समाज


अघिल्लो दिन मिलनले नै बुवालाई अस्पताल लगे, भोलिपल्ट भाइसँगै सिध्याए

किन गरे बुवा र भाइको हत्या? छोराकै मुखबाट सुन्न चाहन्छिन् रेजिना
अघिल्लो दिन मिलनले नै बुवालाई अस्पताल लगे, भोलिपल्ट भाइसँगै सिध्याए

रमेश गिरी/रासस
पुस १०, २०८१ बुधबार १७:३५, भक्तपुर

जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो। तर सवारी चालक अनुमतिपत्र भने थिएन।

त्यसैले कार्यालय जानआउन सहजताका लागि स्कुटरको लाइसेन्स अर्थात् सवारी चालक अनुमति पत्रको परीक्षा दिन गत मङ्सिर २८ गते बिदा लिएर भक्तपुर आएका थिए दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका स्थायी बासिन्दा निमित्त कार्यालय प्रमुख आचार्य। तर सवारी चालक अनुमति पत्र लिने धोको पूरा गर्न नपाउँदै सधैँको लागि अस्ताए उनी।

सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरको भुईँतलामा कोठाभित्र मृत अवस्थामा फेला परेका बाबु कुलप्रसाद र कान्छो छोरा २२ वर्षीय प्रवीण आचार्यको हत्या आरोपमा प्रहरीले जेठा छोरा मिलन भन्ने रुपेश आचार्यलाई मंगलबार काठमाडौँ महाराजगन्जबाट पक्राउ गरेको छ।

सोमबार बिहानसम्म कोठा नखोलेको, परिवारका कोही पनि बाहिर नदेखिएको र मोबाइलमासमेत सम्पर्क नभएपछि सोमबार बिहान प्रहरीलाई खबर गरी कोठाको ताल्चा फुटाएर भित्र पस्दा बाबुछोरा  छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिएका थिए।

कुलप्रसादको हत्यापछि सिरक ओढाएको र भान्छा कोठामा सुतेका प्रवीणको भने बिभत्स तरिकाले टाउकोमा सिलौटाले प्रहार गरी अनुहारनै चिन्नै नसकिने अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ।

बालकोटस्थित कान्छो छोरा एकनाथको घरमा बस्दै आएका मृतक कुलप्रसादका बुबा ८२ वर्षीय खडानन्द आचार्य, आमा ७६ वर्षीया तुलसा आचार्य र घटनापछि दिक्तेलबाट बालकोट आइपुगेकी मृतक कुलप्रसादकी पत्नी रेजिना आचार्य मात्रै होईनन्, आचार्यको सिङ्गो परिवार र आफन्तजन सोमबार देखिनै शोकाकुल बनेका छन्।

मङ्गलबार साँझ पशुपति आर्यघाटमा बाबुछोराको एकैपटक दाहसंस्कार गर्दा परिवार र आफन्तको शोक निकै पीडादायक थियो। ८२ वर्षीय खडानन्दले आफ्नै छोरा र नातिलाई दागबत्ति दिएर कोरा बारेर किरिया बसेपछिको पीडा पनि परिवार र आफन्तका लागि निकै कठिन बनेको देखिन्थ्यो।

घर झगडा कहिल्यै नसुनेको, परिवारभित्र कलह कहिल्यै नरहेको, माया र स्नेहमै अगाडि बढिरहेको अवस्थामा माया गर्ने आफ्नै बाबु र भाइको बिभत्स तरिकाले कसरी हत्या गर्नसक्छ भन्ने प्रश्नले यो परिवारलाई पटकपटक चिमोटिरहेको बताउँछन् मृतक परिवारका आफन्त दीपक पाण्डे।

कान्छो छोराको घरमा बस्दै आएका बुबा खडानन्द र आमा तुलसासँगै थिए गत शनिवार साँझसम्म कुलप्रसाद। साँझ जेठो छोराले मासु बनाएको छु बाबा खाना खान आउनुस् भनेर बोलाएपछि झोला बुबाआमा सुत्ने कोठामै छाडेर छोराहरूको कोठामा पुगेका थिए उनी। बुबा र दुईभाइ छोराले शनिबार बेलुकाको खाना सँगै खाएको तर अचानक राति यस्तो दुःखद घट्ना कसरी भयो? किन भयो? मृतकका परिवारजनले अहिले यही प्रश्न बारम्बार गरिरहेका छन्।  

शनिबार नातिको कोठामा जाँदा छोराले छाडेर गएको झोला हरेर बुढी आमा तुलसाको आँखा ओभाएका छैनन्। अर्काेतिर छोरा र नातिको अकास्मात भएको मृत्युको पीडाले बुबा खडानन्द छटपटाइरहेका छन्।

