समाज


मूर्तिकारका दु:ख- छोरा भतिजाले चासो नदेखाउँदा पेसा नै संकटमा पर्ने हो कि?

मूर्तिकारका दु:ख- छोरा भतिजाले चासो नदेखाउँदा पेसा नै संकटमा पर्ने हो कि?

नेपालखबर
माघ १७, २०८१ बिहिबार १६:४६, महोत्तरी

वसन्तपञ्चमी पर्व नजिकिँदै गर्दा महोत्तरीमा अहिले सरस्वतीका मूर्ति बनाउनेको व्यस्तता बढेको छ। आउने सोमबार मनाइने सरस्वती पूजनोत्सव पर्वका लागि बनिएका मूर्तिमा अहिले मूर्तिकार त्यसको निखार ल्याउनमा व्यस्त छन्।

अबको चौथो दिन पर्व नै परेको हुँदा त्यसअघिका तीन दिनभित्र बनेका मूर्ति बेचिसक्नु पर्ने मूर्तिकारलाई समयसीमा छ। त्यसैले अहिले आउने आइतबारसम्म मूर्ति तयार हुनेगरी काममा लागिएको मूर्तिकार बताउँछन्। यसपालि माघ लागेर पनि राम्ररी घाम नलाग्दा माटो मुछेर बनाइएका मूर्ति सुक्न समय लागेको मूर्तिकारको भनाइ छ।

‘मूर्ति सुक्न समय लाग्यो, राम्ररी नसुकी रङ्रोगन हुँदैन’, मूर्ति आकर्षक बनाउन तल्लिन भङ्गाहा–४ का रामचन्द्र महरा भन्छन्, ‘अब रङ्गरोगनको काम थालिन्छ।’ पूजनोत्सवका लागि मूर्ति लैजानेहरुले दुई दिनअघिदेखि लान थाल्ने रामचन्द्र बताउँछन्।

धानको पराल र काँस (कास प्रजातिको एक प्रकारको खर वनस्पति)को लुइँठो बटार्दै सरस्वती आकारमा ढालेर मुछेको माटोले लेपन गरी तयार गरिने मूर्ति घाममा राम्ररी सुकेपछि रङ्गरोगन लगाउन मिल्ने हुन्छ। यो काम मूर्तिकारले पर्वभन्दा केही साता पहिले थाले पनि यसपालि माघको दोस्रो सातासम्मै राम्ररी घाम नलाग्दा मूर्ति सुक्न समय निकै लागेको यहाँका सबैजसो मूर्तिकारको गुनासो छ।  वसन्तपञ्चमी र श्रीपञ्चमीसमेत भनिने माघ शुक्ल पञ्चमीका दिन उल्लासका साथ सरस्वती पूजनोत्सव मनाइने मैथिल परम्परा छ।

पर्वका अवसरमा मधेशका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा बस्तीबस्तीका शिक्षण संस्थाले उल्लासमय वातावरणमा सरस्वती पूजनोत्सव पर्व मनाउने परम्परा छ। शिक्षण संस्थामा मनाइने मुख्य साँस्कृतिक पर्वलाई विशेष बनाउन अहिले सबै अन्तिम तयारीमा जुटेका छन्। मिथिलामा स–साना नानीहरुको अक्षरारम्भ वसन्त पञ्चमीकै दिन गरिने हिन्दू मैथिल परम्पराले यो पर्व खास बन्दै आएको छ। शिक्षण संस्थाबाहेक कतिपय व्यक्तिले आफ्नै घरमा सरस्वती पूजनोत्सव अनुष्ठान गर्ने हुँदा यो बेला सरस्वतीका मूर्तिको माग निकै हुने गरेको छ।

‘यसपालि २५ स्कूल (विद्यालय)ले मूर्ति माग गरेका छन्, यसबाहेक पनि केही मूर्ति बिक्ने गर्छ’, औरही–२ फुलबरिया बस्तीका कैलाश महरा भन्छन्, ‘वर्षभरिका केही पवनी ९पर्व० ले हाम्रो पेसा धानिदैछ।’ हिन्दू परम्पराका यस्ता मूर्ति पूजा गरिने पर्वमा सम्बद्ध देवीदेवता अतिरिक्त गणेशको मूर्ति अनिवार्य हुने हुँदा कमसेकम दुई वटा मूर्ति बिक्ने कैलाशको भनाइ छ।

‘अहिले सरस्वती पूजाको बेला छ, त्यसैले अहिले सरस्वती र अर्को गणेशको मूर्ति जान्छ’, कैलाशले भने। वर्षभरिका कृष्णजन्माष्टमी, विश्वकर्मा पूजा, दसैंँमा दुर्गापूजा र वसन्तपञ्चमी मूर्ति बिक्ने पर्व हुन्। यी पर्वमा बिकेका मूर्तिको आर्जनले वर्षभरिको नगद खर्चको जोहो हुने गरेको कैलासकै छिमेकी मूर्ति बनाउने पेसाकै दिनेश महरा बताउँछन्।

सरस्वती पूजनोत्सवमा एक/दुई साता पहिलेदेखि नै मूर्तिकारको व्यस्तता बढ्छ। मूर्तिका लागि माटो छान्ने, ओसार्ने, मुछ्ने, पराल र खरलाई मूर्ति आकार बनाएर माटो भर्ने र अन्त्यमा सरस्वतीको मूर्ति आकर्षक बनाउन विभिन्न रङ भरेर तयार गर्ने यसक्रमका काम हुन्छन्। सामान्यतः पूजनोत्सवमा सरस्वतीसँगै गणेशजीको मूर्तिको पनि माग हुन्छ। हिन्दू परम्परामा सबै शुभकार्यमा गणेशजीको अग्र पूजाको परम्पराले सरस्वती पूजनोत्सवमा पनि गणेशजीका मूर्तिको माग हुने गरेको महोत्तरीकै भङगाहा–७ मझौलियाका मझरु महरा बताउँछन्।

मिथिलामा माटो मुछेर भाँडाकुडा बनाउने काममा कुमाल जाति समुदाय देखिन्छन्। माटो मुछेरै मूर्ति बनाउने काममा अधिकांश महरा (चमार, राम) जाति समुदायका दलित भेटिन्छन्। मूर्ति बनाउने काम आफ्ना बाबुबाजेकै पालादेखि गरिँदै आइएको फुलबरियाका कैलाश बताउँछन्। वसन्तपञ्चमी, कृष्ण जन्माष्टमी, विश्वकर्मा पूजा र दुर्गापूजामा बनाइने मूर्तिबाट गुजारामा टेवा पुग्ने उहाँको भनाइ छ। अरुबेला खेतीकिसानी र अन्य बन्द ब्यापार गरेर यस्ता पर्वका बेला मूर्ति बनाइँदा घरपरिवारको भइपरी आउने नगद खर्चमा मद्दत पुग्ने गरेको उनले बताए।

आफूले बाउबाजेको कामलाई निरन्तरता दिए पनि आफ्ना छोरा/भतिजाले भने मूर्ति बनाउने काममा चासो नदेखाउँदा यो पेसा छुट्दै जाने पुराना मूतिकारको गुनासो छ। मूर्ति बनाउने सीपलाई बचाइ राख्न नयाँ पुस्तालाई यो सीपसँग जोड्न स्थानीय तहले पहलकदमी लिइदिन पर्ने भङ्गाहा–५ सीतापुरका ७० वर्षीय अच्छवा महरा बताउँछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad