समाज


होस्टेलबाट बलजफ्ती निकालिएका नेपाली विद्यार्थीको फिर्ती खर्च बेहोर्न केआईआईटी तयार

कलेज संस्थापक सामन्तलाई मन्त्री राणाको फोन
होस्टेलबाट बलजफ्ती निकालिएका नेपाली विद्यार्थीको फिर्ती खर्च बेहोर्न केआईआईटी तयार

उजिर कार्की
फागुन ६, २०८१ मंगलबार १९:१७, काठमाडौँ

भारतको उडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) नेपाली विद्यार्थीलाई सम्मानजनक व्यवहारका साथ अध्ययनमा फर्काउन तयार भएको छ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूको टोली, नेपाली विद्यार्थीका प्रतिनिधि र कलेज व्यवस्थापनसँगको त्रिपक्षीय छलफलपछि यो सहमति भएको हो।

सहमतिअनुसार, छात्रावासबाट बलजफ्ती निकालिएका नेपाली विद्यार्थीलाई कलेजमा फर्किँदा लाग्ने खर्च कलेजले नै बेहोर्नेछ। यस्तै प्रत्येक विद्यार्थीका परिवार एवं अभिभावकलाई सम्पर्क गरेर बोलाउने पनि कलेजले भनेको छ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका प्रहरी काउन्सिलर सञ्जीव शर्मा दास, कलेज संस्थापक अच्युत सामन्त र विद्यार्थीका प्रतिनिधि बसेर दिउँसो छलफल भएको थियो। उक्त छलफलमा विद्यार्थीले राखेका माग पूरा गर्न कलेज सहमत भएको प्रहरी काउन्सिलर दासले नेपालखबरलाई जानकारी दिए। 

छात्रावासमा शान्तिपूर्वक बस्न पाउनुपर्ने, घर गएका विद्यार्थीको आउने–जाने टिकट कलेजले बेहोर्नुपर्ने, कलेजमा सम्मानजनक व्यवहार हुनुपर्ने, सुरक्षाको ग्यारेन्टी हुनुपर्ने लगायत माग विद्यार्थीले राखेका थिए।

त्रिपक्षीय छलफलपछि नेपाली दूतावासका अधिकारी, कलेज व्यवस्थापक र विद्यार्थीहरू

यहीबीचमा परराष्ट्रमन्त्री आरज राणा देउवाले पनि टेलिफोन गरेर कलेज संस्थापक सामन्तलाई नेपाली विद्यार्थीका सरोकारलाई गम्भीरतापूर्वक लिन भनेकी थिइन्। जवाफमा सामन्तले घटनाप्रति दुःख व्यक्त गर्दै माफी मागेका थिए। र, विद्यार्थीका माग पूरा गर्ने प्रतिबद्धता पनि जनाएका थिए।

यसैबीच, नयाँ दिल्लीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी हाल कलेजको अवस्था सामान्य रहेको जनाएको छ।

विज्ञप्तिमा राजदूतावासबाट खटाइएका पदाधिकारीहरू उडिसा पुगेर त्यहाँ भएका विद्यार्थीहरूलाई भेटेको र सम्बन्धित शैक्षिक संस्थाका पदाधिकारीसँग समेत छलफल गरेको उल्लेख छ।

उक्त छलफलकै बीचमा परराष्ट्रमन्त्री राणाले समेत शैक्षिक संस्थाका पदाधिकारीहरूसँग फोनमा कुराकानी गरेको पनि विज्ञप्तिमा जनाइएको छ।

‘छलफलका क्रममा छात्रावास छोडेर नेपाल जानुभएका विद्यार्थीहरुको आतेजाते टिकट खर्च उक्त शैक्षिक संस्थाले नै बेहोर्ने तथा कसैको परीक्षा छुट्न गएमा पुनः परीक्षाको व्यवस्था गर्ने प्रतिबद्धता शैक्षिक संस्थाले व्यक्त गरेको थियो ,’ विज्ञप्तिमा लेखिएको छ, ‘राजदूतावासबाट खटिनुभएका पदाधिकारीहरूका अनुसार हाल त्यहाँको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ।’

आजै दिउँसो राजदूत शंकर शर्माले पनि उक्त संस्थाका संस्थापक अध्यक्ष अच्युत सामन्तसँग कुराकानी गरेका थिए।

साथै, उडिसा राज्य सरकारले यस घटनाका सम्बन्धमा उच्चस्तरीय जाँचबुझ समितिसमेत गठन गरेको छ।

‍भारतको उडिसास्थित केआईआईटीको छात्रावासमा विद्यार्थी प्रकृति लम्साल मृत भेटिएपछि नेपालीमाथि कलेज व्यवस्थापनले ज्यादतीपूर्ण व्यवहार गरेको थियो। उनीहरूलाई बलजफ्ती छात्रावासबाट निकालिएको थियो। त्यसक्रममा कुटपिट र अमानवीय व्यवहारसमेत गरिएको थियो।

लम्सालको शव बुधबार नेपाल ल्याइँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad