काठमाडौँ महानगरपालिका-२०, स्थित परोपकार पुलमुनि एक पुरुष गम्भीर घाइते अवस्थामा फेला परे। गएको मंगलबार (वैशाख १६) धारिलो हतियार प्रहारबाट घाइते भएका ती पुरुषलाई तत्काल उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगियो।
बिहान साढे ११ बजेतिर घाइते अवस्थामा भेटिएका व्यक्ति काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-१० का अन्दाजी ४२ वर्षीय माइला भन्ने विक्रम तामाङ थिए। तर उनलाई ट्रमा सेन्टरले त्यही दिन साढे १२ बजेतिर मृत घोषणा गर्यो।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका टोली अनुसन्धानमा खटिए।
उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनास्थल नजिकैबाट हत्या आशंकामा एक व्यक्तिलाई नियन्त्रणमा लियो। उनलाई टेकुस्थित कार्यालयमा ल्याएर सोधपुछ गर्दा उनले आफूले हत्या गरेको स्वीकार गरे। आफूसहित तीन जना मिलेर हत्या गरेको बताएका उनले नै अरू दुई जनाको नाम पनि प्रहरीलाई बताए।
उनैले मृतकबारे पनि बताएका थिए। उनले आफूले चक्कुले हानेर हत्या गरेको बताएका थिए। प्रहरीले घटनामा प्रयोग भएको चक्कुबारे सोध्दा उनले फालिदिएको जवाफ दिए।
प्रहरीले उनले भनेका दुई व्यक्तिलाई पनि पक्राउ गरेर कार्यालयमा ल्यायो। तर उनीहरूले हत्या गरेको स्वीकार गरेनन्। सुरुमा पक्राउ परेका व्यक्तिले भने जति सोधे पनि आफैँले हत्या गरेको बताइरहे। तर पनि उनको भनाइमा प्रहरी ढुक्क हुन सकेन।
त्यसपछि प्रहरी वास्तविक हत्यारा पत्ता लगाउन खोजीमा लाग्यो। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पनि गरी नै रहेको थियो। तर उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सीसीटीभी फुटेजलगायत प्राविधिक रूपमा पुष्टि गर्ने गरी आरोपितको खोजी सुरु गर्यो।
यस क्रममा प्रहरीले बुधबार दिउँसो अर्का व्यक्ति पक्राउ गर्यो। उनले पनि आफूले हत्या गरेको स्वीकार गरेको अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए। डल्लुबाट पक्राउ परेका सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी ७ घर भई हाल काठमाडौँको डल्लु बस्ने ३२ वर्षका आशिष श्रेष्ठले नै हत्या गरेको जिसीले बताए।
उनले हत्यामा प्रयोग गरेको चक्कु पनि प्रहरीले बरामद गरेको छ। एसपी जिसीले भने, ‘पहिले पक्राउ परेका व्यक्तिले आफूले हत्या गरेको बताए पनि प्रमाणबाट उनको संलग्नता पुष्टि हुन सकेन। उनले आफूसँगै हत्यामा संलग्न रहेका व्यक्ति भनेका अरू दुई भाइले स्वीकार नगरेपछि कुरा बाझिएको थियो। त्यसपछि हामीले थप अनुसन्धान गरेर वास्तविक हत्यारा पत्ता लगाएका हौँ।’
घटना हुँदा प्रयोग भएको झोला, सर्ट, पाइन्ट, जुत्ता, कपडाको माक्स प्रहरीले बरामद गरेको छ।
हत्या आरोपमा पक्राउ परेका श्रेष्ठ जिम गर्न त्यही बाटो हिँड्थे। घटनाको केही दिनअघि पुलमुनि पिसाब फेर्दा तामाङले उनलाई हप्काएका थिए। त्यही दिनदेखि उनलाई तामाङसँग रिस उठिरहेको थियो।
साइकलमा सामान ओसार्ने तामाङ भने त्यही पुलमुनि बास बस्थे। घटनाका दिन श्रेष्ठ जिमबाट फर्कंदा तामाङ निदाइरहेका थिए। अनि आफ्नो पूर्वयोजनाअनुसार तामाङलाई चक्कु हानेको श्रेष्ठले प्रहरीसमक्ष बताएका छन्। त्यस क्रममा श्रेष्ठको हातमा पनि चोट लागेको छ। नजिकै रहेको मेडिकलमा पट्टी बाँधेर श्रेष्ठ पैसा नतिरी भागेका थिए।
तर प्रहरीले सीसीटीभी फुटेजका आधारमा पत्ता लगाई उनलाई पक्राउ गरेको थियो।
थप कारबाहीका लागि श्रेष्ठलाई जनसेवा वृत्तमा पठाइएको र आजै अदालतबाट म्याद थप गरिने वृत्त प्रमुख डीएसपी कृष्ण चन्दले नेपालखबरलाई बताए।
सोधपुछका क्रममा पक्राउ परेका तीन जनालाई भने प्रहरीले रिहा गरिदिएको छ।
Shares

प्रतिक्रिया