समाज


स्वयम्भू आसपासका सम्पदास्थलमा रङरोगन सम्पन्न

स्वयम्भू आसपासका सम्पदास्थलमा रङरोगन सम्पन्न

नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार २१:२६, काठमाडौँ

विश्व सम्पदा क्षेत्रमा सूचीकृत स्वयम्भू महाचैत्य तथा आसपासका सम्पदास्थलमा सरसफाइ तथा रङरोगन गरिएको छ। यस वर्षको २५६९औँ बुद्धजयन्तीका अवसर पारेर ती सम्पदास्थलमा रङरोगन गरिएको हो।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्थानीयवासी, विभिन्न सङ्घसंस्थाहरूको समन्वयमा उक्त क्षेत्रमा सरसफाइ गरी फोहर व्यावस्थापन गरेको छ। यही वैशाख २९ गते बुद्धजयन्तीका दिन विश्व शान्ति तथा मानव कल्याणको कामनासहित थेरवाद, महायान र बज्रयान गरी तीनै बौद्ध सम्प्रदायका गुरुहरूबाट बुद्ध पूजा गरिने छ।

बुद्धका उपदेशलाई सामूहिक वाचन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा शान्तिको सन्देश प्रवाह गरिने जनाइएको छ। बौद्ध ग्रन्थहरूको गरिने पाठले सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास गरिन्छ। बौद्ध साहित्यमा तीन सम्प्रदायलाई त्रियान पनि भनिन्छ।

सम्पूर्ण मानव तथा प्राणीहरूको कल्याणका लागि बुद्धको शिक्षा उपयोगी रहेकाले उक्त सन्देश विश्वभर प्रवर्द्धन गर्न स्वयम्भू विकास मण्डलको उत्तरपट्टि बुद्ध जीवनी प्रदर्शन गरिने महासमिति सदस्य राजुकुमार लामाले जानकारी दिए। विसं २०७२ मा भूकम्पले त्यस क्षेत्रका सम्पदामा पुर्याएका क्षतिग्रस्त संरचनाको जीर्णोद्धार गरी महासमितिले सोही दिन ऐतिहासिक तथा पुरातात्विक महत्वका फोटो प्रदर्शनी गर्ने जनाएको छ।

स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा लाग्ने स्थानीय जात्रा पर्व, संस्कृतिको संरक्षण गर्दै आएको महासमितिले वैशाख पूर्णिमा मेलालाई व्यवस्थित गर्न योजना बनाएको महासमिति सचिव चन्द्ररत्न बुद्धाचार्यले बताए।

महासमितिले २५६९औँ बुद्धजयन्ती व्यवस्थापन मूल समारोह समिति गठन गरेको छ। उक्त समितिमा पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका–१५, महानगरीय प्रहरी प्रभाग स्वयम्भू, स्थानीय धार्मिक सङ्घसंस्थालगायत प्रतिनिधि छन्।

बुद्ध जयन्तीका दिन पूजा गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहबाट आउने धर्मावलम्बीका सहजताका लागि बिहान ४ः०० बजेदेखि दर्शन तथा पूजाको व्यवस्था मिलाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad