समाज


काठमाडौँसहित देशका प्रमुख सहरमा वायु प्रदूषण उच्च, सतर्कता अपनाउन आग्रह

काठमाडौँसहित देशका प्रमुख सहरमा वायु प्रदूषण उच्च, सतर्कता अपनाउन आग्रह

फाइल तस्बिर


नेपालखबर
चैत २२, २०८१ शुक्रबार ६:१८, काठमाडौँ

राष्ट्रिय विपद् जोखिम, न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी मौसम बढेसँगै विविध कारणले केही दिनयता काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहरको वायु प्रदूषण खतराको तह नजिक पुगेको जानकारी गराउँदै सचेत हुन आमनागरिकमा अनुरोध गरेको छ।

बढ्दो वन डढेलो र आगलागीका घटना, सडक निर्माणलगायत निर्माणकार्यसँगै निस्केका धुलोका कण, सवारी प्रदूषण, फोहरमैला जलाउने कार्यलगायत कारणले काठमाडौँ उपत्यकाको भौगोलिक अवस्थिति, हिउँदे वर्षा कम हुनु र मनसुन सुरुआत नभइसकेको अवस्थामा केही दिनयता काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहरको वायु प्रदूषण खतराको तह नजिक पुगेको प्राधिकरणले जनाएको हो।

वायु गुणस्तर सूचकाङ्क (एक्युआई) निकै अस्वस्थ्यकर बिन्दुमा पुगेको हुँदा मानिसहरूमा श्वासप्रश्वासमा समस्या, दम र फोक्सोको सङ्क्रमणको जोखिम, सुक्खा खोकी लाग्ने, घाँटी चिलाउने, आँखा पोल्ने, छाला सुक्खा हुने, एलर्जी र जलन हुने, टाउको दुख्ने, थकान महसुस हुनेलगायत स्वास्थ्यसम्बन्धी शारीरिक र मानसिक समस्या बढ्दै गएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए। 

उनका अनुसार वायु प्रदूषणको गाम्भीर्यतालाई ध्यानमा राखी सम्भव भएसम्म घरमै बस्न, कार्यालयका काम घरबाटै व्यवस्थापन गर्न सकिने अवस्था भए घरबाटै गर्न प्रोत्साहन गर्नुपर्छ।

प्राधिकरणले एक सूचना जारी गरी सवारीसाधनको प्रयोग कम गर्न, घर, सडक तथा सार्वजनिक स्थानको सरसफाइमा ध्यान दिन, अत्यधिक धुलो र धुँवा उत्सर्जन गर्ने निर्माणकार्य केही समयलाई स्थगन गरी वातावरणमैत्री हुनेगरी नियमन गर्न, फोहरमैलाको सही व्यवस्थापन गर्न एवं फोहरमैला नजलाउन अनुरोध गरेको छ।  

यस्तै डढेलो लाग्नै नदिन र लागिहाले सावधानीपूर्वक नियन्त्रण गर्न, बालबच्चा, वृद्धवृद्धा र संवेदनशील स्वास्थ्य समस्या भएकाहरूको विशेष हेरचाह गर्न र प्रदूषण बढेको बेला घरबाहिर निस्कँदा सुरक्षित मास्कको प्रयोग गर्न पनि प्राधिकरणले सबैमा अनुरोध गरेको छ।

वायु प्रदूषण विज्ञहरूका अनुसार अझै एक हप्ता प्रदूषणमा सुधार नहुने देखिएकाले सम्बन्धित जिम्मेवार निकायले वायु प्रदूषणको अवस्थामा सुधार ल्याउन एवं सङ्कटासन्न संवेदनशील समूहलाई सम्भावित असरबाट जोगाउन आवश्यक कदम चाल्न पनि प्राधिकरणले सबैमा विशेष अपिल गरेको प्रवक्ता केसीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad