जीवनमा एउटा राम्रो घर होस् भन्ने धेरैको सपना हुन्छ। जसका लागि मानिसहरू अनेक दु:ख गर्छन्। अरू खर्च कटाएर भए पनि घर बनाउन लागिपर्छन्।
ललितपुर टीकाभैरवकी शर्मिला खड्काको परिवारले पनि निकै दु:ख गरेर सपनाको महल बनाएको थियो। तीन वर्ष लगाएर बनाएको घरमा करौडौँ खर्च लागिसकेको थियो।
दसैँका लागि भनेर घर पूर्ण रूपमा तयार हुँदै थियो। बिजुलीबत्तीदेखि फर्निचरका सामानहरू फिटिङ गरिए। जहाँ परिवारसहित दसैँ मनाउने उत्साहमा थिइन् शर्मिला। तर, रहर पूरा हुन पाएन।
असोज १२ गते बाढीपहिरोले आँखैअगाडि शर्मिलाको घर ढल्यो। वर्षौँदेखि गरेको परिवारको मेहनत पानीमा मिसियो। जुन देखेर शर्मिलाको होस नै उड्यो।
‘मेहनत गरेर परिवार जुटेर घर बनाएको थियौँ। घर बनाउन करौडौँ खर्च लागेको थियो। छोरा साउदी गएर कमाएको जति सबै यसैमा लगाएका थियौँ। तर, बाढीपहिरोले हेर्दाहेर्दै घर पल्टियो,’ भावुक हुँदै भनिन्।

त्यो घटना सम्झेर केहीबेर शर्मिला बोल्न सकिनन्। उनको आँखा आँसुले भरिए। एकछिनपछि भनिन्, ‘घर ढल्दा म त बेहोस नै भएँ। घरको एउटा सामान पनि झिक्न पाएका थिएनौँ। एकदमै दु:ख गरेर बनाएको घर ढल्दा निकै गाह्रो हुँदो रहेछ।’
नल्लु खोलाको बाढीले शर्मिलाको घरसहित ५ आना जग्गासमेत बगाएको छ। विपद्का कारण शर्मिलाको खुसी खोसिएको छ। झन् त्यो पल्टिएको घर देख्दा उनको मुटु फुटेर आउँछ।
‘पल्टिएको घर देख्दा भित्रैदेखि मुटु फुटेर आउँछ। बरु यो बगाएर लगेको भए आनन्दै हुन्छ। जहिले आउँदा यहीँ देखिन्छ,’ उनले भनिन्, ‘ज्यान त बाँच्यो। तर, घरजग्जा नहुँदा बस्न गाह्रो भइरहेको छ। अन्त घर बनाउने ठाउँ पनि छैन।’
गत असोज ११ गते दिउँसैदेखि लगातार पानी परिरहेको थियो। नल्लु खोलाछेउ घर भएका हरिबहादुर खड्का त्यस रात चैनले निदाउन सकेनन्। उनी राति उठेर बाहिर हेर्न आउँथे। बिहान ४ बजेसम्म अवस्था ठिकठाक थियो।
बिहान साढे आठ बजे। बाढीपहिरोले हरिबहादुरका दाइको घर ढल्यो। आँखैअगाडि घर ढल्दा हरिबहादुर निकै आत्तिए। उनी हतारिँदै परिवारलाई सुरक्षित ठाउँमा सार्न लागे।
‘आँखैअगाडि दाइको घर ढलेपछि निकै आत्तियौँ। खोरबाट बाख्राहरू त सारिसकेका थियौँ। तर, ३ सय कुखुरा रहेको फार्म बाढीले बगायो। घरतिर नोक्सान गर्न थालेपछि हामी डरले सुरक्षित ठाउँतिर लाग्यौँ,’ उनले सम्झिए।

कुखुरा फार्ममात्र होइन, नल्लु खोलाको बाढीपहिरोले हरिबहादुरको जग्गाजमिन पनि बगाएको छ। र, घर पनि जोखिमयुक्त अवस्थामा छ। तर, अन्त बसोबास गर्ने ठाउँ नहुँदा त्यसै घरमा बस्न बाध्य छन् उनी।
‘केही दिन त अरुको घरमा बस्यौँ। तर, अन्त जग्गा नभएपछि त्यसै घरमा फर्किएँ। बाढीपहिरोले पिल्लरमा धक्का पुगेको छ। अरु मान्छेहरूले पनि त्यहाँ नबन्नु भन्छन्। डर त लाग्छ नि! तर, के गर्ने? अन्त आफ्नो जग्गाजमिन छैन, आफ्नै घरमा फर्किएर आएँ,’ उनी सुनिएँ।
राहतको आशामा स्थानीय
नल्लुको बाढीपहिरो गएको तीन महिना पुग्न लागिसकेको छ। तर, अहिलेसम्म पनि त्यस ठाउँमा पुन: निर्माणको काम सुरु हुन सकेको छैन। खोला छेउछेउमा न तटबन्धन काम सुरु भएको छ, न बाढीले असर पुर्याएका घर, विद्यालय, अस्पताल, मन्दिर तथा सडकको पुन:निर्माण अघि बढ्न सकेको छैन।
यतिसम्म कि शर्मिलाको ढलेको घरको सामानसमेत निकालिएको छैन।
भन्छिन्, ‘त्यो बेला खानेकुरा र लुगा त पाएका थियौँ। तर, अहिलेसम्म घरबारविहीन छौँ। त्यसको क्षतिपूर्ति समेत छैनौँ।’

