समाज


४५ वर्षअघि चोरी भएका तीन पौभाः नेपाल फिर्ता, अब महानगरले संरक्षण गर्छ- उपप्रमुख डंगोल

४५ वर्षअघि चोरी भएका तीन पौभाः नेपाल फिर्ता, अब महानगरले संरक्षण गर्छ- उपप्रमुख डंगोल

नेपालखबर
चैत १, २०८१ शुक्रबार १६:५३, काठमाडौँ

४५ वर्ष अघि चोरी भएका र ५ सय ५० वर्ष पुरानो इतिहास बोकेका इतुंबहालका तीनवटा पौभाः अर्थात् चित्रकला (चिन्तामणि लोकेश्वर, केशचन्द आजु भैरव दर्शन गरिरहेका तथा गगनसिं र उनका दुई श्रीमती) घर (नेपाल) फिर्ता भएका छन्। फागुन २० गते तीन वटै पौभाः तथा अन्य १७ वटा कलाकृति नेपाल ल्याइएको हो।
 
विभिन्न समयमा हराएका, चोरिएका सम्पदा काठमाडौँ महानगरपालिकासँगको प्रयास र पुरातत्व विभागको समन्वयमा विभिन्न सङ्घसंस्थाले अभियान नै बनाएर फर्काउने पहल गरिरहेका छन्। इतुंबहालका तीन पौभाः पनि त्यहि प्रयास र समन्वयमा स्वदेश फर्काइएको हो।   

इतुंबहालका ती तीन वटा पौभाः २०३७ साल अघिसम्म इतुंबहालमै गुँलापर्वका बेला १५ दिनसम्म श्री केशचन्द्र महाविहारमा प्रदर्शनीमा  राखिएको थियो। ती तिन वटै पौभाःहरु २०३७ साल भदौ २९ गते महाविहार परिसरबाटै हराएका थिए। त्यसपछि करिब ३३ वर्षसम्म कहाँ थिए भन्ने अज्ञात रहे।  

विभिन्न प्रयासपछि ती पौभाःलाई नेपाल फर्काएपछि सम्पदाप्रेमी र इतुंबहालबासी मात्रै होइन महानगरपालिकाका जनप्रतिनिधिहरुले पनि  खुशी व्यक्त गरेका छन्।

अमेरिकामा रहेका ती पौभाः फर्काउन पहल गर्ने नेवाः गुठी न्यूयोर्कका अध्यक्ष विजयमान सिंह केही दिन अघि इतुम्बहालका तीन पौभा र अन्य १७ वटा कलाकृतिसहित नेपाल आएका थिए। त्यो अवसरमा केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजले उनको सहित सम्मानमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेको थियो।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा डंगोलले आफ्ना धारणा राख्दै ५ सय ५० वर्ष पुरानो इतिहास भएको इतुंबहालका ४५ वर्ष अघि चोरी भएका तीन वटा पौभाः घर फिर्ता भएकोमा खुशी व्यक्त गरिन्। अमूर्त सम्पदा मात्रै नभई यहाँको रहनसहन र संस्कारसँग जोडिएका यी पौभाः फिर्ता हुनु खुशीको कुरा भएको उनको भनाई थियो।

‘हाम्रा नेपालका राम्रा–राम्रा सम्पदाहरु विदेशका आर्ट ग्यालरी र संग्राहलयमा सजाइएका हुन्छन्। त्यो सुनको पिँजडा जस्तै हो,’ उनले भनिन्, ‘हाम्रा कलाकृति, सम्पदा जहाँ पुजिन्छ त्यहाँ मात्रै रमाउन सक्छन् । त्यो भनेको आफ्नै घर हो, आफ्नै ठाउँ हो, आफ्नै माटो हो।’

उनले हराएका, चोरिएका सम्पदा फर्काउनु एउटा सफलता भएको पनि स्मरण गराइन्। ती फर्काइएको सम्पदाको संरक्षण गर्नु र सुरक्षित राख्नु थप महत्वपूर्ण कुरा हो,’ उनले भनिन्, ‘काठमाडौँ महानगरपालिका यसको संरक्षणका लागि आवश्यक पूर्वाधार तयार गर्नेलगायतका काममा सहयोग गर्न र त्यसका लागि सहकार्य गरेर अघि बढ्न पनि तयार छ।’

उनले ती सम्पदा फकाइसकेपछि त्यसको संरक्षण गर्ने दायित्व महानगरपालिकाको भएको उल्लेख गरिन्।

उपमेयर डंगोलले आर्ट इन्स्टिच्युट अफ सिकागोमा तलेजु भवानीको हार रहेको र त्यो फर्काउन अध्ययन भइरहेको जानकारी पनि आफूलाई प्राप्त भएको बताइन्। 

उनले  यसभन्दा अघि नेवाः गुठीको पहलमा चार वटा सम्पदा फिर्ता भइसकेको समेत जानकारी दिइन्। 

‘दोलखाका दुईवटा भैरवको मुकुट, भक्तपुरको श्री पञ्चदेवी, ललितपुरको उमामहेश्वर पनि फिर्ता भइसकेको छ,’ उनले भनिन्, ‘यो नेपालका सम्पदा विदेशबाट फर्काउने अभियानको सुरुवात हो। यसले निरन्तरता पाउँछ।’

ती पौभाः सन् २००३ मा अमेरिकाको सिकागोस्थित आर्ट इन्स्टिच्युट  अफ सिकागोमा प्रर्दशनीमा राखिएपछि नेपालबाट चोरी भएर त्यहाँ पुगेको भन्ने जानकारी भएको थियो। ‘त्यतिबेला सेकलर ग्यालरीका मालिक कलाप्रेमी स्टेफन एककार्ड पनि सिकागोस्थित आर्ट इन्स्टिच्युट अफ सिकागोमा पुग्नु भएको रहेछ। ती पौभाः प्रदर्शनीमा राखेको देखेपछि उहाँले इतुम्बहाःका चोरी भएका पौभाः सिकागो पुगेको ठहर गर्नुभएछ,’ श्री भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले भने, ‘त्यसपछि उहाँले गैरकानुनी रुपमा ल्याइएका पौभाःहरु आफने ग्यालरीमा प्रर्दशन नगर्ने ठहर गर्नुभएको थियो। त्यसपछि उहाँ नेपाल आइ इतुंबहाल संरक्षण समाजका तत्कालीन अध्यक्ष क्याप्टेन चन्द्रबहादुर शाक्यलाई हराएका ती पौभाःहरुबारे जानकारी गराउनु भएको थियो।  त्यतिबेला नै पौभाःहरु फिर्ताका लागि पहल गर्न सुझाव दिनुभएको थियो।’

त्यहि सूचनाका अधारमा उक्त समाजले पुरातत्व विभामा पुनः जाहेरी निवेदन दिनुका साथै इन्टरपोलमा समेत जाहेरी दिएको रहेछ। यसैका अधारमा अमेरिकाको सम्वन्धित निकायमा ती पौभाःहरु फिर्ता गर्ने कार्यका लागि पहल भएको शाक्यले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad