कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएकी छन्।
सोमबार नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र जलवायु–स्मार्ट प्रविधिमार्फत रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताइन्। यसका लागि चीन सरकार, सिडका, एफएओ तथा अन्य विकास साझेदारको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।
‘कृषि क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड मात्र नभई हाम्रो बहुसंख्यक जनसमुदायको जीविकोपार्जन, संस्कृति र पहिचानको आधार हो। तर आज हाम्रो कृषि क्षेत्रले न्युन उत्पादकत्व र जलवायु परिवर्तनका गम्भीर र बढ्दो जोखिम, प्राकृतिक विपद् र कृषिमा आश्रित युवा जनशक्तिको वैदेशिक पलायन तथा आधुनिक प्रविधि र बजारसम्मको सिमित पहुँच जस्ता जटिल संरचनागत चुनौतीको सामना गरिरहेको छ,’ उनले भनिन्।
मन्त्री चौधरीले अन्तर्राष्ट्रिय साझेदारीमा आधुनिक पूर्वाधारको निर्माण गरी कृषि उत्पादनमा वृद्धि, खाद्य सम्प्रभुता सुनिश्चित गर्ने तथा दिगो मूल्य श्रृङ्खला विकास गर्ने बताइन्। नेपालको कृषि क्षेत्र न्युन उत्पादकत्व, जलवायु परिवर्तनका बढ्दो असर, प्राकृतिक विपद्, कृषिमा आश्रित युवा जनशक्तिको वैदेशिक पलायन, आधुनिक प्रविधि तथा बजारसम्मको सिमित पहुँचजस्ता संरचनागत चुनौतीबाट प्रभावित रहेको उनले उल्लेख गरिन्।
‘जलवायु स्मार्ट कृषि अभ्यासको प्रवर्द्धन र पोषण सुधार, बजार पहुँच विस्तार र स्थानीय संस्थागत क्षमताको सुदृढीकरणमार्फत यस परियोजनाले नेपालको समग्र कृषि खाद्य प्रणालीलाई थप सक्षम र दिगो बनाउन दूरगामी योगदान पुर्याउनेछ,’ मन्त्री चौधरीले भनिन्।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त परीक्षण प्रयोगशालाको अभावका कारण नेपाली कृषि उपजको निर्यातमा समेत समस्या भएको उनले बताइन्। आधुनिक परीक्षण प्रयोगशालाको निर्माण र विस्तारलाई पनि सरकारले प्राथमिकतामा राखेको जानकारी दिइन्।
उनले चीन सरकार, चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेशन एजेन्सी (सिडका) र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को सहयोगमा सुरु भएको नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना सरकारको कृषि आधुनिकीकरण, व्यवसायीकरण र दिगो विकाससम्बन्धी राष्ट्रिय प्राथमिकतासँग प्रत्यक्ष रूपमा जोडिएको बताइन्।
उनले चीनसँग नेपालको सम्बन्ध ऐतिहासिक, सौहार्दपूर्ण र समस्यारहित रहेको उल्लेख गर्दै कृषि आधुनिकीकरण र गरिबी न्युनिकरणमा चीनले हासिल गरेको अनुभव नेपालका लागि उपयोगी हुने बताइन्।
Shares

प्रतिक्रिया