समाज


दुर्गा प्रसाईँका दुवै अस्पतालका खाता सर्वोच्चले गरिदियो फुकुवा

दुर्गा प्रसाईँका दुवै अस्पतालका खाता सर्वोच्चले गरिदियो फुकुवा

नेपालखबर
बैशाख ८, २०८२ सोमबार १८:३०, काठमाडौँ

दुर्गा प्रसाईँले सञ्चालन गरेका बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर र पूर्वाञ्चल क्यान्सर हस्पिटलका रोक्का राखिएका खाता सर्वोच्च अदालतले फुकुवा गरिदिएको छ।

सोमबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अस्पतालकी अप्रेसन डाइरेक्टर डा रञ्जिता कार्कीले दायर गरेका २ वटा रिटमा अन्तरिम आदेश जारी गरिदिएको हो। 

डा कार्कीले बी एन्ड सी र पूर्वाञ्चल क्यान्सर हस्पिटलका तर्फबाट छुट्टाछुट्टै निवेदन दिएकी थिइन्। 

दुवै निवेदनमा उनीहरूको मागअनुसार नै सर्वोच्चले सरकारलाई खाता रोक्का राख्नुको कारण खोली लिखित जवाफ पेस गर्न देश जारी गरेको हो।

यसअघि दुर्गा प्रसाईंको नेतृत्वमा चैत १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शन भएको थियो। उक्त प्रदर्शनमा निजी तथा सरकारी सम्पत्तिमा व्यापक आगजनी र तोडफोड भएको थियो। २ जनाको ज्यानै गएको थियो। 

उक्त घटनापछि प्रसाईं फरार भएका थिए। उनी फरार भएपछि प्रसाईं र उनले सञ्चालन गरेका अस्पतालको पनि खाता रोक्का राखिएको थियो। 

सीआईबीले खाता रोक्का गरेपछि त्यसविरुद्ध अस्पतालकै कर्मचारी सर्वोच्च पुगेका हुन्। सर्वोच्चले बिरामीको उपचार प्रभावित हुने गरी खाता रोक्का राख्न नहुने भन्दै फुकुवा गर्न आदेश दिएको हो।

तीनकुने घटनाको अनुसन्धानका क्रममा हाल जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका प्रसाईँको शंकास्पद कारोबारबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बेग्लै अनुसन्धान पनि गरिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad