अछामको चौरपाटी गाउँपालिकाका हर्कबहादुर रावत गड्डाचौकी नाका भएर केही दिन अगाडि घर फर्किए। भारतको मुम्बईमा काम गरिरहेका रावत कोरोना भाइरसको संक्रमणको त्रासमा घर फर्किएका हुन। धेरै पछि गाउँ फर्किएका रावत हाल अछामस्थित गाउँ–घरमा साथी–भाईहरुलाई भेट्नमा व्यस्त छन्।
बैतडीको पाटन नगरपालिका–४ घर भएका नागेश जोशी पनि भारतको अम्बालामा काम गरेर केही दिन अगाडि मात्रैै गाउँ फर्किए। कोरोना भाइरसको त्रासमा गाउँ फर्किएका उनी पनि गाउँमा साथी–भाईहरुसँग भेटघाट, चिया पसल, चौतारीमा बसेर भारत बसाईका बेथा फुकाउन मै व्यस्त छन्। उनीहरु घर परिवारका अन्य सदस्यहरुसँगै बस्ने गरेका छन्।
हर्कबहादुर र नागेश त उदाहरणका पात्र मात्र हुन्। सुदूरपश्चिमका गड्डाचौकी, झुलाघाट, गौरीफन्टा लगायतका नाकाहरुबाट हरेक दिन हजारौँको संख्यामा नेपाल भित्रिरहेका छन्। गड्डाचौकी नाकाबाट मात्रै दुई साताको अवधिमा ६५ हजार भन्दा बढी भित्रिएका छन्। नाकाकै सामान्य चेकजाँचका भरमा भित्रिएका उनीहरुमाथि पछि पनि विभिन्न निकायले निगरानी राख्नु पर्ने हुन्थ्यो, तर कोरोना भाइरसको त्रासले स्वदेश छिरेका नेपालीहरुमाथि निगरानी शून्य जस्तै छ।
‘गड्डाचौकी नाकामा ज्वरो चेकजाँच भयो, त्यस पछि गाउँसम्म पुग्दा कहीँ चेकजाँच भएन’ पाटनका नागेश जोशीले भने, ‘आफैँलाई कति बेला त कोरोना संक्रमण भैहाल्यो कि भनेर डर लाग्छ।’
उनलाई सिमानाकामा गरेको सामान्य ज्वरो चेकजाँच पछि कुनै पनि निकायले पछि फ्लोअप गरेको छैन वा निगरानीमा राखेको छैन। सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका विभिन्न्न नाकाको प्रयोग गर्दै सुदूर तथा कर्णाली प्रदेशका लाखौँ मानिस वर्षेनी कामको खोजीमा भारत पस्ने गरेका छन्। सीमाको सामान्य चेकजाँच पछि कुनै पनि निकायले उनीहरुलाई फ्लोअप नगरे पछि गाउँ–घरमा कोरोना भाइरस फैलिन सक्ने भन्दै स्थानीयहरु चिन्तित भएका छन्।
‘एउटा सीमाको चेकजाँचले मात्र कहाँ हुन्छ? पछि पनि उनीहरुमाथि निगरानी राख्नु पर्छ। तर त्यसो गरिएको छैन’ अछामको चौरपाटी गाउँपालिकाकी रम्भा ओखेडाले भनिन्।
कोरोना भाइरस भित्रिन नदिन सीमामा भएको चेकजाँचले मात्रै सम्भव नभएकाले पछि पनि उनीहरुमाथि निगरानी राख्न जरुरी रहेको चिकित्सकहरुको सुझाव छ। बैतडीको दशरथ चन्द नगरपालिकाका सूचना अधिकारीले विनोद चन्दले भारतबाट भित्रिए पछि नाका बाहेक पछि कुनै निगरानी नराखेको बताएका छन्।
‘झुलाघाट नाका तथा जिल्लाको सिमानाकामा रहेका हेल्थ डेस्कमा चेकजाँच भएको छ, घर पुगेकाहरुको पछि त्यस्तो कुनै निगरानी राखेका छैनौँ’ सूचना अधिकारी चन्दले भने, ‘तिनीहरुमाथि निगरानी राख्नु पर्ने हो, तर अहिले त्यस्तो कुनै भएको छैन।’
भारतबाट गाउँ भित्रिएकाहरु को के गर्दैछन्? कुनै पनि निकायले निगरानी गरेको छैन। यसले कोरोना भाइरस फैलिने खतरा बढेको छ।
निगरानी समुह गठन भएन
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले प्रदेशभरका स्थानीय तहमा रहेका वडाध्यक्षको संयोजकत्वमा प्रत्येक वडामा निगरानी समुह गठन गर्न निर्देशन दिएको छ। तर सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानीय तहमा निगरानी समुह गठन गरिएको छैन। भारतबाट आएकाहरुको निगरानी तथा कोरोना भाइरसको संक्रमण आशंका लागेकाहरुको चेकजाँच लगायतका लागि निगरानी समुह गठनका लागि निर्देशन दिइएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र सिंह कार्कीले बताए।
यद्यपी सुदूरका अधिकांश पहाडी जिल्लामा यो समुह गठन भएको छैन। बझाङको चैनपुर नगरपालिकाका प्रमुख भरत कुमार खत्रीले नगरभित्र केही ठाउँमा समुह गठन भएको जानकारी दिए। उता अछामको साफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले पनि केही ठाउँमा मात्रै निगरानी समुह गठन भएको बताए।
‘विभिन्न ठाउँमा हेल्थ डेस्क स्थापना गरेर निगरानी गर्दैछौँ, निगरानी समुह पनि केही ठाउँमा भएको छ, पुरै नगरपालिकाभित्र भने हुन सकेको छैन’ उनले भने।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र सिंह कार्कीले सुदूरपश्चिम भित्रिने सम्पूर्ण नाका चेकजाँचमा कडाइ गरिएको बताए। सीमा नाका तथा जिल्ला भित्रिने नाकाहरुमा हेल्थ डेस्क स्थापना गरेर प्रदेश भित्रिनेको चेकजाँच भइरहेको उनको भनाइ छ।
‘उपकरण अभाव रहेका ठाउँमा पनि अहिले थप गरिएका छन्। प्रदेशका २२ वटा अस्पतालमा ७० वेडको आइसोलेसन वार्ड स्थापना गरिएको छ’ उनले भने, ‘अहिलेका लागि यो प्रर्याप्त हो।’
विवरण संकलन गर्दै बेदकोट नगरपालिका
कञ्चनपुरको बेदकोट नगरपालिकाले सोमवार (भोलि) देखि घरदैलो कार्यक्रम गर्दै नगरवासीहरुको विवरण संकलन गर्ने भएको छ। कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै घर–घरमा गएर विवरण संकलन गर्न लागिएको नगर प्रमुख अशोक कुमार चन्दले बताए।
‘घर–घरमा गएर विवरण संकलन गर्दैछौँ, यसबाट कति जना भारतबाट आए भन्ने विवरण पनि तयार हुन्छ। अनि उनीहरुको अवस्था पनि बुझिन्छ’ उनले भने।
नगर प्रमुख चन्दका अनुसार विवरण संकलनका क्रममा कोही शंकास्पद भेटिए उनीहरुलाई उपचारका लागि ल्याइने छ। यस्तै बेदकोट नगरपालिकामा नगर कोरोना आइसोलेसन केन्द्र समेत स्थापना गरिएको छ। आइतवार एक कार्यक्रमकाबीच नगर प्रमुख चन्दले केन्द्रको उद्घाटन गरेका हुन। कोरोना भाइरसको रोकथाममा महत्वपूर्ण भुमिका खेल्ने नगर प्रमुख चन्दले विश्वास व्यक्त गरे।
घरबाहिर निस्कन प्रतिबन्ध
कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयले आइतबार (आज) राति १२ बजेदेखि घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ। जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरेको छ। यदि सूचनाको बर्खिलाप गरी घरबाहिर निस्किए सुरक्षाकर्मीले कानून बमोजिम कारबाही गर्न सक्ने प्रशासन कार्यालयले सूचना जारी गरेको छ।
प्रशासनले आइतबार रातिदेखि खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायातबाहेक सबै प्रकारका पसल, ब्यवसाय, उद्योग, कलकारखाना बन्द गर्न लागेको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।
गड्डाचौकी नाका मंगलबारदेखि बन्द
भारतबाट फर्केने नेपालीको अत्यधिक चाप भएको गड्डाचौकी पर्सि (मंगलबार) बिहानदेखि पूर्ण रुपमा बन्द हुने भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मंगलबार बिहान ७ बजेदेखि नाकामा पैदल यात्रुसमेत आवतजावत बन्द गर्ने निर्णय गरेको हो।
नाकाबाट प्रवेश गर्नेहरुको स्वास्थ्य जाँच प्रभावकारी तुल्याइएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयले उनीहरुको विवरण कम्प्युटर प्रणालीमा यद्यावधिक तुल्याउने जनाएको छ।

प्रतिक्रिया