नक्कली फेसबुक आइडि बनाएर युवतीहरुबाट २७ लाख रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका–५ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका–७ बस्ने रुद्रबहादुर गुरुङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
रुद्रले फेसबुकलगायत सामाजिक सञ्जालमा नक्कली एकाउन्ट निर्माण गरी करिब २७ लाख ८३ हजार दुई सय ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
उनले केटीहरुलाई साथी बनाइ आफू फ्रान्स, सिङ्गापुरको लाहुरे हुँ, सिङ्गापुर लैजान्छु, सिङ्गापुर लैजानको लागि कागजात बनाउनुपर्छ, त्यसबापत पैसा लाग्छ भनी काठमाडौँ र चितवनका विभिन्न स्थानमा आफ्नो हुलिया एवं परिचय परिवर्तन गरी भेट्न बोलाई ठगी गरेको पाइएको आचार्यले बताए।
उनलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ। रासस
Shares

प्रतिक्रिया