मृतक कुलप्रसादकी पत्नी रेजिनाको आँसु रोकिएको छैन। ‘मरो जेठोले आफूले अति माया गर्ने बुबा र भाइका हत्या गर्‍यो भनेर मैले कसरी पत्याउनु, मरो छोरालाई मेरो अगाडि ल्याउ, म उसकै मुखबाट सुन्न चाहन्छु।’ भन्दै भावविव्हल बनेकी रेजिनालाई सम्हाल्न सक्ने अवस्था नरहेको पाण्डे बताउँछन्। यतिखेर मृतकका आफन्तजनलाई पीडित आचार्य परिवारलाई संहाल्न सकस परेको छ।

परिवारका अनुसार ध्यान, अध्ययन र कलाकारितामा सक्रिय जेठो छोरा मिलन आफन्त र पारिवारिक भेटघाटमा रमाउँथे। सबैको प्यारो बन्दै आएका मिलनले तयारी गरिरहेको लोकसेवाको परीक्षामा असफल भएपछि त्यसको पीडा भने उनलाई थियो। कान्छो छोरा प्रवीण सूचना प्रविधिमा स्नातक अध्ययन गरिरहेका थिए। विभिन्न प्रतियोगिताहरूमा भाग लिने उनी मोडलिङमा पनि जम्दै थिए।

मृतक कूलप्रसादका भाइ माधवले मोडलिङमा अगाडि बढेका प्रवीणले केही म्युजिक भिडिओमा अभिनय गरेका जानकारी दिँदै स्नातक तहको अध्ययनपछि अमेरिकामा थप अध्यनका लागि जाने तयारी गरेको बताए।

मृतक आचार्यकी जेठी छोरीको ललितपुरको लुभुमा बिवाह भएर जीवन अगाडि बढिरहेको र कान्छी छोरी गएको तिहार मानेर पत्रकारितमा स्नातकोत्तर अध्ययनका लागि अष्ट्रेलिया गएकी थिइन्। शिक्षिकाबाट अवकासप्राप्त मृतककी पत्नी रेजिना पनि पछिल्लो समय राजनीतिमा सक्रिय रहँदै आएकी थिइन्। उनी नेकपा एमाले खोटाङ जिल्ला सदस्य तथा अखिल नेपाल महिला सङ्घमा सक्रिय रहेकी नेकपा एमालेले जनाएको छ। मृतकका भाइ माधव छोराछोरीलाई पढ्न र उनीहरूको भविश्य बनाउने विषयमा दाजुभाउजूले कुनै कमीकन्जुस्याईं नगरेको बताउँछन्।

घट्ना हुनुभन्दा दुईदिन अघिमात्रै कुलप्रसादलाई जेठो छोरा मिलनले बुबा कुलप्रसादलाई शिक्षण अस्पताल महाराजगञ्ज लगेर स्वास्थ्य जाँच गराएर आएको र गत शनिबार पनि साथीसँग क्रिकेट हेरेर फर्किएका थिए। तर त्यही दिन राति किन त्यस्ता घट्ना भयो? परिवार र आफन्तले यसको जवाफ अझै पाउन सकेका छैनन्।

पक्राउपछि मिलन भन्ने रुपेश आचार्यलाई थप अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याएर कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको भक्तपुर जिल्लाका प्रहरी उपरीक्षक माधवप्रसाद बढाथोकीले जानकारी दिए।

घटनाको सत्यतथ्यको गहिराइमा पुगेर अनुसन्धानको माग गर्न पुगेका मृतकका परिवारजन र आफन्तले प्रहरी वृत्त थिमिमा जाहेरी दिएका छन्। प्रहरीका अनुसार आफ्नै बाबु र भाइका कारण तनाव महशुस भइरहेको र लोक सेवा आयोगको परीक्षा असफल भएपछि झनै तनाब बढेकाले दुवै जनाको हत्या गरेपछि आफूले पनि आत्महत्या गर्न खोजेको तर नसकेपछि फरार भएको भन्ने बयान मिलनबाट आएको छ।

शनिबार राति बुबा र भाइको हत्या गरी आइतबार बिहान करिब ३ बजेतिर कोठामा ताल्चा मारेर स्कुटरमा बाहिरिएको अनुसन्धानमा खुलेको छ। प्रहरीले चौतर्फी खोजी गर्ने क्रममा मङ्गलबार महाराजगञ्जमा मिलनलाई पक्राउ गरी उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad