काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता ढंगोलले ‘बुलेट आमा’ नामले चिनिएकी शुशिला उप्रेती तिवारीको बुलेट मोटरसाइकल यात्राको प्रशंशा गरेकी छन्।
उपप्रमुख डंगोलले उनलाई आज प्रशंशा पत्र प्रदान गर्दै आगामी अन्तरदेशीय यात्रा सफलताको शुभकामना दिएकी छन्।
त्यस क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपानेले तिवारीलाई मायाको चिनो प्रदान गरे।
प्रशंसा प्रदान गर्दै उपप्रमुख डंगोलले तिवारीको मोटरसाइकल यात्रा सहासी नेपाली महिलालाई प्रतिनिधित्व गर्ने सन्देश भएको बताइन्। ‘नेपाली महिलाहरुले लगाउने गुन्युचोली लगाएर ५५ वर्षको उमेरमा मोटरसाइकलबाट यात्रा गर्नु अरु महिलाहरुका लागि केही नयाँ गर्न सकिन्छ भन्ने उत्प्रेरणा हो,’ उनले भनिन्।
झापाको बुधबारे निवासी तिवारीले राष्ट्रिय पोशाक ‘गुन्युचोली’ लगाएर विश्वशान्तिको कामना गर्दै गएको भदौ ५ गते मेचीबाट मोटरसाइकल यात्रा थालनी गरेकी थिइन्।
त्यतिबेला उनले नवौँ दिनको दिन सुदुरपश्चिम प्रदेशको गड्डाचौकी, कञ्चनपुरमा पुगेर यात्रा समापन गरेकी थिइन्।
‘सहासी र शसक्त नेपाली महिलाको पहिचान प्रवद्र्धन गर्न अब भारत, बंगालादेश, मलेसिया हुँदै थाइल्याण्डसम्म यात्रा गर्नेछु,’ उनले भनिन्, ‘यात्राका क्रममा भेटिने हरेक व्यक्ति र समुदायको सहयोग लिएर यात्रा सम्पन्न गर्ने योजना छ।’
Shares

प्रतिक्रिया