वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अर्घखाँचीको सन्धिखर्क नगरपालिका–८ घर भइ हाल ललितपुर बस्ने वर्ष ३५ की प्रभा श्रेष्ठ रायमाझी र बर्दिया राजापुर नगरपालिका–७ घर भई हाल काठमाण्डौँ बूढानीलकण्ठ– १० बस्ने वर्ष ३४ की सिर्जना पौडेल रहेका छन्।
यस्तै, खोटाङ हलेसी तुवाचुङ नगरपालिका–५ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–४ बस्ने वर्ष ३८ का राकेशन राईविरुद्ध पनि प्रहरीले ठगी मुद्दा दायर गरेको छ।
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा रोजगारीका लागि लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
पक्राउ परेका प्रभा श्रेष्ठ रायमाझीको बिगो रकम ७ लाख रुपैयाँ रहेको छ। उनले तीनलाई सिङ्गापुर पठाइदिने भन्दै ठगी गरेको पाइएको छ।
यस्तै, सिर्जना पौडेलले दुईजनासँग क्रोयशिया पठाइदिने भन्दै छ लाख ठगी गरेको अनुसन्धानका क्रममा खुलेको छ।
राकेशन राईले पाँचजनालाई युके पठाइदिने भन्दै २७ लाख ९० हजार रुपैयाँ ठगी गरको पीडितले बताएका छन्। हाल उनी फरार रहेको प्रहरीको भनाई छ।
Shares

प्रतिक्रिया