हावाहुरीसहितको पानीले उच्च अदालत पोखराको सुनुवाइ प्रभावित भएको छ।
दि फूलबारी लिमिटेडले मालपोत कार्यालयसमेतविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ भइरहँदा अचानक हावाहुरीसहितको पानी परेर सुनुवाइ प्रभावित भएको अदालतले जानकारी दिएको छ।
'सुनुवाइ भइरहेको प्रस्तुत मुद्दामा अचानक हावाहुरीसहितको पानी परी इजलासमा नै पानी पर्न गई सुनुवाइ प्रभावित हुन गएको हुनाले प्रस्तुत मुद्दा र बाँकी अन्य मुद्दाहरूसमेत पेसीबाट हटाइएको छ,' मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मेरिना श्रेष्ठको संयुक्त इजलासले आदेशमा उल्लेख गरेको छ।
त्यसैगरी अर्को इजलासबाट पनि सुनुवाइ स्थगित गरी न्यायाधीश तथा सेवाग्राही भागाभाग गर्नुपरेको थियो।
मुख्यन्यायाधीश डा बागचन्दका अनुसार दिउँसो २:३० बजे खाजा समयपछि आएको हावाहुरीले सुनुवाइ प्रभावित भएको हो।
'असिना पानीसहितको हावाहुरीले इजलास बस्ने अवस्थै भएन। इजलास बन्द गर्नुपर्ने अवस्था आयो,' उनले नेपालखबरसँग भने, 'एक नम्बर र दुई नम्बर इजलास दुवै प्रभावित भयो। इजलासका कागजात भिजाउने अवस्था भयो। त्यसलाई अन्त सार्ने काम भयो। कारपेटदेखि सबै भिजायो। केही सामान टेबलमाथि राखेर त्यहीँ प्लास्टिकले ढाकियो।'
उनले पोखरा उच्च अदालतको भवन पुरानो र कमजोर संरचनाको भएको गुनासो गरे।
'टिनको छानो, झ्याल पनि पुरानो। कमजोर संरचना छ,' उनले थप भने, 'पोखरा जस्तो ठाउँमा नयाँ भवन बन्नुपर्ने हो सय वर्षलाई पुग्नेगरी। पानी नपर्दा त ठिकै छ। पानी पर्दा समस्या हुन्छ।'

Shares

प्रतिक्रिया