उच्चतहले मध्यपूर्वमा जारी द्वन्द्वको असर बेहोर्नु परेको छ। हाल युद्धविराम भएपनि इजरायलविरुद्ध लड्दै आएको लेबननको हेज्बुल्लाह समूहको आक्रमणमा परी नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन्।
शनिबार दिउँसो नेपाली सेनाले जारी गरेको विज्ञप्तीमा ‘लेबननमा शान्ति स्थापनार्थ खटिएको संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक युनिफिलका डेपुटी फोर्स कमाण्डर उपरथी (मेजर जनरल) चोकबहादुर ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारीले रोकी तोडफोड गर्दा उपरथी ढकाल घाइते भएको’ उल्लेख थियो।
‘घटनापश्चात उहाँलाई तत्कालै उद्धार गरी बेरुतस्थित युएन लेबल–३ हस्पिटल पुर्याइएको थियो,’ सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालले उहाँ हाल खतरामुक्त रहेको जनाएको छ।’
संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत युनिफिल नेपाली सेना सहभागी सबैभन्दा पुरानो मिसन हो। नेपाली सेनाका प्रवक्ता सहायकरथी गौरव कुमार केसीका अनुसार, उपरथी ढकाल सो मिसनमा दुई वर्षअघि डेपुटी कमाण्डरको रुपमा जिम्मेवारी सम्हाल्न गएका थिए।
‘उहाँ दुई वर्षे कार्यकाल सम्हालेर स्वदेश फर्कंदै हुनुहुन्थ्यो, त्यसक्रममा उहाँ सवार कन्भोय (गाडीको लस्कर) माथि आक्रमणकारीहरुले आक्रमण गरेछन्,’ प्रवक्ता केसीले भने, ‘घर फर्कने बेलामा यस्तो दुखद घटना हुनपुग्यो।’
आक्रमणकारी समूहले गाडीलाई रोकी त्यहाँभित्र सवार रहेका उपरथी ढकाल र सुरक्षामा खटिएका चार जना नेपाली शान्ति सैनिकलाई बाहिर निकालेका थिए। त्यसपछि गाडीमा आगो लगाइयो, उनीहरुले उपरथी ढकालमाथि प्रहारसमेत गरे। आक्रमणका कारण ढकालको टाउकोमा चोट लागेको छ।
नेपाली सेनाका मेजर जनरल तहका शान्ति सैनिक विदेशी भूमिमा आक्रमणमा परेको सम्भवतः यो पहिलो घटना हो।
खासमा यो घटना मध्यपूर्वमा जारी द्वन्द्वको उपज हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार, घटनामा लेबननको इजरायलविरोधी ‘हिज्बुल्लाह’ को एउटा समूहको हात छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार, इरानबाट लेबनन आएका दुई इरानी जहाजलाई लेबनन सरकारले बेरुत अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न प्रतिबन्ध लगाएको थियो। इजरायलविरुद्ध इरानले स्थापना गरेको ‘एक्सिस अफ रेसिस्टेन्स’ को एक प्रमुख घटक लेबननको हिज्बुल्लाहको स्थापना इरानले गरेको मानिन्छ।
हिज्बुल्लाहको सहयोगका लागि बेरुत आउन लागेको आशंकामा इरानी जहाजलाई बेरुत अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि प्रतिबन्ध लगाइएपछि दुई दिनयता हिज्बुल्लाह समर्थकहरुले प्रदर्शन सुरु गरेका छन्। उनीहरुले विमानस्थल जाने बाटो ठाउँ–ठाउँमा अवरुद्ध गरेका छन्।
उपरथी ढकाल युनिफिल डेपुटी फोर्स कमाण्डरको रुपमा आफ्नो दुई वर्षे कार्यकाल सकिएकाले निर्धारित समय अनुसार नै नेपाल फर्कन बेरुत विमानस्थल जाँदै थिए। मध्यरातमा विमानस्थलतर्फ जाँदै गरेपनि सडकमा प्रदर्शनकारीहरु थिए। उनी सवार गाडी उनीहरुको निशानामा परे।
आक्रमणकारीको निशानामा परेका ढकाललाई तत्काल त्यहाँस्थित राष्ट्रसंघीय अस्पताल पुर्याइएको थियो।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार, घटनाका सम्बन्धमा युनिफिल मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ती जारी गर्दै दक्षिण लेबननमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ।
संयुक्त राष्ट्रसंघले पनि लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवस्यक कारवाहीको माग गरेको छ।
लेबननका राष्ट्रपति जोसेफ औन, प्रधानमन्त्री नवाफ सलाम र लेबननी सेनाले सो घटनाको तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति र समूहलाई कारवाहीको दायरामा ल्याउने विश्वास दिलाएका छन्।
Shares

प्रतिक्रिया