समाज


मिलनको बयान: ६ पटक लोकसेवा दिँदा पनि असफल भएपछि तनावमा थिएँ

मिलनको बयान: ६ पटक लोकसेवा दिँदा पनि असफल भएपछि तनावमा थिएँ

फाइल तस्बिर: मिलन आचार्य


नेपालखबर
पुस ९, २०८१ मंगलबार १४:४२, काठमाडौँ

भक्तपुरको बालकोटमा बाबु र भाइ हत्याका आरोपित मिलन आचार्यले पछिल्लो समय आफू तनावमा रहेको बयान दिएका छन्।

उनले लोकसेवा परीक्षाका लागि तयारी गर्न काठमाडौँ बसिरहेको र पटकपटक परीक्षा दिए पनि असफल भएपछि तनावमा रहेको प्रहरीसँग बताएका हुन्।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का मिलनले ५६ वर्षीय बाबु कुलप्रसाद आचार्य र २२ वर्षका भाइ प्रवीणको हत्या गरेको स्वीकार गरेका छन्। उनले तनावकै कारण बाबु र भाइको हत्यापछि आफू पनि आत्महत्या गर्ने सोच आएकाे बयान मंगलबार बिहान महाराजगन्ज प्रहरी वृत्तमा दिएका हुन्। 

२६ वर्षका मिलनले नायब सुब्बा र खरिदारको परीक्षा ६ पटक दिएको बताएका छन्। तर जतिपटक परीक्षा दिए पनि पास नभएपछि आफूलाई तनाव भएको बताएका हुन्। 

यस्तै बाबु पनि डिप्रेसनको बिरामी रहेको, आफूसँग डेरामा बसेर पढिरहेको भाइले पनि राम्रोसँग नपढेको उनको भनाइ रहेको प्रहरीले जानकारी दिएको छ।सोधपुछमा संलग्न प्रहरी अधिकारीका अनुसार घरभित्रै रहेका सिलौटा र लोहोराले हानेर भाइ र बुबाको हत्या गरेको मिलनले बताएका छन्।

हत्यापछि राति नै स्कुटरबाट बाहिरिएका उनले भक्तपुरको बिरुवा भन्ने ठाउँमा गएर पासो लागेको समेत बताएका छन्। तर पासो चुँडिएर आत्महत्याको प्रयास असफल भएपछि प्रहरी कार्यालय आइपुगेको उनले सुनाएका छन्। उनको घाँटीमा चोट पनि रहेको प्रहरीले जनाएको छ। 

‘बुबा डिप्रेसनको बिरामी हुनुहुन्थ्यो। भाइ पनि खासै नपढ्ने, कुलतमा लागेजस्तो थ्यो। आफूले कहिले सुब्बा, कहिले खरिदार गरेर ६ पटक लोकसेवाको परीक्षा दिएँ। तर पास हुन सकिनँ। आफ्ना कारण परिवारलाई तनाव भयोजस्तो लाग्यो। मैले केही गर्न सकिनँ। यो भन्दा त बाबुलाई पनि मुक्ति दिँदा ठीक हुन्छ भनेर मार्ने निर्णय गरेको हुँ’, उनले प्रहरीको प्रारम्भिक सोधपुछमा भनेका छन्, ‘बाबु र भाइलाई मारेपछि म पनि मर्छु भनेर यो सबै गरेको हुँ। कुनै झगडा परेर हत्या गरेको होइन।’

उनका बुबा जिल्ला हुलाक कार्यालय दिक्तेलका निमित्त प्रमुख हुन्। बुबा र दिदी नायब सुब्बा छन् भने बहिनी विदेशमा र भाइ उनीसँगै काठमाडौँमा बसेर पढ्थे। बुबा कार्यालयको कामकै लागि काठमाडौँ आएका थिए। एक सातादेखि उनी छोराहरूसँगै बालकोटको डेरामा बसिरहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad