समाज


सम्पदा संरक्षणमा जुटे घरपझोङका युवा

सम्पदा संरक्षणमा जुटे घरपझोङका युवा

नेपालखबर
चैत २६, २०८१ मंगलबार १८:८, मुस्ताङ

घरपझोङ गाउँपालिकाका युवा यतिबेला स्थानीय स्तरको प्राकृतिक तथा जैविक सम्पदा जोगाउन जुटेका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाअन्तर्गत गाउँपालिकाले उनीहरूलाई पालिकाभित्रका प्राकृतिक तथा जैविक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने काममा खटाएको हो।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्थानीय स्तरका बेरोजगार युवायुवतीलाई प्राकृतिक श्रोतको रक्षा गर्न परिचालन गर्ने गरी यो कार्यक्रम नियमित कार्यान्वयनमा रहेको छ। गाउँघरका बेरोजगार युवायुवतीलाई अल्पकालिन रोजगार सिर्जना गर्ने उद्देश्यले यस प्रकारको कार्यक्रममा संघीय सरकार र विश्व बैंकबाट वैदेशिक सहायता रकम उपलब्ध हुँदै आइरहेको छ। 

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत युवाको सीप र क्षमता अभिवृद्धि गर्ने, स्थानीय प्राकृतिक सम्पदाको अपनत्व दिलाउने, न्यूनतम रोजगार उपलब्ध गराउने र बेरोजगारी समस्यालाई न्यूनीकरण गर्दै लैजाने सरकारको उद्देश्य रहेको गाउँपालिकाको रोजगार सेवा केन्द्रका संयोजक शर्मिला श्रीसले जानकारी दिए। कार्यक्रमले पालिकाभित्रको जीर्ण अवस्थामा रहेका प्राकृतिक सम्पदालाई संरक्षण तथा विकास गर्न टेवा पुगेको रोजगार सेवा केन्द्र संयोजक श्रीसको भनाइ छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ का लागि संघीय सरकारबाट रु ११ लाख ४९ हजार र वैदेशिक सहायता रु ३० लाख ४० हजार गरी रु ४१ लाख ८९ हजार पुँजीगत बजेट विनियोजन भएको रोजगार सेवा केन्द्र संयोजक श्रीसले बताए। गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्थानीय बेरोजगार अवस्थामा रहेका युवायुवतीलाई  पर्यटकीय पदमार्ग स्तरोन्नति, छप्पनी ढुंगा मिलाउनेदेखि बिच्छ्याउनेसम्म, सिँचाइ कुलो मर्मत सुधार, रैथाने बाली बिरुवाको वृक्षारोपण, सरसफाइ तथा कृषि गह्रा सुधार लगायतका काममा परिचालन गरिएको रोजगार सेवा केन्द्र संयोजक श्रीसले उल्लेख गरे।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालु आवमा गाउँपालिकाका पाँच वटै वडामा युवाहरूलाई रोजगारमूलक काममा व्यवस्थापन गरिएको छ। त्यसअन्तर्गत वडा नं १ को छैरो चिमाङ गाउँमा छप्पनी ढुंगा बिच्छ्याउने, सिँचाइ कुलो मर्मत सुधारका साथै पर्यटकीय पदमार्ग मर्मत सम्भार लगायतका कामहरूको जिम्मेवारी दिइएको छ। वडा नं २ मार्फामा सिँचाइ कुलो मर्मत सम्भार, परम्परागत बालीको वृक्षारोपण तथा त्यस क्षेत्रको सरसफाइका साथै खेतबारीको कृषि गह्रा सुधारको कामकाजमा खटाइएको हो। वडा नं ३ स्याङ गाउँमा सिँचाइ कुलो मर्मत सम्भार गरिँदै छ।

यसैगरी गाउँपालिकाको वडा नं ४ जोमसोममा धोफु (ढुंगे ओढार) जाने सडक बाटो मर्मत सम्भार सुरु गरिएको छ। वडा नं ५ ढुम्बा गाउँअन्तर्गत  ढुम्बा गाउँदेखि कुछप तरेङ्गा गुम्बा जाने जीर्ण बाटो मर्मत सम्भार भइरहेको छ। सोही वडाको भुतीधाङमा वृक्षारोपण क्षेत्रमा सरसफाइका साथै पार्क निर्माण तथा मर्मत सम्भार लगायतका काम भइरहेको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवाहरूलाई १०० दिनसम्म दैनिक रु ७६० ज्याला सुविधा दिएर स्थानीय सम्पदा जोगाउन काममा खटाइएको रोजगार शाखा संयोजक श्रीसको भनाइ छ। उनीहरूलाई दैनिक आठ घण्टा काममा लगाउने गरी सम्बन्धित वडामा त्यहीँका युवायुवतीलाई व्यवस्थापन गरिएको उनले जानकारी दिए।

चालु वर्षको कार्यक्रममा गाउँपालिकाको रोजगार शाखा केन्द्रले पालिकाको पाँच वटै वडामा गरी ५५ युवायुवती व्यवस्थापन गरेको रोजगार सेवा केन्द्र संयाजक श्रीसले बताए। यसैगरी रोजगार कार्यक्रममा सहभागी युवयुवतीलाई फिल्डमा काम गर्दा जोखिम उत्पन्न नहोस् भन्ने हेतुले आवश्यक सुरक्षा सामग्रीका साथै काम गर्ने घरेलु उपकरणको समेत व्यवस्था गरिएको उनको भनाइ छ।

उक्त कार्यक्रमअन्तर्गत गाउँपालिकालाई गत वर्ष रोजगारी सिर्जना गर्ने गरी संघीय सरकारबाट रु २१ लाख ४९ हजार र वैदेशिक ऋण सहायता रु २८ लाख ५८ हजार बजेट विनियोजन भएको थियो। गत वर्ष घरपझोङको रोजगार सेवा केन्द्रले पाँच वटै वडामा गरी ६५ जनालाई अल्पकालिन रोजगारी उपलब्ध गराएको संयोजक श्रीसले उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad