कोरोना भाइरस प्रकोपको अध्ययन गरिरहेका बेलायतका वैज्ञानिकले दशौँ लाख मानिसको ज्यान जोगाउने हो भने सरकारहरूले अत्यन्त चाँडो गतिमा कदम चाल्नु पर्ने बताएका छन्।
इम्पेरियल कलेज लन्डनले गरेको अध्ययन अनुसार परीक्षण र एक्ल्याउने काम नगरे अनि सामाजिक दुरी कायम नराखे ठूलो संख्यामा मानिसहरूको ज्यान जान सक्छ।
कम्प्युटर प्रणालीबाट निकालिएको हिसाब अनुसार अत्यन्त खराब स्थितिमा सघन उपचार आवश्यक पर्ने छ।
वैज्ञानिक अनुसन्धानलाई आधार मानेर बीबीसीले जनाए अनुसार बिरामीहरूको सङ्ख्या धान्न सकिने भन्दा २० गुना ज्यादा हुनेछ।
वैज्ञानिकहरूले आफ्नो अध्ययनको निष्कर्ष ठ्याक्कै नमिल्न पनि सक्ने भन्दै सरकारहरूले कुनै काम नगरेको खण्डमा मात्र आफूहरूले दिएको चेतावनीको स्थिति आउनसक्ने बताएका छन्।
उनीहरूले बढी उमेरका मानिस घरपरिवारमै बस्ने अल्पविकसित देशमा प्रकोपको असर खतरनाक हुन सक्ने पनि बताए।
कोरोनाभाइरस नयाँ भएकाले यसबारे थुप्रै कुरा जान्न अझै बाँकी रहेको वैज्ञानिकहरूले बताउँदै आएका छन्।
प्रारम्भिक विवरणहरूमा बढी उमेरका पाका मान्छेलाई यसले बढ्ता असर पारेको अनि महिलाभन्दा पुरुषका निम्ति यो धेरै घातक भएको देखिएको छ।
साथै बालबालिकामा यसले पार्ने प्रभाव पनि कम देखिएको छ। तर यी सबै विषयका यकिन कारणहरू खुलिसकेका छैनन्।
युरोपको रोग नियन्त्रणसम्बन्धी एउटा निकायले बढी उमेरका मानिसभन्दा पनि धेरै धूम्रपान गर्नेहरू कोरोनाभाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको हुनसक्ने बताएको छ।
एक विवरणमा उसले पुराना अम्मली वर्तमान अम्मलीभन्दा बढी जोखिममा हुनसक्ने पनि उल्लेख गरेको छ।
उनीहरूको कोषमा एक प्रकारको इन्जाइमका कारण त्यो हुनसक्ने बताइएको छ।
सो निकायले धूम्रपान गर्नेहरूलाई पनि सो रोगको अति जोखिमा रहेका समूहमा राख्न भनेको छ।

प्रतिक्रिया