समाज


खाली हुँदै २ एआईजी : कुबेर पक्का, रवीन्द्र र जनकलाई अन्तिम मौका

खाली हुँदै २ एआईजी : कुबेर पक्का, रवीन्द्र र जनकलाई अन्तिम मौका

उजिर कार्की
पुस ११, २०८१ बिहिबार २१:३०, काठमाडौँ

नेपाल प्रहरीका दुईजना अतिरिक्त महानिरीक्षक (एआईजी) एक साताभित्रमा अवकाश हुने भएका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्य र प्रदेश समन्वय विभागका प्रमुख भरतबहादुर बोहरा आगामी साता अवकाश हुने भएका हुन्। 

एआईजी बज्राचार्य र बोहरा २ दिनको फरकमा अवकाश हुन लागेका हुन्। बोहरा आइतबारदेखि र बज्राचार्य मंगलबारदेखि अनिवार्य अवकाशमा जानेछन्। दुवैजना उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेका हुन्। एआईजीको उमेर हद ५६ वर्षे छ। 

उनीहरू प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची हुन्। ३० वर्षे सेवा अवधि पूरा हुन ३ महिनाअघि नै अवकाश हुन लागेका हुन्। उनीहरूको अवकाशसँगै हालका दुईजना डीआईजी एआईजीमा बढुवा लागि सिफारिस हुनेछन्। 

कुबेर पक्का, रवीन्द्र र जनकको प्रतिस्पर्धा 
अब खाली हुने अतिरिक्त महानिरीक्षकमा डीआई कुबेर कडायत बढुवा हुने करिब निश्चित छ। कुबेरलाई यसअघि नै अब खाली हुने एआईजीमा बढुवा गर्ने वचन दिएर उनीभन्दा पछाडि रहेका डीआईजीलाई एआईजी बनाइएको थियो। 

उनीभन्दा पछिल्लो वरीयतामा रहेका केदार ढकाल र भरतबहादुर बोहरा बढुवा भएका थिए। कडायतलाई बढुवा गर्दा दुईजना डीआईजीबाटै अवकाश हुने भएपछि यसअघि उनलाई छुटाइएको थियो। 

सुरुमा केदार ढकाललाई बढुवा गरियो। उनी अवकाश भइसकेका छन्। उनको अवकाशपछि भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गरिएको थियो। बोहरा २ साताका लागि मात्रै एआईजीमा बढुवा भए। 

दुई सातापछि एआईजी हुने भएपछि कडायतले यसअघि छुटे पनि असन्तुष्टि जनाएका थिएनन्। तर अहिले भने उनलाई बढुवा गर्ने पक्कापक्की जस्तै छ। कडायत हाल प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्। मंसिर २७ गते मात्रै उनलाई लुम्बिनी प्रदेश प्रमुखबाट प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको थियो। तत्कालै एआईजीमा बढुवा हुने भएकै कारण उनले प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी समेत लिएका छैनन्। 

तर अर्को कोटामा भने दुईजना डीआईजीबीच चर्को प्रतिस्पर्धा देखिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा निर्देशनालयमा कार्यरत डीआईजी रवीन्द्र केसी र कर्णाली प्रदेश प्रहरी प्रमुख जनक भट्टराईबीच चर्को प्रतिस्पर्धा चलिरहेको हो। 

उनीहरूलाई एआईजी बन्ने अन्तिम मौका हो। जनक भट्टराई वरीयतामा केसीभन्दा पछाडि छन्। तर उनी यसअघि पनि बढुवा गर्दा वरीयता तलमाथि भएकाले अहिले नै एआईजी बन्न लागिरहेका छन्। 

भट्टराई प्रधानमन्त्रीको जोडमा र केसी गृहमन्त्रीको जोडमा एआईजी बन्ने कसरतमा छन्। केसी हालै सुदूरपश्चिम प्रदेशको प्रहरी प्रमुखबाट सरुवा भएर आएका हुन्। उनी वरीयतामा अगाडि भए पनि बढुवा हुनेमा ढुक्क छैनन्। 

अहिले बढुवा नभए चैतसम्म एआईजी पद नहुने भएपछि एउटा कोटामा दुईजना चर्को लबिइङमा छन्। अब बढुवा नभए चैतमा डीआईजीबाटै अवकाश हुने करिब पक्का छ। सरकारले ३० वर्षे सेवा अवधि हटाउने र उमेर हदमा समेत संशोधन गर्ने तयारी गरिरहेको भए पनि नयाँ प्रहरी ऐन चैत ५ भित्रै संसदबाट पारित भएर कार्यान्वयनमा आउने सम्भावना कम छ। 

चैतभित्रमा नयाँ प्रहरी ऐन पास भएर कार्यन्वयनमा नआएमा आईजीपी कुँवरकै ब्याची केसी र भट्टराईमध्ये एकजना डीआईजीमै अवकाश हुनेछन्। यी दुईजना चैत ५ मा अनिवार्य अवकाश हुने भएकै कारण अहिलेको बढुवामा चन्द्रकुवेर खापुङले भने लबिइङ गरिरहेका छैनन्। उनी एआईजी दीपक थापाका ब्याची हुन्। अहिले थापासँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा कार्यरत छन्। 

चैत ५ गते आईजीपीका सबै ब्याची अनिवार्य अवकाशमा जाने भएपछि त्यसपछि खापुङ एआईजीमा बढुवा हुने पक्का छ। हालका एआईजी दीपक थापा त्यसपछि आईजीपी बन्ने सम्भावना छ। सुदीप गिरी र टेकबहादुर तामाङ बाहेक सबै अनिवार्य अवकाश हुनेछन्। 

एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंहसँगै अब बन्ने दुवै एआईजी एकसाथ चैत ५ मा अवकाश हुनेछन्। बाँकी एकजना एआईजी पनि आईजीपी बन्ने भएपछि ८ मध्ये ६ जना एआईजीको दरबन्दी चैतमा रिक्त हुनेछ। 

त्यसमा चन्द्रकुबेर खापुङ, मधेस प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्य र बागमती प्रदेशका प्रमुख कृष्णहरि शर्मा पोखरेल एआईजी बन्ने करिब निश्चित छ। 

बाँकी तीन कोटामा दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी र सिद्धिविक्रम शाहसहितका अधिकारीहरूबीच प्रतिस्पर्धा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad