समाज


१० वर्षे द्वन्द्वमा नेपाली सेनाको जागिर छाडे, अहिले रुस–युक्रेन युद्धमा मारिए बुढाथोकी

वडाध्यक्षमा हारेपछि पुगेका थिए रुस
१० वर्षे द्वन्द्वमा नेपाली सेनाको जागिर छाडे, अहिले रुस–युक्रेन युद्धमा मारिए बुढाथोकी

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १२:३१, काठमाडौँ

रुसी सेनामा भर्ती भएका रोल्पाको सुनछहरी गाउँपालिका-५ का पूर्व वडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको मृत्यु भएको छ।

फागुन १३ गतेदेखि नै सम्पर्कविहीन भएका उनको मृत्युको खबर आएपछि सोमबारदेखि काजकिरिया सुरु गरेको तिर्खबहादुरका दाइ खगेन्द्र बुढाथोकीले बताए। 

यसअघि पनि युक्रेनी सेनासँगको लडाइँमा जाँदा सम्पर्कविहीन हुने र पछि सम्पर्कमा आउने गरेको परिवारको भनाइ छ। यस पटक पनि परिवार त्यही आशामा थिए। तर ११औँ दिनमा उनको मृत्युको खबर रुसी सेनामै कार्यरत अर्का नेपालीले दिएका हुन्। 

४४ वर्षका तिर्खबहादुर २०८० असोजमा रुसी सेनामा भर्ना भएका थिए। तर फागुन २४ गते आक्रमणमा परी मृत्यु भएको खबर परिवारले पाएका छन्। 

सोही वडाका वडाध्यक्ष देवीलाल रोका मगरले बुढाथोकीको मृत्यु भएको आधिकारिक खबर आएपछि सोमबारदेखि काजकिरिया सुरु गरेको र आफूले पनि मंगलबार बिहान परिवारलाई भेटेर फर्किएको बताए।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तिर्खबहादुर नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। पहिलो कार्यकाल पूरा भएपछि उनी २०७९ मा पुनः वडाध्यक्षकै उम्मेदवार बनेका थिए। तर उनी देवीलालसँग ९४ मतले पराजित भएका थिए। 

देवीलाल पूर्वजनमुक्ति सेना हुन् भने पछि नेपाली सेनामा समायोजन भएका थिए। 

तिर्खबहादुर पनि पूर्वसैनिक हुन्। तर उनले २ वर्षमै सेनाको जागिर छाड्न परेको थियो। माओवादी द्वन्द्वका कारण २०५९ सालमा सेनाको जागिर छाडेर उनी विदेशिएका थिए। 

देवीलालले भने नेपाली सेनामा समायोजन भएर २०७६ सालमा पेन्सन भएपछि राजीनामा दिएका थिए। त्यसअघि उनी शान्ति मिसनमा कङ्गो समेत पुगेका थिए। 

२०७९ को निर्वाचनमा देवीलाल माओवादी र तिर्खबहादुर एमालेबाट चुनाव लडेका थिए। तर वडाध्यक्षमा पराजित भएको अर्को वर्ष तिर्खबहादुर रसिया पुगेका हुन्।

तिर्खबहादुरका बाबु आमा, श्रीमती र दुई छोराछोरी छन्। श्रीमती सरकारी स्वास्थ्यकर्मी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad