प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै जन्मिएकी बालिकालाई स्वागत गरेर नेपालमा छैटौँ एसियाली जनसंख्या सम्मेलन (एपीसी) को उद्घाटन गरेका छन्।
कार्यक्रम उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा भर्खर प्रसूति भएकी मीना श्रेष्ठ र उनकी नवजात छोरीलाई भिडिओ कलमार्फत स्वास्थ्यलाभको कामना पनि गरे।
श्रेष्ठले अपरेसनबाट दोस्रो सन्तानका रूपमा छोरी पाएकी हुन्। उनले पहिला पनि अपरेसनबाटै बच्चा जन्माएकी थिइन्।
‘प्रधानमन्त्रीज्यूले भिडिओ कलबाट आमा र बच्चाको स्वास्थ्य अवस्था सोध्नुभयो। बधाई दिनुभयो र स्वास्थ्यलाभको कामना गर्दै बेस्ट विसेस भन्नुभयो,’ सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) डा वर्षा बरालले नेपालखबरलाई भनिन्।
डा बरालका अनुसार, श्रेष्ठले पनि जनस्वास्थ्य विषय अध्ययन गरेकी छन्।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय जनसंख्या विभाग र एसियन पपुलेसन एसोसिएसन (एपीए) को सहकार्यमा सम्मेलन सुरू भएको छ। मंसिर १५ गतेसम्म चल्ने सम्मेलनमा ५० देशका ७०० भन्दा बढी जनसंख्या विज्ञ, नीति निर्माता, र अनुसन्धानकर्ता सहभागी रहेको आयोजक समिति संयोजक प्राडा योगेन्द्रबहादुर गुरुङको भनाइ छ।
सम्मेलनमा १७ वटा मुख्य विषयगत शीर्षकमा ४०० वटा कार्यपत्र प्रस्तुत गरिनेछ। विश्वव्यापी जनसांख्यिकीय परिवर्तनहरू, सामाजिक–आर्थिक प्रभावहरू र जनसंख्या व्यवस्थापनका चुनौतीहरूमा केन्द्रित रहेर सम्मेलनमा बहस हुने गुरुङले बताए।
नेपालले यस्तो सम्मेलन पहिलोपटक आयोजना गर्न लागेको हो। यसअघि यो सम्मेलन नयाँ दिल्ली (२०१०), बैंकक (२०१२), क्वालालम्पुर (२०१५), सांघाई (२०१८) र जकार्ता (२०२१) मा सम्पन्न भएको थियो।
Shares

प्रतिक्रिया