दुबईबाट जहाजको एउटै सिटमा दिल्ली हुदै काठमाडौंसम्म आइपुगेका दुईमध्ये धनगढीका साथीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएर अहिले उपचार गरिरहेका छन्।
धनगढीमैं उपचाररत् उनका साथीकाे पछिल्लो अवस्था सामान्य छ।
उनीहरु दुबईबाट फ्लाई इमिरेट्सको जहाजमा दिल्लीसम्म र दिल्लीबाट विस्तारा एयरलाइन्समा काठमाडौं आइपुगेका थिए।
उनीसँगै एउटै सिटमा आएका मोरङका अर्का साथीलाई भने कोरोना संक्रमण नभएको भेटिएको छ।
सोमबार कोशी अस्पतालमा उनको खकारको नमुना लगिएकोमा आज (बुधबार) रिपोर्ट आएको छ। उक्त रिपोर्टमा कोरोना भाइरस नभएको (नेगेटिभ) देखिएको उनले बताए।
‘मलाई सिडियो (प्रमुख जिल्ला अधिकारी) र नगरपालिकाबाट डाक्टरले फोन गर्नुभयो। मेरो रिपोर्ट नेगेटिभ आएछ,’ उनले खुसी हुदै नेपालखबरसँग फोनमा भने।
मार्च २० तारिखमा दुबईबाट सँगै काठमाडौं आइपुगेका साथीलाई कोरोना संक्रमण देखिएपछि मोरङका ती ३० वर्षे युवाको पनि स्वास्थ्य परीक्षण गरिएको थियो। सँगै आएका साथीको कोरोना देखिएपछि उनी आफैले प्रमुख जिल्ला अधिकारी तथा प्रहरीलाई खबर गरेर अस्पताल पुगेका थिए।
श्रीमती तथा छोरीमा हल्का रुघाखोकी देखिएपछि अझ अत्तालिएका उनले आइसोलेसनमा बसेर आफ्नो रिपोर्ट कुरिरहेका थिए।
‘अहिले श्रीमती र छोरीको अवस्था पनि राम्रो छ,’ उनले भने।
धनगढीका साथीसँग उनले दुबईमा सँगै काम गर्थे। दुबईबाट दिल्ली र दिल्लीबाट काठमाडौं आइपुग्दासम्म दुबै जना एउटै सिटमा थिए।
चैत १५ गते परिवारसहित एम्बुलेन्समा कोशी अस्पताल लगिएका उनलाई त्यहाँबाट बैनापुर लगेर क्वारेन्टिनमा राखिएको थियो।
मार्च २० तारिखमा उनीहरुको नेपाल आउने दिन थियो। ‘फ्लाइ इमिरेट्सको जहाज (इके०५१०) दुबईबाट दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्यो। सो उडानमा १४ जना नेपाली थिए।
धनगढीका युवा र उनी सँगै थिए। तीनजना बस्ने उक्त सिटमा भारतका एकजना यात्रु पनि भएको उनले बताए। दिल्लीमा ६ घण्टा ट्रान्जिट पर्यो।
‘सँगै आएका अन्य नेपाली साथीहरु २ घण्टा अगाडि नै नेपाल एयरलाइन्सको जहाजमा काठमाडौं उडे,’ उनले नेपालखबरसँग कुरा गर्दै यसअघि भनेका थिए, ‘हामी भने ६ घण्टा कुरेर विस्तारा एयरलाइन्सको जहाजमा काठमाडौं आइपुग्यौं।’
काठमाडौं आइपुग्दा दिउँसोको झन्डै साढे चार बजिसकेको थियो। हत्तपत्त उनले सुटकेस समाए र आन्तरिक उडान कक्षमा आए। तुरुन्तै टिकट पाउन गाह्रो भयो। यात्रुको चापले आन्तरिक सबै उडानमा चाप थियो।
‘मलाई विराटनगर पुग्नुपर्छ आजै मिल्छ भने मिलाइ दिनु,’ उनले एयरलाइन्सका कर्मचारीसँग अनुरोध गरे।
अन्ततः यति एयरलाइन्सबाट विराटनगर जाने टिकट पाउन सफल भए। सँगै आएका धनगढीका साथीले टिकट पाएनन् र काठमाडौंमै बसे।
उनी दुबई बस्न थालेको पाँच वर्ष भयो। दुबईमा पनि कोरोना फैलन सक्ने भएपछि कम्पनीले ‘नेपाल फर्कने कि, दुबईको कोठामा बस्ने,’ दुई विकल्प दियो। कम्पनी बन्द हुने भएपछि ती साथीहरुले आफ्नै घर नेपाल फर्कने इच्छा व्यक्त गरे।
अझै डेढ वर्षको भिसाको अवधि छ उनीसँग। कोरोना भाइरसको संक्रमणपछि काममा फर्कन पाइनेमा ढुक्क छन् उनी।
याे पनि:
कोरोना संक्रमितसँगै आएका युवाको बयान : कसैले हेरेन, छिःछिः र दूरदूरमात्रै गरे

प्रतिक्रिया