समाज


ओखलढुंगामा रोकिएन घरमै सुत्केरी हुने चलन

एक वर्षमा ९१ महिला उमेर नपुग्दै सुत्केरी
ओखलढुंगामा रोकिएन घरमै सुत्केरी हुने चलन

फाइल तस्बिर


नेपालखबर
चैत २८, २०८१ बिहिबार १३:४५, काठमाडौँ

घरमा हुने सुत्केरी दर शून्य बनाउन सरकारले विभिन्न अभियान सञ्चालन गरिरहेकाे छ। ओखलढुङ्गा जिल्लामा पनि सरकारी संयन्त्रले सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरिरहेका छन्।  

पायक पार्ने स्थानमा चौबिसै घण्टा सेवा उपलब्ध हुने गरी बर्थिङ सेन्टर स्थापना भएका छन् । तर ओखलढुङ्गामा अझै घरमा सुत्केरी हुने क्रम रोकिएको छैन। चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा २९ जना घरमै सुत्केरी भएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारको तथ्याङ्कानुसार चालु आवमा सबैभन्दा बढी चिशङ्खुगढी गाउँपालिकामा आठ जना गर्भवती घरमै सुत्केरी भएका छन्। त्यस्तै  सिद्धिचरण नगरपालिकामा चार, मोलुङमा तीन, खिजीदेम्बामा पाँच, चम्पादेवीमा सात, सुनकोशी र मानेभञ्ज्याङ गाउँपालिकामा एक–एक जना घरमै सुत्केरी भएका छन्। लिखु गाउँपालिकामा भने चालु आर्वमा घरमा सुत्केरी भएको तथ्याङ्क छैन।

पछिल्ला तीन आवमा ११६ गर्भवती घरमै सुत्केरी भएका छन् । आव २०८०/८१ मा ४५ र आव २०७९÷८० मा ४२ जना महिला घरमै सुत्केरी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विवेक पोखरेलले बताए। सुरक्षित मातृत्व कार्यक्रम र गाउँगाउँमा दक्ष स्वास्थ्यकर्मीसहित प्रसूतिगृह सञ्चालन गरेर संस्थागत सुत्केरी गराउन पहल गरिए पनि अझै घरमै सुत्केरी हुने क्रम नरोकिएको सूचना अधिकारी पोखरेलको भनाइ छ।

‘नियमित गर्भजाँच र सुरक्षित सुत्केरीका लागि सचेतना र जागरणका कार्यक्रम सञ्चालन गरिएको छ। प्रसूतिगृह ठाउँठाउँमा सञ्चालनमा छन् तर घरमा सुत्केरी हुने क्रम रोकिएको छैन’, पोखरेलले भने, ‘यद्यपि विगतमा भन्दा केही सुधार आएको छ। जिल्लाका सबै स्थानीय तह र सरोकारवाला निकायले थप पहल गर्ने र नागरिक आफैँ बढी सचेत हुने हो भने यो समस्या समाधान हुन्छ।’ 

स्वयंसेविका, स्वास्थ्यकर्मी र आमा समूहमार्फत पनि सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरेर नियमित गर्भजाँच गराउने, घरमा हुने सुत्केरीको दर घटाउने, मातृशिशु मृत्युदर शून्य बनाउनेजस्ता अभियान सञ्चालन भइरहेको उनले बताए। 

एक वर्षमा ९१ महिला उमेर नपुग्दै सुत्केरी

ओखलढुङ्गामा विवाहयोग्य उमेरअगावै सुत्केरी हुनेको सङ्ख्या बढेको छ । वालविवाह हुनेक्रम नरोकिएको यस जिल्लामा आठ महिनामा ९१ जना किशोरीले प्रजनन उमेरअगावै बच्चा जन्माएका हुन् । चालु आवको साउनदेखि फागुन मसान्तसम्म ९१ जना महिला २० वर्ष नपुग्दै सुत्केरी भएको स्वास्थ्य कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी विवेक पोखरेलले बताए। कार्यालयका अनुसार सबैभन्दा बढी सिद्धिचरण नगरपालिकामा २९ जना किशोरी सुत्केरी भएका छन्।

मानेभञ्ज्याङमा १७, चम्पादेवीमा १३ र सुनकोशीमा आठ जना कम उमेरमा सुत्केरी भएका छन्। लिखु, खिजीदेम्बा र मोलुङ गाउँपालिकामा सात–सात जना र सबैभन्दा कम चिशङ्खुगढी गाउँपालिकामा तीन जना सरकारले तोकेको विवाह गर्ने उमेर नपुग्दै सुत्केरी भएका छन्।
 
जिल्ला अस्पताल, ओखलढुङ्गा सामुदायिक अस्पताल र जिल्लाका विभिन्न स्थानीय तहका बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलाको उमेरअनुसार यो तथ्याङ्क सङ्कलन गरिएको छ।

जिल्लामा विगतमा परिवारको दबाबमा उमेर नपुग्दै मागी विवाह गर्ने चलन थियो। अहिले पारिवारिक दबाबमा मागी विवाह गर्ने क्रम घटेपछि २० वर्ष नपुग्दै प्रेम विवाह गर्नेको सङ्ख्या बढेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad