समाज


प्रदेशमन्त्री जोडिएको मानवतस्करी : ल्याबको रिपोर्ट र दूतावासको जवाफ कुर्दै प्रहरी

प्रदेशमन्त्री जोडिएको मानवतस्करी : ल्याबको रिपोर्ट र दूतावासको जवाफ कुर्दै प्रहरी

उजिर कार्की
मंसिर ६, २०८१ बिहिबार २०:१९, काठमाडौँ

कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी जोडिएको मुद्दाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। पक्राउ परेका सबैको बयान सकिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त रजौरेले बताए। 

अधिकारीसहित ९ जनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार र किर्तेको कसुरमा अनुसन्धान गरिरहेको छ।

९ जनाकै बयान सकिएको र केही दिनमै जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ। जापानमा मानव तस्करी गरेको विषयमा प्रहरीले काठमाडौँस्थित जापानी दूतावासमा पत्राचार गरेको थियो। उक्त पत्रको जवाफ आउन बाँकी छ। भिसा लगायतका प्रक्रिया कसरी अगाडि बढ्यो भन्ने विषयमा प्रहरीले दूतावासको जवाफ माग गरेको छ। 

यस्तै पक्राउ परेका आरोपितहरूका मोबाइल लगायतका उपकरण परीक्षणका लागि प्रहरीको डिजिटल प्रयोगशालामा पठाइएको छ। ल्याबबाट रिपोर्ट आउन बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ।

यो कसुरमा प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ। निवर्तमान मन्त्री अधिकारी कात्तिक २५ गते पक्राउ परे पनि अरु ६ जनालाई त्यसअघि नै पक्राउ गरिएको थियो। सुरुमा कात्तिक १६ गते नै तीन जना पक्राउ परेकाले सोही मितिबाट २५ दिन गणना हुन्छ।

‘हामीले २५ दिनभित्रमा मुद्दा बुझाउनै पर्ने हुन्छ। फरेन्सिक ल्याबको रिपोर्ट आउन बाँकी छ। कतिपय पत्रको जवाफ पनि आइसकेको छैन। हामी रिपोर्ट प्राप्त भएपछि बुझाउने गरी समयभित्रै मुद्दा बुझाउँछौँ,’ एसएसपी रजौरेले नेपालखबरसँग भने। 

प्रहरी र सरकारी वकिलसमक्षको बयानमा पनि अधिकारीले भने पुरानै कुरा दोहो¥याएका छन्। उनले आफूलाई झुक्याएर लगेको र फसाइएको बयान दिएका छन्।

आफूले मानव विचबिखनको उदेश्यले अन्य युवाहरूलाई पनि साथ लगाएर पठाएको थाहा पाउनासाथ प्रहरीलाई जानकारी गराएको दाबी गरेका छन्। यसरी गएका युवासँग उनकै मन्त्रालयको कर्मचारी भनि परिचयपत्र दिइएको विषयमा पनि आफूलाई जानकारी नभएको र आफू संलग्न पनि नरहेको उनको बयान छ।

प्रहरीले अनुसन्धानको क्रममा पनि मन्त्री अधिकारीको परिचय पत्र बनाउनमा संलग्नता नदेखिएको दाबी गरेको छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘हामीले मन्त्रीज्यूको बयानलाई मात्रै आधार मान्ने त होइन तर अनुसन्धानका क्रममा पनि यी कार्यमा मुख्य भूमिका अन्य व्यक्तिहरूकै देखिन्छ।’

आफूसँगै जापान पुगेका तीनजनालाई पनि आफूले नचिनेको मन्त्रीको भनाइ छ। तर उनले सबैकुरामा संलग्नता इन्कार गरे पनि सँगै जापान गएका व्यक्तिहरूसँगै उनका लागि पनि होटल बुकिङ गरेको पाइएको छ। खोटाङको केपीलासगढी गाँउपालिका ४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐसेलुखर्क गाँउपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाँउपालिका–५ का २१ वर्षीय कन्चन देवकोटा मन्त्री अधिकारीसँगै जापान पुगेका थिए। 

उनीहरूलाई जापानको विमानस्थलबाटै फर्काइएपछि त्रिभुवन विमानस्थलबाट पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको थियो। 

उनीहरूको बयानबाट धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका–९ का ३० वर्षीय वीरबहादुर सुनुवारको पनि संलग्नता खुलेको थियो। प्रहरीले उनीहरूलाई पनि पक्राउ गरेको थियो।

यी ६ जनापछि मन्त्री अधिकारी पक्राउ परेका थिए। अनुसन्धानका क्रममा थप दुई जनाको पनि संलग्नता खुलेको थियो। प्रहरीले खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राईलाई पनि पक्राउ गरेको छ। अझै केही व्यक्तिको संलग्नता खुले पनि उनीहरू भने फरार रहेको प्हरीको दाबी छ।

मन्त्री अधिकारीको राहदानी लिने, भिसा लगायतका प्रक्रिया अगाडि बढाइदिने व्यक्तिहरू पनि फरार छन्। 

मन्त्री अधिकारीले यही प्रकरणका कारण मन्त्रीबाट राजीनामा दिनु परेको थियो। नेकपा एमालेले पनि उनलाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ। 

अधिकारी सांस्कृतिक कार्यक्रमका लागि जापान जाँने भने पनि मन्त्रिपरिषदबाट स्वीकृति लिएका थिएनन्। उनीसँगै जापान पठाइएका युवाहरूबाट बिचौलियाले रकम असुलेको पनि पाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad