वैवाहिक कार्यक्रममा बेहुला-बेहुलीप्रति सबैको आकर्षण हुनु स्वाभाविकै हो। तर कहिलेकाहीँ अन्य पक्षमा पनि आगन्तुकको ध्यान जान सक्छ। काठमाडौँमा हालै भएको एउटा विवाह कार्यक्रममा अधिकांशको नजर बेहुला-बेहुलीसँगै मोहीमा पनि रह्यो।
अन्य पेय पदार्थको साटो मोही राखेपछि धेरैले मन पराए। यही फागुन ६ गते थापागाउँमा बेहुला माधव भण्डारी र बेहुली अस्मी सापकोटा जग्गेमा व्यस्त भइरहँदा उनीहरूलाई शुभकामना र आशीर्वाद दिनेको भीड पेय पदार्थका रूपमा राखिएको मोहीतिर देखिएको थियो।
अन्य पेय पदार्थको साटो मोही पिउन पाउँदा फरकपन महसुस गरेको काठमाडौँकी शिक्षा भट्टराईले बताए। बिहेमा सहभागी अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेलले भोजमा मोहीको प्रयोग निकै राम्रो भएको बताए।
विवाहमा मोहीप्रति मानिसहरूको आकर्षण देख्दा आफूलाई पनि निकै खुसी लागेको सेफ कँडेलले बताए। बिहेमा सहभागी शिक्षक उदय चापागाईँले पनि आफ्ना छोरा र छोरीको बिहेमा अन्य पेय पदार्थ नराखी मोही नै राख्ने रहर जागेको बताए।
बिहेका आगन्तुक एवं सञ्चारकर्मी डा राजेन्द्रराज तिमिल्सनाले पनि मोहीको महत्त्वबारे चर्चा गरे। उनले पौराणिक प्रसंग उल्लेख गर्दै देवराज इन्द्रलाई समेत मोही पिउने धोको कहिल्यै पूरा नभएको उल्लेख गरे।
कृषि र पर्यटन प्रवर्द्धन अभियन्तासमेत रहेका बेहुलीका पिता एवं टेलिभिजनकर्मी देवीप्रसाद सापकोटाले बिहेलाई केही नयाँपन दिन मोही समावेश गरेको बताए। बिहेमा मोहीको प्रवर्द्धनमा कृषिमन्त्री सरिक भएकोप्रति उनले विशेष खुसी व्यक्त गरे।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, बेहुला माधव भण्डारी र बेहुली अस्मी सापकोटाले मोही पिएर कृषि उत्पादनलाई प्रवर्द्धन गरे। नेपालीहरूका सबै चाडपर्व र कार्यक्रममा ठाउँअनुसारका उपजको प्रवर्द्धनबाट किसानलाई हौसला मिल्ने भएकाले यस्ता कार्यक्रम बढाउनुपर्ने मन्त्री अधिकारीले बताए।
काठमाडौँमा हुने कार्यक्रमका लागि मोही ढुवानीमा केही समस्या भए पनि उपभोक्ताको रुचिअनुसार गुणस्तरीय मोही आपूर्ति गर्न सकिने पवन डेरी चितवनका सञ्चालक पवनप्रसाद बाँस्तोलाले बताए।
चितवनमा मात्र प्रचलनमा रहेका विभिन्न कोल्ड ड्रिङ्क्सको करिब ३५ प्रतिशत हिस्सा मोहीले लिइसकेको मोही प्रवर्द्धनमा लागेका अभियन्ताहरूले बताएका छन्।
नेपाल सरकार पनि पछिल्ला दिनमा स्वदेशी उत्पादन र कृषि उपजको उपभोग बढाउन आवश्यक नीति र कार्यक्रम बनाउन थालेको छ। रासस
Shares

प्रतिक्रिया