धनुषामा ढुंगाले हानेर श्रीमानको हत्या गरेको आरोपमा श्रीमती र उनका प्रेमी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनुषाको शहिदनगर नगरपालिका ३ की कोशिला देवी र सोही नगरपालिकाको वडा नं. ७ बस्ने २७ वर्षका राकेशकुमार साह रहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
गएको फागुन २८ गते बिहान आफ्नै घरको कोठमा सुतेका सहिद नगरपालिका ३ का राजकिशोर साह मृत फेला परेका थिए। अनुहारमा ढुंगाले किचेर हत्या गरेको अवस्थामा उनको शव बरामद भएको थियो। पक्राउ परेकी कोशिला देवी हत्या भएका राजकिशोरका कान्छी श्रीमती हुन्। राकेशकुमार भने कोशिलादेवीको प्रेमी रहेको प्रहरीले जनाएको छ।
गएको फागुन २७ गते होलीको दिन कोशिलादेवी र राकेशबीच टेलिफोनमा कुराकानी भई योजनावद्ध ढंगले राजकिशोरको हत्या भएको प्रहरीको दाबी छ। प्रहरीले राजकिशोरलाई राति खानामा नसालु ट्याव्लेट मिसाएर खुवाइएको र नसामा मातेर सुतिरहेको अवस्थामा कौशिलादेवीले राकेशलाई घरमा बोलाएर हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए।
घटनाकै दिन कोशिलादेवीलाई र पछि राकेशकुमार मण्डललाई उनको आफ्नै घरबाट पक्राउ गरेको प्रहरीको भनाइ छ। राकेशको कौशिलादेवीसँग अनैतिक सम्बन्ध एवं प्रेम सम्बन्ध रहेको समेत प्रहरीले दावी गरेको छ।
दुवैजनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया