समाज


नेपालमा कोरोना परीक्षण गराउने दिनप्रतिदिन बढ्दै, अहिलेसम्म कतिले गराए?

नेपालमा कोरोना परीक्षण गराउने दिनप्रतिदिन बढ्दै, अहिलेसम्म कतिले गराए?

नेपालखबर
चैत ४, २०७६ मंगलबार १:२९,

नेपालमा कारोना भाइरस परीक्षण गर्ने एक मात्र प्रयोगशाला- काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य जाँच गराउने बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।

प्रयोगशालाका प्रवक्ता राजेशकुमार गुप्ताले दुई/तीन दिनयता प्रयोगशालामा परीक्षण गराउने बिरामीको संख्या बढेको बताए।

‘अहिले दिनमै २५ वटासम्म स्याम्पल (नमुना– बिरामीको रगत/र्‍याल) आउने गरेका छन्,’ मंगलबार बिहान नेपालखबरसँग कुरा गर्दै प्रयोगशालाका सूचना अधिकारी गुप्ताले भने, ‘यसमा सबैभन्दा बढी काठमाडौं उपत्यकाकै बिरामी छन्।’

उनका अनुसार कोरोना आशंकामा अहिलेसम्म प्रयाेगशालाले ४९६ नमुना परीक्षण गरिसकेकाे छ।

‘पछिल्लो पटक सोमबार साँझ आएको १८ नमुनाको रिपोर्टसमेत जोड्दा अहिलेसम्म परीक्षण संख्या ४९६ पुगेको छ,’ उनले भने, ‘तर अहिलेसम्म सबै नेगेटिभ (कोरोना भाइरस नभएको) रिपोर्ट आएको छ।’

काठमाडौं उपत्यकाबाहिर अहिलेसम्म भरतपुर, पोखरा, लुम्बिनी, नेपालगन्ज, धनगढी, विराटनगर, जनकपुर, धरानबाट कोरोना परीक्षणका लागि नमुना आइरहेको सूचना अधिकारी गुप्ताले जानकारी दिए।

उपत्यकापछि सबैभन्दा बढी पोखरा र चितवनबाट नमुना आउने गरेको उनले बताए।

रुघाखोकी, ज्वरो, टाउको दुख्ने लक्षण देखिनेबित्तिकै कोरोना हो कि भनेर अस्पताल पुग्नेहरूको संख्या बढेकाले नमुना परीक्षणको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ छ।

‘सामान्य ज्वरो, रुघाखोकी, टाउको दुख्ने हुनेबित्तिकै मानिस अस्पताल पुग्ने गरेका छन्,’ प्रयोगशालाका प्रवक्ता गुप्ताले भने, ‘अनि सम्बन्धित अस्पतालका चिकित्सकले कोरोना परीक्षणका लागि बिरामीको नमुना टेकु प्रयोगशाला पठाउँछन्।’

यसरी परीक्षण गराउनुको कारण कोरोनाप्रति मानिसमा सतर्कता बढेको प्रमाण पनि भएको उनी बताउँछन्।

प्रयोगशालमा कति जनशक्ति छ?
कोरोना भाइरस परीक्षण अहिले नेपालमा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हुन्छ।

अझ चीनमा कोरोना संक्रमण सुरु हुने बेला यसको परीक्षण नेपालमै हुन्थेन। शंका लागेका बिरामीका रगत तथा र्‍याल परीक्षण गराउन विश्व स्वास्थ्य संगठनको प्रयोगशाला शाखा हङकङ पठाउनुपर्थ्याे। 

संक्रमण सुरु भएको केही दिनपछि मात्र टेकु प्रयोगशालामा प्रविधि जडान गरी नेपालमै परीक्षण सुरु गरिएको हो।

अहिले दिनमा २०/२५ वटा नमुना मात्र परीक्षण गर्नुपरेकाले ५ जना प्राविधिकबाट काम भइरहेको प्रयोगशालाका प्रवक्ता राजेशकुमार गुप्ताले जानकारी दिए।

‘तर दिनप्रतिदिन स्याम्पलको संख्या बढिरहेकाले हामीले दिनमा ८ सय वटासम्म परीक्षण गर्ने गरी जनशक्ति तयार गरिसकेका छौं,’ उनले भने, ‘त्यसका लागि हामीले ८० जनाको टोली बनाइसकेका छौं।’

परिआएको खण्डमा दुई सिफ्ट गरेर जनशक्ति परिचालन गरिने उनले बताए।

याे पनि : 

कोराेना शंका लागेमा कहाँ कसरी परीक्षण गराउने? यी हुन् ९ जिज्ञासा र जवाफ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad