उच्च अदालतले थुनामा पठाउने आदेश दिएपछि रवि लामिछानेले आजै गिरफ्तारी दिने भएका छन्। अदालतको आदेशपछि साँझ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आजै अहिले नै गिरफतारी दिने जानकारी गराएका हुन्।
उनले गिरफतारी दिने बताइरहँदा प्हरी भने उनको घरमा पुगिसकेको छ। प्रहरी पक्राउ गर्न घरमा पुगेपछि उनले सामाजिक सञ्जालमार्फत आफै गिरफतारी दिन लागेको बताएका हुन्।
उनले लेखेका छन्, ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु। म माथि ठूलो अन्याय भएको छ। चितवनको सभा नरोक्नुस्।’
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो।
न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो।
उच्च अदालतले यसै प्रकरणका अर्का अभियुक्त पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको छ।
यसअघि गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो भने छविलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
त्यसविरुद्ध परेका निवेदनमा बिहीबार नै सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि शुक्रबारलाई हेर्दाहेर्दैमा राखिएको थियो। शुक्रबार साँझ अदालतले रवि र छवि दुवै जनालाई थुनामा पठाउने आदेश गरेको हो।
छविलाई थुनामा राखे पनि उस्तै कसुरदार रविलाई धरौटीमा छाडिएको भन्दै सरकारी वकिल कार्यालयले रविलाई पनि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दिएको थियो। उच्च अदालतले सरकारी वकिलको माग बमोजिमको आदेश गरेको हो।
रविले भने एक करोड धरौटी चर्को भएको भन्दै साधारण तारेखमा राख्न माग गर्दै उच्चमा निवेदन दिएका थिए। सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ।
उनीहरुले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ। रवि, छवि र जीबीले यसमध्ये १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ। जीबी राई भने फरार छन्।
Shares

प्रतिक्रिया