समाज


पुनर्निर्माणमा १ खर्ब रुपैयाँभन्दा बढी लाग्ने, अढाई वर्षमा सक्ने लक्ष्य

सडक र पुललाई पहिलो प्राथमिकता
पुनर्निर्माणमा १ खर्ब रुपैयाँभन्दा बढी लाग्ने, अढाई वर्षमा सक्ने लक्ष्य

नेपालखबर
पुस २९, २०८१ सोमबार २०:१९, काठमाडौँ

सरकारले साढे २ वर्षमा पुनर्निर्माणको काम सक्ने लक्ष्य राखेको छ। 

२०७९ र २०८० मा पश्चिम नेपालमा गएको भूकम्प र २०८१ को मनसुनजन्य विपद् पश्चातको पुनर्निर्माण साढे २ वर्षभित्र सक्ने सरकारको लक्ष्य छ। 

२०७९ मा डोटी केन्द्रविन्दु भएर गएको भूकम्पबाट ५ जिल्ला प्रभावित भएका थिए भने २०८० कार्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले १२ वटा जिल्लालाई प्रभावित गरेको थियो। यस्तै, २०८१ को मनसुनबाट २० जिल्ला प्रभावित भएका छन्। 

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ कार्तिकमा डोटी केन्द्र विन्दु भई गएको भूकम्पबाट डोटीसहित अछाम, बझाङ, बाजुरा र डडेलधुरामा क्षति पुगेको थियो। 

प्राधिकरणका अनुसार डोटी भूकम्पको विस्तृत क्षति आकलन (डीडीए) सम्पन्न भई यही माघ २ गतेबाट निजी आवास पुनर्निर्माणको काम सुरू हुँदैछ। ती पाँच जिल्लामा कुल ९ हजार ६८२ घरधुरी प्रभावित भएको भनिएकोमा विस्तृत क्षति आकलनबाट २ हजार ६३७ घर पुनर्निर्माण गर्नुपर्ने र ६ हजार ६२४ प्रवलीकरण गर्नुपर्ने पाइएको प्राधिकरणले जानकारी दिएको छ।  

भूकम्पबाट प्रभावित परिवारलाई स्थायी आवास निर्माणका लागि सरकारले हिमाली जिल्लामा ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराईका जिल्लामा ३ लाख रूपैयाँ रकम दिनेछ। 

डोटी भूकम्पबाट प्रभावित जिल्लामा अब २ गतेबाट पहिलो किस्ताका लागि सम्झौता सुरू हुने प्राधिकरणका सहसचिव भिष्मकुमार भुषालले जानकारी दिए। उनका अनुसार यी जिल्लामा प्राधिकरणको समन्वयमा स्थानीय तहले पुनर्निर्माणको काम अघि बढाउनेछन्। 

२०८० कार्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट रूकुम पश्चिम, सल्यान, बझाङ, बाजुरा, जुम्ला, रूकुम पूर्व, रोल्पा, बैतडी, कालिकोट, प्युठान र दाङ गरी १२ जिल्लाका ९१ हजार ८६२ घरधुरी प्रभावित भएका छन्। तर, जाजरकोट भूकम्पको डीडीए गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ। 

मनसुनजन्य विपदबाट २० जिल्ला प्रभावित, सबैभन्दा धेरै क्षति काभ्रेमा 
२०८१ सालको मनसुनजन्य विपदबाट काभ्रेपलाञ्चोक, उदयपुर, ललितपुर, रौतहट, सर्लाही, पाँचथर, इलाम, ओखलढुङ्गा, खोटाङ, चितवन, दोलखा, धादिङ, मकवानपुर, महोत्तरी, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, सिरहा, सोलुखुम्बु र सप्तरीमा क्षति पुगेको छ। 

बाढी पहिरोबाट सबैभन्दा धेरै क्षति बागमती प्रदेशमा भएको छ। विपद्ले काभ्रेमा ९ हजार ४ सय १४ घरधुरीमा क्षति पुर्‍याएको छ। प्रारम्भिक तथ्यांक (डीडीए गर्न बाँकी) अनुुसार मनसुनजन्य विपद्बाट २० जिल्लाका १९ हजार ७७१ घरमा क्षति पुगेको छ। 

सडक, पुल तथा यातायात 
प्राधिकरणले दिएको जानकारी अनुसार पश्चिम नेपालमा गएको भूकम्पबाट ३२ र मनसुनजन्य विपद्बाट ३४९ गरी ३८१ सडक तथा पुलमा क्षति पुगेको छ। प्रदेशगत अवस्था हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशमा २६० वटा पुल र सडक पुनर्निर्माणको आवश्यकता छ। जसमा ५५ वटा पुल, २८ राजमार्ग खण्ड, १७१ वटा प्रादेशिक तथा स्थानीइ सडक र ६ वटा पदमार्ग पुल छन्। पुल र सडक पुनर्निर्माणको काम भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले गर्नेछ। 

भूकम्प र मनसुनजन्य विपद्बाट १७६ वटा सरकारी भवन तथा सहरी पूर्वाधारमा क्षति पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइको क्षेत्रमा ठूलो क्षति भएको छ। मनसुनजन्य विपद्बाट २ हजार ७ र भूकम्पबाट ११२ विद्युत्, वैकल्पिक ऊर्जा र सिंचाइ आयोजनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ। १ हजार ५६२ शैक्षिक पूर्वाधारहरू, ९० वटा स्वास्थ्य संस्था,   खानेपानी, सरसफाइ तथा स्वच्छताका ८१३ योजनामा विपद्ले क्षति पुर्‍याएको छ। यसैगरी, ३३ वटा पुरातात्विक सम्पदामा क्षति पुगेको छ। 

सरकारले पुनर्निर्माणका लागि ८ वटा प्राथमिकताको क्षेत्र छुट्याएको छ। जसमा सडक, पुल तथा यातायात, सरकारी भवन तथा सहरी पूर्वाधार, विद्युत्, वैकल्पिक ऊर्जा र सिंचाइ, निजी आवास, शैक्षिक संरचना, स्वास्थ्य संरचना, खानेपानी, सरसफाइ तथा स्वच्छता र सांस्कृतिक एवम् पुरातात्विक सम्पदा रहेको छ। 

प्राधिकरणका सहसचिव भुषालका अनुसार पुनर्निर्माणका लागि १ खर्ब १ अर्ब १२ करोड रूपैयाँ लाग्ने अनुमान छ। जसमा यो आर्थिक वर्षको बाँकी ६ महिनामा ३० प्रतिशत (३० अर्ब ५७ करोड २३ लाख), आर्थिक वर्ष ०८२/८३ मा ४० प्रतिशत (४० अर्ब ४० करोड ६३ लाख) र आर्थिक वर्ष ०८३/८४ मा ३० प्रतिशत (३० अर्ब १४ करोड ७३ लाख) खर्च हुनेछ। 

आइतबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनर्निर्माण तथा पुनः स्थापनाका लागि योजना स्वीकृत गरेको थियो। योजना स्वीकृत भएसँगै पुनर्निर्माणको कामलाई अगाडि बढाउन सजिलो भएको प्राधिकरणको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad