धुलिखेलका एक व्यापारी फागुन २५ गते काठमाडौं आए। उनले पहिलेदेखि नै चिनजान भएका धुलिखेलकै सुरज रायलाई भेटे।
‘दाइ, बागबजारतिर रमाइलो गर्न जाने होइन?’ सुरजले ती व्यापारीलाई प्रस्ताव राखे।
बागबजारको एक होटलमा ‘रमाइलो’ का लागि जान व्यापारी तयार भए।
होटलमा एउटी युवती पनि रहेको सुनाएपछि व्यापारी झनै रौसिए।
साँझ ५ बजेतिर उनीहरु बागबजार पुगे। त्यहाँ एक युवती, श्यामसुन्दर राय र अर्का एक जना पनि बसिरहेका थिए।
उनीहरु व्यापारीसँग चिनजान भएकै मानिस थिए।
साँझ परेपछि पाँचै जना त्यही होटलमा भेला भएर खानपिन सुरु गरे। व्यापारी र ती युवती जिस्किन थाले। नसा चढ्दै गएपछि उनीहरु नग्न भएर अश्लील हर्कत गर्न थाले। अरुहरुले भने उनीहरुको भिडियो खिच्न थाले।
त्यो रात युवतीसँगै बिताएका व्यापारी भोलिपल्ट बिल तिर्ने बेलामा झस्किए। बिल उठेछ ३७ हजार रुपैयाँ, उनीसँग थियो मात्र १५ हजार।
१५ हजार रुपैयाँ तिरेर बाँकी पैसा घरबाट ल्याइदिन्छु भन्दै उनी फागुन २६ गते धुलिखेल फर्किए। उनी फर्किएपछि तीनै जनाले पालैपालो फोन गर्न थाले। तर त्यो दिन व्यापारीको फोन उठेन।
फोन नउठेपछि उनको मोबाइलमा म्यासेज पुग्यो, ‘हिजो राति के के भएको छ त्यो भिडियो हामीसँग छ। पैसा नपठाइदिने हो भने हामी सार्वजनिक गरिदिन्छौं।’
त्यसपछि व्यापारी अत्तालिए। पैसा दिन्छु भने।
तर, उनीहरुले भिडियोका लागि पनि पैसा मागे।
सुरुमा होटलमा उठेको ३७ हजार रुपैयाँ तिरे हुन्छ भनेका थिए। पछि उनीहरुले ३ लाख रुपैयाँ माग्न थाले। त्यसमध्ये पनि डेढ लाख तत्काल पठाउनु पर्ने सर्त थियो।
२८ गतेसम्म पनि पैसा नआएपछि उनीहरुले अन्तिम मेसेज पठाए, ‘अढाई लाख रुपैयाँ दिइनस् भने अब भिडियो सार्वजनिक भयो।’
त्यसपछि व्यापारी अत्तालिँदै महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेर घटना सुनाए।
प्रहरीले जाहेरी माग्यो। उनले त्यही दिन जाहेरी लेखेर दिए। २९ गते प्रहरीले जाहेरी दर्ता गर्यो। जाहेरी दर्ता गरेकै दिन घटना भएकै होटलबाट दुई जना पक्राउ परे।
युवतीलाई भने उनले काम गर्ने टेकुस्थित एक बिमा कम्पनीको कार्यालयबाटै पक्राउ गर्यो।
उनीहरुमाथि आपराधिक लाभमा मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भिडियो खिचेको जानकारी युवतीलाई थियो। व्यापारीलाई भने त्यसको जानकारी थिएन।
‘उनीहरुको यो योजना पहिल्यै बनेको रहेछ। होटलको बिल तिरेको भएपनि उनीहरुले पछि भिडियो देखाएर व्यापारीसँग पैसा लिने तयारी गरेका रहेछन्,’ अनुसन्धान अधिकृत भन्छन्।
ती युवती बिमा कम्पनीमा काम गर्दै स्नातक पढिरहेकी थिइन्।
व्यापारीबाट लिइएको तीन लाख रुपैयाँमध्ये ५० हजार रुपैयाँ युवतीलाई दिने सहमतिपछि आफू भिडियो खिच्न राजी भएको बयान उनले दिएकी छन्।

प्रतिक्रिया