हरिबहादुरले पनि आफूले सरकारबाट राहत रकम नपाएको गुनासो गरे।
उनले भने, ‘त्यही बेला खानेकुरासहित राहत पाएका थियौँ। त्यसपछि क्षतिबापत एउटा रकम पनि पाएका छैनौँ। अहिलेसम्म कुनै पनि मान्छेले यहाँ आएर यस्तो गर्दिन्छौँ भनेका छैनन्। कुखुरा बगाएको निवेदन हालेको छ। तर, अहिलेसम्म केही पाएको छैन। यस्तै खेत किनेर त राख्दिन सक्दैन। तर, केही खर्च पाउँछु कि भन्ने आश छ। सरकारले गरिखानलाई केही व्यवस्था गरिदिए हुन्थ्यो लागेको छ।’
क्रसर उद्योगका कारण क्षति
स्थानीयका अनुसार यसअघि २०३८ सालमा टीकाभैरव क्षेत्रमा ठूलो बाढीपहिरो आएको थियो। त्यो बेला नल्लु खोलाले आफ्नो बाटो नै फेरेको थियो।
त्यसपछि यो किसिमको विपत्ति पहिलोपटक भोगेको हरिबहादुरको भनाइ छ।
‘बुवाले भनेअनुसार ०३८ सालमा पनि यस्तै बाढीपहिरो आएको थियो। तर, खोलाले बाटो फेरे पनि यस्तो क्षति पुर्याएको थिएन। ४३ वर्षमा पहिलोपल्ट यस्तो प्रकोप देखेका हौँ।’
क्रसर, गिट्टी र ढुङ्गा खानीकै कारण त्यस क्षेत्रमा धेरै क्षति पुगेको उनको दाबी छ।

‘क्रसरले गर्दा नै बढी क्षति भएको हो। पानीमा गएर खनिरहेको छ। त्यही माटो ल्याएर खोलामा हालिरहेको छ। अहिले उनीहरूलाई पैसा कमाउँदा आनन्द भइरहेको छ। हामीलाई बिगारेको मतलब नै छैन,’ उनी भन्छन्।
अर्का स्थानीय बासिन्दाले पनि क्रसर उद्योगकै कारण यो विनाश भोग्नुपरेको बताए, ‘हाम्रो परिवारको १०/१२ रोपनी जग्गा परेको छ। यहाँदेखि माथि वन सबै फडानी भएको छ। बेस्सरी खानी चलाएको छ। दिनमा सयौँ टिपरले माल ढुवानी गर्छ। त्यसका कारण यो विनाश भएको हो।’
वडा अधयक्ष भन्छन् : १९ करोडभन्दा बढी खर्च भइसक्यो
गोदावरी नगरपालिका, वडा नम्बर ६, टीकाभैरवका अध्यक्ष विष्णुमान महर्जनले यो पटकको बाढीपहिरो अस्वाभाविक रहेको बताए। जसबाट प्रभावित पूर्वाधारहरूको पुन:सञ्चालनको लागि १९ करोड खर्च आइसकेको उनको दाबी छ।
‘हुन त विपत् व्यस्थापनका लागि ३ करोड छुट्याएका थियौँ। तर, यसपटकको बाढीपहिरो हाम्रो कल्पनाबाहिरको कुरा थियो। यसका लागि जति नै पूर्वतयारी भए पनि वा राज्यनै लाग्दा पनि सकिँदैन। मेरो वडामा अहिलेसम्म १९ करोड बढी खर्च आइसकेको छ। सेवा सञ्चालन गर्नलाई मात्र, शतप्रतिशत होइन।’

विद्युत्, खानेपानीसहित समस्या समाधान गरे पनि सडकदेखि पुन:निर्माणका कार्यमा बजेट नहुँदा गाह्रो भइरहेको बताउँछन् उनी।
‘बिजुली, खानेपानीको काम भए पनि सडक निर्माणमा गाह्रो भइरहेको छ। हामी जनप्रतिनिधि भयौँ। यताउता मागेर हाम्रो तत्काल रेस्पोन्स हुन्छ। तर, सडक विभागमा त्यस्तो छैन। सडक त हामी एक्लैले बनाउन सक्दैनौं। अन्य पुन:निर्माण गर्न पनि बजेट छैन,’ उनले भने।
क्रसर उद्योगका कारण बढी विनाश भएको कुरालाई अध्यक्ष महर्जनले भने नकारे।
महर्जनले भने, ‘क्रसर उद्योगले स्थानीयमा खोलाबाढी आयो भन्ने छ। केही मद्दत गरेको होला तर, यो क्रसरले गर्यो भनेर मलाई लाग्दैन। पहिरो क्रसर र खानी क्षेत्रभन्दा माथिबाटै आएको छ। क्रसरभन्दा तलतिर अरु ठाउँमा पनि पहिरो आएको छ। खासमा ललितपुरको गोदावरी भौगोलिक हिसाबले नै विकट छ। जसकारण यो प्राकृतिक विपत्ति नै हो।’
भिडिओ:
फाेटाे/भिडिओ: लक्ष्मी बलायर
Shares

प्रतिक्रिया