समाज


भारतबाट फर्किएकालाई क्वारेन्टाइनमा राखेको झोकमा स्वास्थ्यकर्मीमाथि कुटपिट

भारतबाट फर्किएकालाई क्वारेन्टाइनमा राखेको झोकमा स्वास्थ्यकर्मीमाथि कुटपिट

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ४:४,

बैतडीका एक स्वास्थ्यकर्मीमाथि क्वारेन्टाइनभित्रै कुटपिट भएको छ।

पुर्चौडी नगरपालिकास्थित कुवाकोट स्वास्थ्य चौकीका अहेव करनसिंह धामीमाथि नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइन भित्रै कुटपिट भएको हो।

पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखेपछि केहीले अहेव धामीलाई कुटपिट गरेको जानकारी दिए।

आफ्ना छोरालाई क्वारेन्टाइनमा किन राखेको भन्दै स्थानीय नरेन्द्र जागिरीले स्वास्थ्यकर्मीमाथि हातपात गरेको उनले बताए। नरेन्द्रका छोरा सुनिलसहित पुर्चौडीका सात जना बुधवार राति भारतबाट घर फर्केका थिए।

भारतबाट फर्केका सात जनालाई पुर्चौडी नगरपालिका–५ कुवाकोटको भूमिराज मावि काटै गहतलको क्वारेन्टाइनमा राखिएको थियो।

क्वारेन्टाईनमा राखिएका परिवारका सदस्य नरेन्द्र जागिरीले भारतबाट आएको मेरो छोरा सुनिललाई किन क्वारेन्टाईनमा राखेको भन्दै राति साढे दश बजे ड्यूटीमा खटिएका अहेव धामीलाई गालीगलौज गर्दै हातपात गरेका हुन्।

सातै जनालाई स्वास्थ्यकर्मीले सुरक्षित निगरानीमा राखेका थिए। स्वास्थ्यकर्मीले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सुरक्षित तरिकाले क्वारेन्टाईनमा बसालेपछि परिवारका सदस्य आएर स्वास्थ्यकर्मीमाथि कुटिपिट गरेका प्रहरीले जनाएको छ।

कुटपिटबाट अहेव धामीको छाती र हातमा चोट लागेको छ। हाल हाट स्वास्थ्यचौकीमा उनको उपचार भइरहेको छ ।

बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले हातपात गर्ने जागरीलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले कोरोना भाइरस भित्रिन नदिन स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा सेवाका तत्पर रहन निर्देशन दिइरहेकै बेला स्वास्थ्यकर्मीमाथि क्वारेन्टाइनमै आक्रमण हुनु दुःखद् भएको बताए।

यसैबिच नगरपालिकाले आफ्नो ज्यानको परवाह नगरी कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन चौबीसै घण्टा काममा खटिएका स्वास्थ्यकर्मीमाथिको कुटपिट निन्दनीय भएको भन्दै बिहीवार विज्ञप्ति जारी गरेको छ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पृथ्वीराज अवस्थी र स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा हातपात गर्ने नरेन्द्र जागरीलाई हदैसम्मको सजायको माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad