समाज


अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य सुधारोन्मुख, आईसीयूमा उपचार जारी

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य सुधारोन्मुख, आईसीयूमा उपचार जारी

हाइड्रोजन भरिएको बेलुन पड्किएर घाइते भएपछि अर्थमन्त्री विष्णु पौडेल।


नेपालखबर
फागुन ४, २०८१ आइतबार १३:८, काठमाडौँ

‘पोखरा भ्रमण वर्ष’ घोषणा कार्यक्रम उद्घाटनका क्रममा हाइड्रोजन ग्यास भरिएको बेलुनको झुप्पो आगोको झिल्काले भेटेर पड्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको उपचार काठमाडौँमा जारी छ। 

पोखरामा शनिबार दिउँसो आयोजित पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा कार्यक्रममा डिजिटल स्विच अन गरेर अर्थमन्त्री पौडेलले झिर्झिरे क्यान्डल बाल्नासाथ झिल्काले भेटेर बेलुनको झुप्पा पड्किएको हो। 

बेलुन पड्किँदा आगोले पोलेर घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई  गण्डकी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शनिबारै हेलिकप्टरबाट काठमाडौँस्थित कीर्तिपुर अस्पताल ल्याइएको हो।

त्यहाँ सघन उपचार कक्ष (आईसीयू) मा राखेर उनीहरूको उपचार भइरहेको कीर्तिपुर अस्पतालले जानकारी दिएको छ। 

अस्पतालले आइतबार जारी गरेको विज्ञप्तिअनुसार दुवै जनाको स्वास्थ्य अवस्था हिजोभन्दा आज सुधारोन्मुख भएको छ। तर संक्रमण हुने जोखिम रहेकाले उनीहरूसँग भेटघाट बन्द गरिएको अस्पतालले जनाएको छ। 

विज्ञप्तिमा भनिएको छ- घाउको अवस्थाको बारेमा आज ड्रेसिङ भएपछि अद्यावधिक गरिनेछ र हाललाई अवस्था सामान्य भए तापनि संक्रमण हुने भएको हुँदा हाललाई भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रूपमा बन्द गरिएको छ।

उनीहरूको उपचारमा प्रा. डा. विडी झा, डा. प्रविण गिरीलगायतका सघन उपचार कक्षको टोली, प्रा. डा. शंकर मान राई, डा. विशाल कार्की, डा. मनिय यादवलगायतको जलन विशेषज्ञहरूको टोली, डा. प्रयुस अर्याललगायतका आकस्मिक उपचार टोली, रिना गौचन र निर्मला कुँवर, तृष्णा महर्जनलगायतको नर्सिङ टोली खटिएका छन्।

यसअघि शनिबार अस्पतालले अर्थमन्त्री पौडेल र मेयर आचार्यको शरीरको ५–६ प्रतिशत भाग जलेको तर अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्नसक्ने सम्भावना रहेकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको बताएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad