नेपला रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा नयाँ प्रविधि भित्र्याएको छ।
रक्तसञ्चार सेवा केन्द्रले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्डअनुसार रगत परीक्षणलाई प्रभावकारी बनाउन ‘क्लिया’ प्रविधिमा आधारित नयाँ मेसिन भित्र्याएको हो।
यस प्रविधिले दान गरिएको रगतको परीक्षण र रगत चढाउँदा हुने संक्रमण (ट्रान्सफ्युजन ट्रान्समिटेड इन्फेक्सन) को जोखिमलाई घटाउने विश्वास लिइएको छ। केन्द्रीय रक्तसञ्चार सेवामा र्यापिड वा इलाइजा प्रविधिबाट रगत परीक्षण हुने गरेकामा गत हप्ताको बुधबारदेखि क्लिया प्रविधिबाट रगत परीक्षणको सुरुवात गरेको रक्तसञ्चार सेवाका ब्लड बैंक इन्चार्ज सञ्जीवकुमार यादवले बताए।
उनले यस प्रविधिले रक्तदान गर्ने मानिसको जीवाणु परीक्षण प्रभावकारी ढंगले हुने र शुद्ध रगतको प्रयोगको अभ्यासलाई बढावा दिने बताए।
उनले रगतका माध्यमबाट सर्ने एचआईभी एड्स, हेपटाइटिसलगायत रोग फैलनबाट पूर्ण रूपमा रोक्न क्लियाले सहयोग गर्ने बताए।
उनले यसअघि र्यापिड वा इलाइजा प्रविधिबाट रक्तदाताको तीनदेखि ६ महिनाको रगतको इन्फेक्सन थाहा पाइँदै आएकामा १५ दिन अघिको रगतको संक्रमण थाहा पाउन सकिने बताए।
उनले क्लिया प्रविधिले इन्फेक्सन भएको ब्लड ट्रान्सफर रोक्न ठूलो सहयोग पुर्याउने बताए।
उनले भने, ‘यो मेसिनलाई हामीले क्लिया भन्छौँ। यसभन्दा पहिले हामीले इलाइजा प्रविधिमा रगत जाँच गर्ने गर्दथ्यौँ। त्योभन्दा पहिलेको कुरा गर्ने हो भने हामी आरडीटी मेथडबाट रगत चाँज गर्दथ्यौँ। तर दुईवटै प्रविधिहरूमा निकै फरक रहेछ। कसैले पनि रक्तदान गरिसकेपछि ब्लड बैंकको दायित्व भनेको सेफ ब्लडको अभ्यास गर्नु रहेछ। नेपालका लागि चारवटा जाँच अनिवार्य गरेको रहेछ। एचाआईभी एड्स, त्यसमा पनि एचआईभी वान, टु एन्ड बडी, त्यस्तै एससीबीको एन्टीबडी, हेपटाइटिस बीको एन्टीबडी र सिपिक्सको एन्टीबडी। यी चारवटा टेस्ट र्यापिड टेस्टबाट पनि गर्थ्यौँ। तर त्यसमा विन्डो पिरियडलाई क्याच नगर्दो रैछ। विन्डो पिरियड भनेकै कुनै पनि जीवाणु डोनरको जिउमा आउनु र त्यो केही दिनसम्म नदेखिनु। कसैमा ९० दिन र कसैमा ६ महिनासम्म पनि देखिँदैन। तर क्लिया मेसिनको सेन्सिटिभिटी ९९.९ प्रतिशत छ।’
पछिल्लो समय रगतको माग बढ्दै गए पनि ब्लड बैंकहरूले गुणस्तरीय जाँच (स्क्रिनिङ) नगर्दा संक्रमणको रागेको जोखिम बढेको भन्दै सार्वजनिक रूपमा प्रश्न उठ्दै आएका थिए।
रगत परीक्षणका लागि नेपालको क्लिया प्रविधि कोसेढुंगा साबित हुने उनको विश्वास छ।
त्यस्तै नेपाल रेडक्रस सोसाईटी केन्द्रिय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले आफूहरुको मुख्य उद्देश्य रगतको सुरक्षालाई बढावा दिनु रहेको उल्लेख गर्दै क्लिया प्रविधिले सहयोग गर्ने बताए।
क्लिया प्रविधि भित्रिएसँगै रगतको सुरक्षा गुणात्मक रूपमा बढेको उनले बताए। उनले उक्त प्रविधिले रगतबाट सर्ने रोगलाई बढीभन्दा बढी नियन्त्रण गर्न सकिने बताए।
उनले बिस्तारै रेडक्रसका देशभर रहेका रक्तसञ्चार सेवामा यस्तो प्रविधि जडान गर्न जरुरी रहेको बताए। देशभरका रक्तसञ्चार केन्द्रमा क्लिया मेथोडोलेजीबाट रक्तजाँच गर्नुपर्ने पहलको सुरुवात भएको उनको भनाइ छ।
उनले भने,‘यसले १२ देखि १५ दिनको इन्फेक्सनलाई डिटेक्ट गर्छ। १८० दिनबाट हामी १२ दिनमा पुगेका छौँ। रगतको सुरक्षा गुणात्मक रूपमा बढ्यो। यसले चारवटा इन्फेक्सिक डिजिजलाई रगतको माध्यमबाट सर्न बढीभन्दा बढी होसियारी अपनाउन सक्छौँ। यो मेसिन केन्द्रीय कार्यालयमा मात्र चलाएर हुँदैन। यस्ता मेसिनहरू देशभर एकैनासको हुनुपर्दछ। त्यसैले देशभर जति पनि रक्तसञ्चार केन्द्र छन् सबैमा क्लिया मेथोडोलेजीबाट रक्तजाँच गर्नुपर्छ भन्ने कुराको पहल हामीले सुरुवात गरेका हौँ।’
यसअघि उक्त केन्द्रमा रगतको सुरक्षित प्रोटोकल तथा मापदण्डको परिपालनामै गम्भीर त्रुटि हुने गरेका विभिन्न अध्ययन प्रतिवेदनले देखाएका थिए।
Shares

प्रतिक्रिया