समाज


सशस्त्रको शक्तिशाली ब्याच नम्बर-२

सशस्त्रको शक्तिशाली ब्याच नम्बर-२

उजिर कार्की
फागुन ९, २०८१ शुक्रबार १९:१४, काठमाडौँ

सशस्त्र प्रहरीको दोस्रो ब्याचमा भर्ना भएको टोली शक्तिशाली देखिएको छ। बिहीबार भएको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा आफूभन्दा शिनियर टोलीलाई पछि पार्दै दुई जना एसएसपी बढुवा सिफारिस भएका छन्। 

पहिलो ब्याच र त्योभन्दा अगाडि रहेका एसएसपीलाई पछि पार्दै दोस्रो ब्याचका दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट बढुवा सिफारिसमा परेका छन्। पहिलो नम्बरमा बढुवा हुने कृष्ण ढकाल भने एसएसपीमा पनि दोस्रो नम्बरमा थिए। 

डीआईजीमा दोस्रो नम्बरमा सिफारिस भएका दीपेन्द्र कुँवर र तेस्रो नम्बरमा सिफारिस भएका विष्णुप्रसाद भट्ट शक्तिका आडमा अगाडि लागेका हुन्।

कुँवरलाई बूढानीलकण्ठ र भट्टलाई बालुवाटारले डीआईजीमा बढुवा गरेको हो। पहिलो नम्बरमा बढुवा भएका ढकाल पनि मुख्यसचिवको जोडबलले सिफारिसमा परेका हुन्। 

तर सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपाने भने कार्यक्षमताका आधारमा अगाडि रहेका अधिकारीहरू नै बढुवामा परेको दाबी गर्छन्। 

‘सिसं १ र २ (पहिलो ब्याच र दोस्रो ब्याच)को टोलीबाट बढुवा सिफारिस भएका छन्। सिसं १ र २ को बीचमा धेरै समयको ग्याप छैन। ५ महिनाको फरकमा भर्ना भएका हुन्,' न्यौपानेले भने,  'कार्यसम्पादन, तालिम, शैक्षिक योग्यता, बढुवा समितिको अंकलगायत हाम्रा बढुवाका प्रावधानहरूको समग्र मूल्यांकनबाट सिफारिस गरिन्छ। त्यसमा उहाँहरू नै उत्कृष्ट ठहरिनु भयो र बढुवामा सिफारिसमा पर्नु भयो।’

२०५९ कात्तिक २७ गते सशस्त्रमा पहिलो भर्ना गरिएको थियो। दोस्रो ब्याच त्यही वर्ष चैत ७ गते भर्ना भएको हो। त्यसअघि भने नेपाली सेना र नेपाल प्रहरीबाट गएका अधिकृतहरूमात्रै थिए। 

हाल एसएसपीमध्ये पहिलो नम्बरमा रहेका कृष्णराज पाठक बढुवामा छुटेका छन्। उनले स्टाफ कलेज गरेका छैनन्। नेपाल प्रहरी र नेपाली सेनाबाट आएका अधिकारीहरूका लागि स्टाफ कलेज अनिवार्य छैन। 

पाठकलाई यसअघि पनि दुई पटकको बढुवामा छुटाइएको थियो। यसअघि पहिलो ब्याचका ५ जना एसएसपीहरू उनलाई उछिनेर डीआईजीमा बढुवा भएका थिए। यसपटक पाठकलाई सि सं २ को टोलीका पनि २ जनाले उछिनेका हुन्।        
                      
पहिलो ब्याचमा मनिष थापा पनि बढुवामा छुटेका छन्। उनकै ब्याचका ६ जना डीआईजी भइसके पनि उनलाई भने पछिल्लो टोलीले उछिनेको हो। एसएसपीमा तेस्रो वरियतामा रहे पनि उनलाई यसपटक बढुवामा छुटाइएको छ। थापाले स्टाफ कलेज पनि गरिसकेका छन्। 

