समाज


व्यक्तिगत महत्त्वाकांक्षाभन्दा माथि उठेर काम गर्छु: नवनिर्वाचित अध्यक्ष मिश्र

व्यक्तिगत महत्त्वाकांक्षाभन्दा माथि उठेर काम गर्छु: नवनिर्वाचित अध्यक्ष मिश्र

नवनिर्वाचित अध्यक्ष विजयप्रसाद मिश्र (बीचमा)


नेपालखबर
चैत २८, २०८१ बिहिबार १६:३१, काठमाडौँ

नेपाल बार एसोसिएसनका नवनिर्वाचित अध्यक्ष विजयप्रसाद मिश्रले व्यक्तिगत महत्त्वाकांक्षाभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

बिहीबार निर्वाचित समितिले अन्तिम मतपरिणाम सार्वजनिक गरेपछि उनले सञ्चारकर्मीसँगको कुराकानीमा व्यक्तिगत महत्त्वाकांक्षा माथि उठेर स्वतन्त्र न्यायपालिका र कानुन व्यवसायको गरिमाका लागि काम गर्ने बताएका हुन्।

उनले भने, ‘आफ्नो मात्र होइन, प्रतिस्पर्धीको घोषणापत्र पनि कार्यान्वयन गर्ने मेरो प्रयास हुन्छ। सबैलाई समेटेर अघि बढ्छु। व्यक्तिगत महत्त्वाकांक्षाभन्दा माथि उठेर स्वतन्त्र न्यायपालिका र कानुन व्यवसायको गरिमाका लागि काम गर्छु।’

वरिष्ठ अधिवक्ता मिश्र ५ हजार ५२ मतसहित बारको २७ औँ केन्द्रीय कार्यसमितिको अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरे।

मिश्रले २ हजार ४३१ मतान्तरले श्रेष्ठलाई पराजित गरका हुन्।

चैत २३ गते भएको नेपाल बार चुनावमा मिश्रको प्यानलबाट २५ मा २५ जना नै निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष मिश्रले जितसँगै जिम्मेवारी थपिएको र जिम्मेवारीसँगै गम्भीर बनेर अघि बढ्ने प्रतिक्रिया पनि दिए।

स्वतन्त्र र स्वच्छ न्यायपालिकाको स्थापना, विकृतिविहीन न्यायपालिका, राम्रा न्यायकर्मी, भ्रष्टाचारमुक्त न्यायपालिका, संविधानको संशोधन आफ्नो प्राथमिकतामा रहेको पनि बताए।

कानुन व्यवसायीहरूलाई तालिमको व्यवस्था, लयर्स एकेडेमीको स्थापना, समुचित कानुनी शिक्षाको व्यवस्था, नेपाल बार एसोसिएसनमा महिला र युवा कानुन व्यवसायीको मूलप्रवाहीकरणका साथै नेपाल बारको समग्र कार्यप्रणाली परिवर्तन गर्ने कुरा आफ्नो प्राथमिकतामा उनले जानकारी पनि दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad