो ‘फेक आइडी’ बनाएर आपराधिक समूहले सो काम गरेको परिषद्लाई जानकारी गराउनुभएको छ’, विज्ञप्तिमा उनले भनेकी छन्, ‘फेक आइडी बनाउने समूहको पहिचान गरेर कानूनी कारवाहीका लागि सम्बन्धित निकायमा उजुरीसमेत दिइसकेको छ। यसको वास्तविकताबारे परिषद्ले पनि आवश्यक छानबिन गरिरहेको छ।’
उनले प्रभाव र पहुँचका आधारमा नतिजा प्रभावित नभई परीक्षा निष्पक्ष हुने हुँदा यस्ता भ्रमपूर्ण हल्लाका पछाडि नलाग्न सम्बन्धित सबैमा आग्रह गरेकी छन्। परिषद् र परिषद्मा आबद्धको नाम लिएर दलाली गर्दै बदनाम गराउने काममा संलग्नलाई छानबिनको दायरामा ल्याएर कडा कानूनी कारवाही गर्न समेत उनले सरकारसँग माग गरेकी छन्। रासस

Shares

प्रतिक्रिया