काठमाडौँको टोखाबाट बरामद भएको २५ करोड रुपैयाँ बढी बरामदको मुद्दामा राजस्व अनुसन्धान विभागले अभियोग दायर गरेको छ। मंगलबार जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दायर गरेको राजस्व अनुसन्धान विभागका प्रमुख चण्डिप्रसाद घिमिरेले जानकारी दिए।
घिमिरेका अनुसार मुद्रा लिएर चीन जान लागेका ट्रक चालक कुसाङ लामा र सिन्धुपाल्चोकको भोटेकोसीका नारायण पौडेलविरुद्ध अभियोग दायर भएको हो।
विदेशी विनिमय(नियमन गर्ने) ऐन २०१९ को दफा ३,४,५ र ९ को कसुरमा सजाय माग गरिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गएको चैत ४ गते लामालाई विभिन्न देशका मुद्रासहित प्रहरीले पक्राउ गरेको थियो। उक्त मुद्रा सोही दिनको राष्ट्र बैंकको विनिमय दरअनुसार नेपाली रुपैयाँ २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ।
अपराध अनुसन्धान कार्यालयको टोलीले युरो १३ लाख ७५ हजार १५०, अमेरिकी डलर ३ लाख २० हजार ८५० सहित टोखा नगरपालिका २ झोरस्थित सडकबाट सिन्धुपाल्चोककै तामाङलाई पक्राउ गरेको थियो।
उनले चलाएको ना ७ ख १६५२ नम्बरको कन्टेनरमा उक्त रकम बरामद भएको थियो। चालक बस्ने स्थानदेखि माथिको क्याबिनमा फल्स बटम बनाइ लुकाएको अवस्थामा प्रहरीले विशेष सूचनाको आधारमा उक्त रकम बरामद गरेको थियो।
टोखाबाट बरामद २५ करोडका मालिक नारायण पौडेल, जो पटकपटक तस्करीमा मुछिँदै आए
बरामद भएको रकम बराबर नै उनीहरूविरुद्ध बिगो कायम गरिएको छ। यस्तै सोही ऐनको दफा १७ को उपदफा (१) बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ को उपदफा (९) बमोजिम थप सजायसमेत माग गरिएको छ। कुसाङ लामा सुन पैठारीको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट २०७४ असार २६ गते दोषि ठहर भएका थिए।
उक्त सजाय भुक्तान गरेको ५ वर्षभित्र अर्को कसुर गरेकाले उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४४ (२) बमोजिम थप सजाय हुन पनि माग गरिएको छ। यस्तै बरामद भएको विदेशी मुद्रा र ट्रक पनि जफत गर्न माग गरिएको छ।
यो मुद्राका मालिक भनिएका नारायण पौडेल फरार रहेकाले उनको हकमा अदालतबाटै म्याद जारी गर्न पनि अभियोग पत्रमा माग गरिएको महानिर्देशक घिमिरेले बताए।
Shares

प्रतिक्रिया