समाज


आफैँले कटौती गरेको डीआईजी दरबन्दी फेरि थप्दै ओली सरकार

आफैँले कटौती गरेको डीआईजी दरबन्दी फेरि थप्दै ओली सरकार

उजिर कार्की
मंसिर २, २०८१ आइतबार २१:३२, काठमाडौँ

नेपाल प्रहरीमा धेरै भएको भन्दै आफैँले कटौती गरेको प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गर्ने तयारी केपी शर्मा ओलीको सरकारले गरेको छ। यसअघि ओली प्रधानमन्त्री हुँदा नै नेपाल प्रहरीमा कटौती गरिएका दरबन्दी थप गर्ने प्रक्रिया अगाडि बढेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेलको छलफलपछि प्रहरी प्रधान कार्यालयले ५ जना प्रहरी नायब महानिरीक्षकको दरबन्दी थप गर्ने प्रक्रिया अगाडि बढाएको हो। 

प्रहरी प्रधान कार्यालयको प्रस्तावपछि गृह मन्त्रालयले सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ। अर्थ मन्त्रालयबाट सहमति आउन बाँकी रहेको गृह मन्त्रालयका एक अधिकारीको भनाइ छ। 

प्रहरी प्रधान कार्यालयले भने प्राविधिकतर्फ विधि विज्ञान र सञ्चारमा डीआईजीको दरबन्दी माग गरेको छ। अहिले नै प्राविधिकतर्फ ९ जना डीआईजीको दरबन्दी छ। तर साइबर ब्युरोमा नविन्द अर्याल र प्रहरीको केनाइन स्कुलमा देउती गुरुङका लागि विशेष दरबन्दी रहेकाले उनीहरूको अवकाशसँगै उक्त दरबन्दी पनि हट्नेछ। 

जनपदतर्फ उपत्यका ट्राफिक प्रहरी कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भरतपुर तालिम केन्द्रमा प्रस्ताव गरिएको छ। अहिले पनि यी कार्यालयमा डीआईजी नै कार्यरत छन्। तर दरबन्दी भने एसएसपीको मात्रै छ। अन्यत्र दरबन्दी भएका डीआईजीलाई काजमा खटाइएको छ। यीमध्ये विमानस्थल र भरतपुरमा भने अहिले डीआईजी अवकाश भएपछि रिक्त भएको छ। 

नेपाल प्रहरीमा जनपदतर्फ २० वटा दरबन्दी कायम छन्। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ चैतमा एकसाथ १२ जना डीआईजीको दरबन्दी कटौती गरेको थियो। एआईजीको दरबन्दी पनि ९ बाट घटाएर तीन वटामा सीमित गरिएको थियो। अहिले उक्त दरबन्दी बढाएर ८ पुर्‍याइएको छ। प्राविधिकसहित प्रहरीमा अहिले एआईजीको दरबन्दी ९ पुगेको छ। 

डीआईजीको दरबन्दीमध्ये ७ प्रदेशमा ७ जना डीआईजीको दरबन्दी कायम छ। यस्तै अपराध अनुसन्धान विभाग, महिला बालबालिका निर्देशनालय, कार्य विभाग, प्रशासन विभाग, विशेष ब्युरो, सचिवालय, प्रदेश समन्वय, अन्वेषण योजना निर्देशनालय, साइबर ब्युरो, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, उपत्यका प्रहरी कार्यालय, सीआईबी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा डीआईजीको दरबन्दीे छ। 

यस्तै, प्राविधिकतर्फ ५ जना डीआईजीको दरबन्दी प्रहरी अस्पतालमा छ। यसमध्ये ३ जनाको रिक्त छ। साइबर ब्युरो, सूचना तथा प्रविधि महाशाखा, केनाइन स्कुल, इन्जिनियरिङ महाशाखामा डीआईजीको दरबन्दी कायम छ। प्राविधिकसहित हाल २९ जना डीआईजीको दरबन्दी कायम छ। दुई वटा विशेष दरबन्दी छाड्दा पनि २७ जनाको दरबन्दी रहनेछ। तर अझै थप गरेर ३२ जना पुर्‍याउन लागिएको हो। 

यसअघि ओली प्रधानमन्त्री हुँदा नै १४ मा झारिएको डीआईजीको दरबन्दी दोब्बर पुर्‍याउन लागिएको हो। दरबन्दी कटौती गरेको एक वर्ष नपुग्दै २०७७ मंसिरमा ५ जना डीआईजीको दरबन्दी थप गरिएको थियो। त्यतिबेला पनि प्रधानमन्त्री ओली नै थिए। फेरि ओलीले नै दरबन्दी थप्न लागेका हुन्। 

बढुवाकै मुखमा कटौती, बढुवाकै लागि थप्ने तयारी
अहिले डीआईजी बढुवाको प्रक्रिया नै रोकेर दरबन्दी बढाउने खेलमा लागेजस्तै घटाउने बेलामा पनि बढुवा रोकेरै चलखेल गरिएको थियो। २०७६ चैत २८ गते १२ जना डीआईजीको दरबन्दी कटौती गर्दै १० जनालाई बढुवाका लागि सिफारिस गरिएको थियो। 

त्यतिबेला केपी ओली नेतृत्वकै सरकारले सहकुलबहादुर थापालाई नेतृत्वमा पुर्‍याउने उदेश्यसहित दरबन्दीमा चलखेल गरेर बढुवा सिफारिस गरेको थियो। थापा आफूभन्दा अघिल्लो ब्याचका एसएसपीलाई उछिनेर डीआईजीमा सिफारिस भएका थिए। 

उनले अघिल्लो ब्याचका धिरजप्रताप सिंहलाई पनि पछि पारेका थिए। तर एमाले नेतृत्वको सरकार ढलेर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि थापा र उनीभन्दा अगाडी नै डीआईजी भइसकेका विश्वराज पोखरेललाई पनि पछि पार्र्र्दै धिरजप्रताप सिंह आईजीपी बनेका थिए। त्यतिबेला प्रतिस्पर्धीलाई रोक्न दरबन्दीमा चलखेल गरेको ओली नेतृत्वको सरकारले अहिले भने बढुवा रोकेर दरबन्दी थप्ने तयारी गरिरहेको छ। 

नेपाल प्रहरीमा ८ जना डीआईजीको दरबन्दी रिक्त छ। तर लामो समयदेखि रिक्त स्थानमा बढुवा नगरी अझै दरबन्दी बढाउन लागिएको छ। अहिले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरकै ब्याचका तीन एसएसपी डीआईजी बन्ने लाइनमा छन्। 

अरु २ ब्याजका एकसाथ एसएसपीमा बढुवा भएका अधिकारीहरू पनि डीआईजीका लागि प्रतिस्पर्धामा छन्। सरकारले बढुवा गर्न चाहेका अधिकारीहरू पछाडि हुनु र सिनियरलाई छाड्दा संगठनमा असन्तुष्टि बढ्ने भएपछि दरबन्दी थप गर्न लागिएको हो। 

आईजीपी कुँवरका ब्याची ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द पनि एसएसपीमै कार्यरत छन्। उनीहरू अब डीआईजीका लागि बलिया प्रतिस्पर्धी हुन्।

गणेश चन्द २०७९ असार २५ गते ३२ जना एसएसपीमा बढुवा हुँदा पहिलो नम्बरमा थिए। 

यस्तै सुरुमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा ल्याइएको टोलीबाट पनि यसपटक डीआईजी बन्ने छन्। यो टोलीबाट एसएसपी सिद्धिविक्रम शाह, सुशील सिंह राठौर र उमाप्रसाद चतुर्वेदी पनि डीआईजीका बलिया दाबेदार हुन्।

शाहकै ब्याचका हिमालयकुमार श्रेष्ठ, ओम राना र डम्बरबहादुर विक पनि डीआईजीका लागि प्रतिस्पर्धामा छन्। यस्तै २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर सँगै एसएसपी भएको टोली पनि डीआईजीको प्रतिस्पर्धामा छ। यो टोलीका दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी डीआईजी भइसकेका छन्। 

यो टोलीबाट ईश्वर कार्की, गोविन्द थपलिया, दिनेश आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट पनि डीआईजी बन्ने लाइनमा छन्।

यस्तै यही टोलीसँगै एसएसपी भएका माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, दिपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला, दिपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जीव शर्मा दास, लोकेन्द्र श्रेष्ठ र शारदाप्रसाद चौधरी पनि डीआईजीका दाबेदार हुन्। तर उनीहरू डीआईजी बढुवाका लागि जोडबल गरिरहेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad