समाज


सञ्चालनको अन्तिम पर्खाइमा नागढुंगा सुरुङ (भिडिओ/तस्बिर)


वसन्त अर्याल
बैशाख ५ , काठमाडौँ

नागढुंगा सुरुङमार्ग २०८२ को दशैँसम्म सञ्चालनमा आउँदै छ।

करिब ९० प्रतिशत काम सकिएको सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। 

यसका मुख्य संरचना बनिसकेका छन् भने अन्य कामहरु चाँडै पूरा हुँदै छन्। फ्लाई ओभर र पश्चिम प्रवेशद्वारमा भने काम बाँकी छ। 

२०७६ कात्तिकमा शिलान्यास भएको सुरुङमार्ग २०८२ को कात्तिकसम्म सञ्चालनमा आउने देखिएको छ। २.६ किलोमिटरको लामो सुरुङ विस्फोटक पदार्थ प्रयोग गरी छेडिएको थियो। 

१ वर्षअघि २०८१ वैशाख ३ गते सुरुङ ‘ब्रेक थ्रु’ भएको थियो। 

पछिल्लो १ महिना स्थानीयको विरोधले काम रोकिन पुग्यो। तर अहिले सशस्त्र प्रहरीले सुरक्षा दिएसँगै नियमित काम भइरहेको छ। 

पूर्वी द्वारमाथिका केही घर चर्किएपछि स्थानीयले विरोध गरेका थिए। उनीहरुका अन्य मागमा सडक विभाग सकारात्मक देखिएको छ।

स्थानीयले सुरुङमार्गमाथिका जग्गाको मुआब्जा माग गरिरहेका छन्। त्यसबाहेक स्थानीयलाई रोजगारी र खानेपानीको व्यवस्था हुनुपर्ने अडान राख्दै आएका छन्। 

सुरुङमार्गको पश्चिम द्वारमा रिफ्रेसमेन्ट सेन्टर बनाउने योजना छ। तर मुआब्जालगायतको विवादले ढिलाइ भइरहेको छ। आयोजनाले प्रवेशद्वारको भित्ता काटेर पहिरो रोकथामका लागि पूर्वाधार तयार भए पनि भत्किएका छन्। त्यसलाई पुनर्निर्माण गर्नुपर्नेछ। 

आयोजनाले सन् २०२५ को अक्टोबर २५ सम्म सक्ने लक्ष्य राखे पनि स्थानीयले रोजगारी, खानेपानीको व्यवस्थापनलगायतको माग राखी अवरोध गर्दा केही ढिलाइ हुने देखिएको छ। आयोजनाले अब अवरोध नभए निर्धारित समयमा काम सकिने दाबी गरेको छ।

सुरुङमार्ग सञ्चालन हुँदा २.५ किमि सडक छोटिने
नागढुंगा नाका काठमाडौं प्रवेशको मुख्य सडक हो। धादिङको सिस्ने खोलादेखि चन्द्रागिरिको बलम्बुको सट्टा सुरुङमार्ग प्रयोग गर्दा सडक २.५ किलोमिटर छोटो हुन्छ। 

काठमाडौंमा दैनिक आवश्यकताका वस्तु उक्त सडक खण्डबाटै भित्रिन्छन्। लोड बोकेका ट्रक उकालोमा बिग्रिने समस्याले कहिलेकाही सडक नै अवरोध हुने गरेको छ। तर नागढुंगा सुरुङमार्ग निर्माण भएसँगै ढुवानीका साधन र यात्रुवाहक बसलाई सबैभन्दा बढी फाइदा पुग्नेछ।

‘काठमाडौं प्रवेश गर्दा उकालो भएकाले ट्रक, बसहरुलाई बढी समय लाग्ने गरेको थियो’, नागढुंगा सुरुङमार्ग आयोजनाका सीडीई सञ्जय पन्थीले भने, ‘सुरुङमार्गबाट गाडी चल्न थालेसँगै ट्रक÷बसहरुलाई आधा घण्टा समय छोटिनेछ। अरु साधनहरु पनि विना अवरोध काठमाडौं प्रवेश गर्नेछन्।’

मुग्लिङबाट काठमाडौं आउँदा फ्लाइओभरको प्रयोग नगरी उपत्यका प्रवेश गर्नुपर्नेछ। काठमाडौंबाट धादिङतर्फ जाने सवारीसाधनले फ्लाइओभरको बाटो प्रयोग गर्नुपर्नेछ। थानकोटतर्फबाट सुरुङमार्ग प्रवेशको छुट्टै मार्ग छ। 

आयोजनाले पूर्वी प्रवेशद्वारका स्थानीयलाई सहज हुने गरी सर्भिस लेन पनि निर्माण गरिरहेको छ। बीच ठाउँबाट सुरुङमार्गको सडक प्रयोग गर्न पाइनेछैन। 

सुरुङमार्ग सञ्चालन गर्नुपूर्व कर्मचारी, विद्युत्, अक्सिजनलगायतका पूर्वाधारको व्यवस्थापन गर्नुपर्छ। सडक विभागको गरेको एक अध्ययनले सुरुङमार्ग व्यवस्थापन गर्न करिब डेढ सय कर्मचारी आवश्यक पर्ने देखिएको छ। सुरुङभित्र कुद्ने गाडीबाट टोल (शुल्क) उठाउने भए पनि प्रतिगाडी कति रुपैयाँ उठाउने मन्त्रिपरिषद्ले निर्धारण गर्नेछ। 

हाल सुरुङमार्गभित्र, लाइटिङ, भेन्टिलेसन, कंक्रिट सडक निर्माणको काम भइरहेको छ। 

मुख्य सुरुङमार्गसँगै अत्यावश्यक हुँदा प्रयोग हुने सहायक सुरुङमार्ग निर्माण गरिएको छ। मुख्य सुरुङमार्ग र सहायक सुरुङमार्ग जोड्ने क्रस प्यासेजको काम पनि भइरहेको छ। मुख्य सुरुङमार्गको २६ सय ८८ मिटरको पेभमेन्टको काम सकिएको छ। रेस्क्यु सुरुङमार्गको २८ सयमध्ये १५ सय मिटरको काम बाँकी छ। पहुँच सडक, र्‍याम्प र अन्य सडकको करिब ९ किमि ९५ मिटरमध्ये ३ किमि सडकको फिनिसिङ बाँकी छ।  

फ्लाइओभरको काम भइरहे पनि केही मुआब्जा दिन बाँकी छ। मुद्दालगायत विवादका कारण ५ प्रतिशत बाँकी छ। 

‘सुरुङमार्गभित्रको कंक्रिट सडक पूरा भइसकेको छ। दुवैतर्फको प्रवेशद्वारमा कंकिटको काम हुँदै छ’, निर्माण कम्पनीका एक इन्जिनियरले भने, ‘सुरुङमार्गभित्र लाइटिङको काम सकिने चरणमा छ। सुरुङको दुवै साइडमा रङरोगन र सडक लेनको लाइनिङ बाँकी छ।’

२.६ किमि लम्बाइको नागढुंगा सुरुङमार्ग जापानी सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण र नेपालको आफ्नै स्रोतमा निर्माण भइरहेको छ। सुरुङमार्ग निर्माणका लािग करिब २३ अर्ब रुपैयाँ खर्च हुँदै छ। जापानी निर्माण कम्पनी हाम्जा एन्ड कर्पोरेसनले ठेक्का पाएर यसको काम गरिरहेको छ।

तस्बिर र भिडिओ (सरोज नेपाल)

बैशाख ५, २०८२ शुक्रबार ९:५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad