पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मान्छेले आफ्नो जीवनमा देखे, भोगेका विविध आयामहरुलाई भाषा र सिलसिला मिलाएर लेख्नु नै साहित्य भएको बताएकी छन्।
शनिबार काठमाडौँमा आयोजित साहित्यकार गोपाल पाण्डेको पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो बताएकी हुन्। पुस्तक लेख्दा भाषागत रुपमा पठनीय हुनुपर्ने बताइन्।
उनले आमनेपालीको जीवनयापनका क्रममा भोगेका अनुभवको संगालोमा साहित्यक पुस्तकहरु लेख्न सकिने स्पष्ट पारिन्।
पाण्डे परिवार साहित्य लेखनमा मात्रै नभइ देशलाई माथि उकास्ने खान्दानी परिवारको रुपमा चिनिएको उनको भनाई छ। उनले गाउँ सेवा नै देशको सेवा भनेर पुस्तकमार्फत लेखक पाण्डेले प्रस्तुत गरेको बताइन्।
पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, ‘साहित्य भन्ने कुरा जहाँसम्म मलाई लाग्छ मान्छेले जीवनमा जे भोगेको हुन्छ, मान्छेले जे अनुभुति गरेको हुन्छ। मान्छेले जे देखेको हुन्छ, जल्लाई पर्सेप्सन भन्छ त्यसैलाई भाषा मिलाएर एउटा राम्रो पठनीय हिसाबबाट लेख्यो भने त्यो साहित्य हुन्छ। उनले आफ्नो दुःख सुख गरेर हाम्रो आम नेपालीहरुको लाइफै के छ र पहाडतिर बस्ने उकालो ओरालो हिड्यो भुटेको मकै खायो, भटमास खायो। हाम्रो पिढीले त त्यही नै भोगेको हो। त्यो बेलाको उहाँले यो पुस्तकमा पुरा जीवन लेख्नुभएको छ।’
पूर्वप्रधानन्यायाधीश कार्कीले अन्तरआत्मामा छुने भावनात्मक विचारले भरिपूर्ण पाण्डेको लेखन प्रशंसनीय भएको बताइन्।
Shares

प्रतिक्रिया