संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गत लेबनानमा खटिएका नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल प्रदर्शनकारीको आक्रमणमा परी घाइते भएका छन्।
लेबनानको राजधानी बेरुतनजिक युनिफिल मिसनका डेपुटी फोर्स कमान्डर ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारीको भिडले रोकेर तोडफोड गर्दा उनी घाइते भएका हुन्।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार घटना गएराति १२ बजेतिरको हो।
भीडको हमलाबाट घाइते उपरथी ढकाललाई तत्कालै उद्धार गरी यूएन लेबल ३ हस्पिटल बेरुत पुऱ्याइएको थियो। हाल उनी खतरामुक्त रहेको अस्पतालको भनाइ छ।
डेपुटी फोर्स कमान्डर ढकाल आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा थिए।
युनिफिल मिसन हेडक्वार्टरले पनि प्रेस विज्ञप्ति जारी गरी दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकविरुद्ध भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ।
शान्ति सैनिकलाई भएको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र संघले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गरेको छ।
घटनाको भर्त्सना गर्दै लेबनानका प्रधानमन्त्री र लेबनिज आर्मड फोर्सले पनि तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति/समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्।
Shares

प्रतिक्रिया