एसएसपीमा चौथो नम्बरमा रहेका विनोदराज श्रेष्ठ र पाँचौँ नम्बरमा रहेका प्रकाश थापा बढुवा हुन सकेनन्। उनीहरू पहिलो ब्याचकै भए पनि स्टाफ कलेज गरेका छैनन्। डीआईजी बन्नका लागि स्टाफ कलेज अनिवार्य छ। 

उनीहरूभन्दा पछाडि थिए एसएसपी प्रविणराज कँडेल तर उनी पनि बढुवा हुन सकेनन्। नेपाल प्रहरीको प्राविधिकबाट आएका कँडेल पनि बढुवामा अटाउन सकेनन्। 

उनी पनि सशस्त्रमा भर्ना भएको दोस्रो ब्याचभन्दा अगाडिका हुन्। एसएसपीमा सातौँ र आठौँ नम्बरमा रहेका कुँवर र भट्ट भने डीआईजीमा सिफारिस भएका छन्। 

अब सशस्त्र प्रहरीमा वैशाखमा मात्रै एक जना डीआईजीका लागि पद रिक्त हुँदैछ। अहिलेकै व्यवस्था रहे वैशाखमा एआईजी चन्द्रप्रकाश गौतम अनिवार्य अवकाशमा जानेछन्।

उनको अवकाशपछि हालका एक जना डीआईजी एआईजीमा बढुवा हुनेछन्। त्यसपछि रिक्त कोटामा हालका एसएसपीमध्ये एक जना बढुवा हुनेछन्। त्यसपछि असोजमा डीआईजी कालीदास धौवजी अवकाश हुनेछन्। 

आईजीपी बन्नेगरी अघि लागे कुँवर र भट्ट 
सशस्त्र प्रहरीमा भदौ १६ गतेदेखि नै दुई डीआईजीको दरबन्दी रिक्त भए पनि माघमा किशोर प्रधान अवकाश भएपछि मात्रै बढुवाको सुरुसार चलेको हो। अहिले पहिलो नम्बरमा बढुवा सिफारिस भएका ढकाल आफ्नो ब्याचबाट दोस्रो लटमा मात्रै परे। उनको ब्याचबाट यसअघि नै ५ जना डीआईजी भइसकेका छन्। 

तर दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका कुँवर र भट्ट भने आफ्नो ब्याचबाट नेतृत्वमै पुग्ने गरी अगाडि लागेका हुन्। ऐन संशोधनका लागि संसद्‌मा पेस भइसकेकाले त्यसले अहिलेको आकलनमा फरक पार्नसक्छ। 

अहिलेकै अवस्थामा भने हालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको चार वर्षे कार्यकाल २०८३ वैशाखमा सकिन्छ। त्यसपछि अहिलेकै अवस्थामा एआईजी नारायणदत्त पौडेल २२ महिना आईजीपी बन्नेछन्। 

माघमा मात्रै डीआईजीको पदावधि एक वर्ष थपिएका कमल गिरी र गणेश ठाडा मगर आगामी वैशाखमा एआईजीमा बढुवा भएमा उनीहरू मध्ये जो एआईजीमा बढुवा हुन्छ उही पौडेलपछि आईजीपी बन्नेछ। 

यो टोलीबाट करिब डेढ वर्षका लागि त्यसपछिको आईजीपी बन्नेछ। त्यसपछि सशस्त्रमै भर्ना भएको पहिलो ब्याचको टोली छोटो समयका लागि आईजीपी बन्नेछ। 

यही व्यवस्था कायम रहेमा त्यसपछिको आईजीपी भने कुँवर र भट्टको सम्भावना बलियो हुनेछ।  तर अहिलेको अवस्थामा नयाँ ऐन कार्यन्वयन आएमा भने यो आकलनमा फरक पर्नेछ। जुन अवस्थामा वैशाखमा हुने एआईजी बढुवापछि थप प्रस्ट हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad