प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले मानिसहरुले ८ कक्षा फेल भनेर आफ्नो श्रीमानलाई गिज्याउने गरेको भए पनि उनमा अथाह ज्ञान भएको बताएकी छिन्। शनिबार काभ्रेको धुलिखेलमा आयोजित आफ्नो आत्मकथा ‘करुणा’माथिको विमर्शम कार्यक्रममा बोल्दै उनले आफूले डबल डिग्री गरेको भए पनि केपी ओलीमा भएको ज्ञानअघि केही पनि नभएको टिप्पणी गरिन्।
‘मैले दुईवटा विषयमा मास्टर्स गरेको छु, अस्तिको शिक्षक आन्दोलनमा पनि ‘८ क्लास फेल भएको मान्छेले देश चलाउने, हामी यत्रो पढेका शिक्षक सहरमा आन्दोलन गर्नुपर्ने ?’ भन्ने सुनेँ,’ शाक्यले भनिन्, ‘म विनम्रसाथ सबैलाई के अनुरोध गर्न चाहन्छु भने दुई विषयमा मास्टर्स गरेको प्रमाणित कपी मसित छ। तर, मेरो श्रीमान् केपी ओलीमा रहेको विविध विषयको ज्ञानको अगाडि म केही पनि होइन।’
जेलमा रहेका बेला केपी ओलीले सर्टिफिकेटमा खासै ध्यान नदिएको भन्दै उनले त्यहाँ बसेर सर्टिफिकेट लिनेहरुको पनि गुरु केपी ओली भएको बताइन्। ‘उहाँको सर्टिफिकेट किन भएन तपाईंहरु सबैलाई थाहा छ,’ शाक्य भन्छिन्, ‘जेलमा भएका थुप्रैले प्रमाणपत्र लिनुभएको छ। तर, प्रमाणपत्र लिने साथीहरूको गुरु पनि जेलमा केपी ओली नै हो। उहाँले हरेक विषयमा जेलमा बसेका साथीभाइहरूलाई जानेको कुरा सिकाइदिनुहुन्थ्यो।’
ओलीले सबैलाई पढ्नुपर्छ भनेर प्रेरणा पनि दिने गरेको भन्दै उनी भन्छिन्,‘उहाँले सबैलाई पढ्नुपर्छ भनेर प्रेरणा पनि दिनुहुन्छ। तर, उहाँले प्रमाणपत्र लिने काम किन गर्नुभएन भने प्रमाणपत्र लिएर कुनै संस्थाको हाकिम बनुँला भन्ने थिएन। एउटा त जेलबाट छुटिन्छ कि छुटिन्न भन्ने नै टुंगो थिएन र छुटिहाले पनि हाकिम भएर राम्रो जिन्दगी बाँच्ने कहिले पनि सोच्नुभएन भन्ने लाग्छ। उहाँको दिमागमा जेलमा बस्दा होस् जेलबाट बाहिर आएपछि होस्, जुनसुकै बेलामा पनि देश र जनताबाहेक अरु केही पनि भएको मैले महसुस गरिनँ।’
अहिलेको सामाजिक सञ्जालमा नकरात्मकता धेरै रहेको र केपी ओलीलाई नै धेरै गाली गरिने गरेको भन्दै त्यसले कुनै फरक नपार्ने शाक्यले जिकिर गरेकी छिन्। ‘आजको जमानामा सामाजिक सञ्जालले हामीलाई नकारात्मकतातिर डोहोर्याइरहेको अवस्था छ,’ उनको भनाइ छ, ‘त्यो डोहोर्याइको करिब–करिब धेरै भाग त केपी सरलाई गाली गर्नमा नै छ जस्तो लाग्छ। तर, त्यो गाली गरेर हामीलाई त केही पनि हुने वाला छैन।’

केपी ओलीलाई गिज्याउनेहरुले आफ्नै खुट्टामा बन्चरो हानेको उनको मत छ। शाक्य भन्छिन्, ‘जो–जो मान्छेले आज केपी ओलीलाई गिज्याउन र केपी ओलीलाई गाली गर्न पाएँ भनेर खुशी भइराख्नु भएको छ, आखिरमा उहाँहरूकै भविष्य अन्धकार हुन्छ । उहाँहरूले आफ्नै खुट्टामा बन्चरो आफैँले हान्दै हुनुहुन्छ र आफ्नो सन्तान दरसन्तानको भविष्य अन्धकार बनाउँदै हुनुहुन्छ भन्ने मेरो निष्कर्ष छ।’
मान्छेहरु एकोहोरो भएर लाग्ने गरेको र गलत र सही केही पनि नछुट्याउने गरेको भन्दै उनले दुःख पनि मानेकी छिन्। ‘मान्छेहरू कति एकोहोरो भएका हुन्, सही के हो, गलत के हो थाहा छैन,’ शाक्य भन्छिन्, ‘हाहा र हुहुमा जीवन बिताइरहेका छन्। यसले त आफ्नै जीवन बर्बाद पार्ने हो। आजका युवाको यो प्रवृतिले भोलि हाम्रो देश कस्तो होला?’
Shares

प्रतिक्रिया