समाज


बुटवलमा बितेका युवककी पत्नीको प्रश्नः कोरोनाले होइन भने मृत्युकाे कारण के हाे त?

बुटवलमा बितेका युवककी पत्नीको प्रश्नः कोरोनाले होइन भने मृत्युकाे कारण के हाे त?

नेपालखबर
चैत २०, २०७६ बिहिबार ३:४८,

कोरोना संक्रमणको आशंकामा रूपन्देहीको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार गर्दागर्दै यही चैत १६ गते मृत्यु भएका एक युवकको शव परिवारले अझै जिम्मा लिन मानेकाे छैन।

जबसम्म मृत्युको कारण स्पष्ट पारिँदैन तबसम्म शव जिम्मा नलिने पीडित परिवारको अडानका कारण उनको शव ५ दिनदेखि अस्पतालमै छ।

पाल्पाको रिब्दीकोट नगरपालिका ५ स्थायी घर भई हाल रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ४ मा डेरा गरी बस्ने गरेका ३४ वर्षीय बाबुराम थापाको उपचारकै क्रममा गत आइतबार मृत्यु भएको थियो।

दुबईबाट चैत ६ गते नेपाल फर्किएका उनलाई ज्वरो र खोकी देखिएपछि चैत १३ गते बुटवलस्थित धागो कारखानामा स्थानपना गरिएको बुटवल कोरोना विशेष (अस्थायी) अस्पताल भर्ना गरिएको थियो र नमुना परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।

तर त्यसको रिपोर्ट नआउँदै अघिल्लाे दिन नै उनको मृत्यु भएको थियो।

त्यसको भालिपल्ट साेमबार मात्रै उनको स्वास्थ्यको रिपोर्ट आएको थियो। जसमा कोरोना नरहेको पुष्टि गरिएको छ।

‘त्यसो भए उहाँकाे मृत्यु के कारणले भयाे त?’

थापाकी पत्नी रीता थापाको प्रश्न छ। बिहीबार बिहान नेपालखबरले उनीसँग टेलिफोन सम्पर्क गर्दा भनिन्, ‘जबसम्म मेरा श्रीमानको मृत्युको कारणबारे सत्यतथ्य छानबिन हुँदैन, तबसम्म शव जिम्मा लिइन्न।’

आफ्ना तगडा श्रीमान् अस्पतालको लापर्बाहीका कारण मृत्यु भएको उनको आरोप छ।

‘अघिल्लो दिन शनिबारसम्म ठीक छु भनेको मान्छे, भोलिपल्टै कसरी मृत्यु भयो,’ उनको प्रश्न छ, ‘रिपोर्ट पनि मान्छे मरेपछि मात्रै किन आयो? रिपोर्टमा कोरोना देखिएन रे, त्यसो भए मेरा श्रीमानको मृत्यु के कारणले भयो त?’

थापा अस्पताल भर्ना भएकाे ४ दिनपछि मात्रै उनकाे स्वाब जाँचका लागि चैत १६ गते बिहान मात्र टेकु पठाइएको थियो भने त्यही दिउँसो बिरामी थापाको मृत्यु भएको थियो।

थापाकी पत्नी रीताका अनुसार बुटवल कोरोना अस्पतालका स्वास्थ्यकर्मी कोरोना सर्ने डरले उनका पति राखिएको कोठामा ज्वरो नाप्नसम्म छिर्थेनन्।

‘मैले सुनेअनुसार मेरो श्रीमानको ज्वरो नाप्न एकपटक पनि डाक्टर गएन,’ रीताले दुखेसो गरिन्, ‘कोरोना कोरोना भनेर अस्पतालमा हुल्ने अनि बेवास्ता गरेर मान्छे मार्ने?

आफ्ना पतिको मृत्यु के कारणले भयो त्यसको स्पष्ट छानबिन र राहतको व्यवस्था नभएसम्म शव जिम्मा नलिने उनको अडान छ।

अस्पतालले पनि अहिलेसम्म उनको मृत्युको स्पष्ट कारण दिन सकेको छैन।

अहिले थापाकाे शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। अस्पतालले शव जिम्मा लिन भने पनि परिवारले मानिरहेकाे छैन। 

सैनामैना नगरपालिका प्रमुख भन्छन्ः सहमतिको प्रयास भइरहेको छ
सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले मृतकका आफन्तले अस्वीकार गरेका कारण अझै शव बुझाउन नसकिएको बताए।

‘उहाँका आफन्तले के के भनिरहनुभएको छ,’ बिहीबार बिहान नेपालखबरसँगको टेलिफोन सम्पर्कमा नगर प्रमुख कार्कीले भने, ‘कुरो मिलिसक्या छैन, यो कुरो प्रदेश सरकारसम्म पुगेको छ। मिलाउने प्रयास जारी छ।’

अस्पतालले लापर्बाही गरेको आरोपका विषयमा बुझ्न बुटवल कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापालाई पटक पटक फोन गर्दा पनि उनको फोन उठेको छैन।

याे पनि : 

‘पतिलाई कोरोनाको हल्लाले लग्यो, अब मैले साना २ छोरा र ७० वर्षकी सासू कसरी पाल्नु?’

बुटवल कोरोना अस्पतालका डाक्टर भन्छन्ः रिपोर्ट नेगेटिभ आए पनि मृतकमा कोरोना थिएन भन्नेमा शंका छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad