समाज


पठन संस्कृतिको विकास कसरी गर्ने? युलेन्सको ‘पहिलो राष्ट्रिय पठन सम्मेलन’ले यसो भन्छ

पठन संस्कृतिको विकास कसरी गर्ने? युलेन्सको ‘पहिलो राष्ट्रिय पठन सम्मेलन’ले यसो भन्छ

तस्बिरहरू : सरोज नेपाल


नेपालखबर
जेठ ४, २०८२ आइतबार १:१, काठमाडौँ

बालबालिकामा पढ्ने बानीको विकास कसरी गर्ने? यो आम अभिभावक तथा शिक्षकको चासोको विषय हो। बालबालिकाको पढाइमा लगाव  बढाउन उचित वातावरण हुनु पर्छ। जुन घर तथा स्कुल दुवैमा चाहिन्छ।

अझ भन्नुपर्दा घरदेखि माथि उठेर छरछिमेक र समाजले पनि यी कुरालाई प्रभावित गरिरहेका हुन्छन्।

बालबालिकालाई स्कुलमा पाठ्यपुस्तक केन्द्रित गराउनु पर्छ वा पाठ्यपुस्तकभन्दा बाहिरका पुस्तक पनि पढाएर उनीहरूको पठन संस्कृतिको विकास गराउनु पर्छ?

यसो गर्दा उनीहरूको पढाइमा बल पुग्छ वा झन् बरालिएर बिग्रने अवस्था आउँछ?

बालबालिकाको पढाइ भन्नेबित्तिकै सर्वप्रथम विद्यालय तहको शिक्षालाई बुझिन्छ। हाम्रो देशमा हाल यो तह १२ कक्षासम्मलाई मानिएको छ। १२ कक्षा पुग्नुअघि कक्षा १० मा एसईई परीक्षा हुन्छ जसले राष्ट्रिय रूपमै चर्चा परिचर्चा पाइरहेको हुन्छ।

यतिसम्मकी एसईईमा कति विद्यार्थीले कस्तो नतिजा ल्याए भन्ने मानकले आगामी वर्षका शैक्षणिक नीतिलाई मार्गनिर्देशन गरिरहेका हुन्छन्।

यो भनेको नतिजामुखी शिक्षा पद्धति छ हाम्रो देशमा भन्दा अत्युक्ति हुँदैन। यस्तो अवस्थामा विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरका पुस्तक पढाउनु कत्तिको सान्दर्भिक हुन्छ त?

यस्तो अभ्यासले उनीहरूको परीक्षा नतिजा कस्तो हुन्छ? वा, यसले भविष्यमा उनीहरूको जीवनलाई मार्गनिर्देश गर्न सहयोग गरिरहेका हुन्छन्?

यही विषयमा यहाँ चर्चा गर्न खोजिएको छ। चर्चाको चुरो ‘पठन संस्कृतिको विकास’ हो। र, यो चुरोलाई खोतल्ने काम गरेको छ शनिबार ललितपुरको युलेन्स स्कुलमा आयोजित ‘पहिलो राष्ट्रिय पठन सम्मेलन’ले। शनिबार सुरु भएको सम्मेलन आइतबारसम्म चल्नेछ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त प्रमुख अतिथि रहेको आइतबारको छलफलमा समाजशास्त्री प्रा.डा. चैतन्य मिश्रले पठन संस्कृतिका मुख्य मुद्दाबारे उजागर गरेका थिए भने काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसनका डीन प्रा.डा. बालचन्द्र लुइँटेलले पठनको विकास, प्रभाव र भविष्य विषयमा अवधारणा प्रस्तुत गरेका थिए।

यस्तै, साहित्यलाई विद्यालय पाठ्यक्रममा समावेश, ठूलो स्वरमा पढ्नु तथा अन्तरक्रियात्मक पढाइको महत्त्व, विद्यालयमा विज्ञान कथा, पढाइमा ध्यान, प्रारम्भिक वर्षमा पठन संस्कृतिको विकास, कक्षाकोठामा कथन वाचन जस्ता विषयमा वक्ताहरूले आ-आफ्ना धारणा राखेका थिए।

यसैगरी, आजको सम्मेलनमा अर्को आकर्षण थियो– काठमाडौँ मेडिकल कलेज, न्युरोसर्जरीका प्राध्यापक डा. अमित थापाको प्रस्तुति ‘स्नायुसम्बन्धी दृष्टिकोणमा पुस्तक पठनको बानी’।

एउटा डाक्टरले कुनै बिरामीको शल्यक्रिया गर्नुअघि आफ्नो दिमागमा त्यसलाई ६ पटकसम्म शल्यक्रिया गरेर मात्र बिरामीकोमा जाने गरेको अनुभवसँग उनले पठन संस्कृतिको प्रभावकारितालाई तुलना गरेका थिए।

शनिबारको अन्तिम सेसन भने प्यानल छलफल थियो। जहाँ वक्ताहरूले ‘विद्यालयमा पठन संस्कृतिको विकास : वर्तमान परिदृश्य र भविष्यको मार्गचित्र’ बारे बहस गरेका थिए।

लेखक आन्विका गिरीले सञ्चालन गरेको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा, युलेन्स एजुकेसन फाउन्डेसनका प्रमुख शैक्षिक अधिकृत मेदिन लामिछाने, रुम टु रिडका साक्षरता निर्देशक नेत्र दाहाल, प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान)का अध्यक्ष सुदाम गौतम सहभागी थिए।

पढ्ने बानीलाई कसरी विकसित गर्ने भन्ने विषयमा केन्द्रित छलफलमा सुदाम गौतम शिक्षा प्रतिस्पर्धाबाट भन्दा सहकार्यबाट गर्दा नतिजा उत्कृष्ट रहने धारणा अघि सारे। यस्तै अभिभावक, शिक्षकमा पढ्ने बानीको विकास भइदिँदा सहजै त्यो बानी विद्यार्थीमा सार्न सकिने उनी लगायत अन्य सहभागीको धारणा थियो।

यस्तै मेदिन लामिछानेले आफूले पढेका कुरा कक्षाकोठामा कहाँनेर विद्यार्थीसँग जोड्न सक्छु भनेर पुस्तक छानेर पढ्ने गरेको अनुभव सुनाए।

यसैगरी युलेन्स स्कुलले पठन संस्कृतिलाई वृद्धि गर्न कक्षालाई पाठ्यपुस्तकभित्र मात्र सीमित नगर्ने गरेको उनको भनाइ थियो। देशका अधिकांश विद्यालयमा कक्षाकोठालाई पाठ्यपुस्तकमा मात्र सीमित गर्ने परिपाटी रहेको सन्दर्भमा युलेन्सले भने परीक्षाको तयारी नै नगर्ने भएको हुँदा पाठ्यपुस्तकमा मात्र सीमित बन्न नपरेको उनले अनुभव सुनाए। यसले गर्दा बाहिरी पुस्तक पनि पढ्न विद्यार्थीलाई प्रोत्साहन गर्ने गरेको उनको भनाइ थियो।

पाठ्यपुस्तक नै पढ्न मात्र पनि बालबालिकालाई धौ धौ पर्ने अधिकांशको भोगाइमा पढ्ने बानीको विकास गरिदिने हो भने आज नभए भोलि उसमा अवश्य नै त्यो बानी बस्ने भन्दै उनले आफ्नै एउटा अनुभव सुनाए, ‘मेरो छोरोले ८ कक्षामा पढ्दासम्म कुनै पनि पुस्तक पूरे पढेन। प्रिन्सिपलकै छोराले पढ्दैन भन्ने गुनासा पनि आए स्कुलमा। तर, मैले उसलाई किन पढिनस् भनेर कहिल्यै दबाब दिइनँ। टेबल प्रशस्त किताब हुन्थे उसले पढोस् नपढोस् मैले चाहिँ पढ्न छोडिनँ। यो देख्दादेख्दा उसमा पनि ९ कक्षापछि भने पढ्ने चाहना बढ्यो। उसको पुस्तकप्रतिको लगाव बढ्यो। उसमा पठन संस्कृतिको विकास गर्न मलाई ८/१० वर्ष लाग्यो।’

उनको यो भनाइ धैर्यताप्रति लक्षित थियो। कुनै पनि उपलब्धि हासिल गर्न धैर्यता आवश्यक हुनुपर्ने उनको संकेत थियो। साथै, अभिभावकमा पनि पठन संस्कृति भएमा बालबालिकाले त्यसलाई पछ्याउने उनको सन्देश रह्यो।

‘अहिले त यस्तो छ कि मैले भर्खर थाहा पाएर बजारमा आएको पठनयोग्य पुस्तकबारे बताउँदा उसले त तीन महिनाअघि नै पढिसकेको हुँदो रहेछ,’ यसै प्रसंगमा उनले थपे, ‘यो त्यही संस्कृतिले दिएको देन हो जुन स्कुल पढ्दा दिइएको थियो।’

यसरी पुस्तकहरू छान्ने क्रममा विद्यार्थीको उमेर समूह र उनीहरूको स्तरलाई पनि ख्याल गरिनु अर्को महत्त्वपूर्ण पाटो रहेको उनको भनाइ थियो।

रुम टु रिडका निर्देशक दाहाल पठन संस्कृतिको विकासका लागि सर्वप्रथम त विद्यालयकै संस्कृति कस्तो छ भनेर प्रश्न गर्छन्। ‘पठन संस्कृतिको विकास त भनियो तर त्यसको उपलब्धता कस्तो छ त?’ उनी प्रश्न गर्छन्, ‘शिक्षण तालिमले यसरी पढ्नु पर्छ भन्ने कुरा दिएको छ त? पुस्तकालयको उपयोग भएको छ?’

बालबालिकाले बिताउने अधिकांश समयको वातावरण कस्तो बनाइएको छ भन्ने कुराले पनि यसमा भर पर्ने उनले बताए। विद्यालयका पुस्तकालय अनुपयोगी भए भन्ने भनाइतर्फ इंगित गर्दै उनी भन्छन्, ‘पढ्ने बानी नै रहेनछ अनि पुस्तकालयको उपयोग हुन्छ?’

शिक्षा मन्त्रालयका सहसचिव सापकोटा भने विद्यार्थीलाई पठन संस्कृतिको विकास गराउने सम्पूर्ण अधिकार विद्यालयमा निहित रहेको बताउँछन्। यसअघि एकल पाठ्यपुस्तक अल्झिएको शिक्षा प्रणाली अहिले भने बहुपाठ्यपुस्तकमा गइसकेको उनले सम्झाए।

डिजिटल सिकाइ स्रोतलाई महत्त्व दिने खालका पाठ्यक्रम पनि बनाइएको उनले बताए। यसकारण पाठ्यक्रममा आधारित रहेर कस्तो पाठ्यपुस्तक पढाउने भन्ने सम्पूर्ण अधिकार शिक्षकलाई दिइएको भन्दै उनले शिक्षकले चाहे पठन संस्कृतिको विकास गर्न सक्ने बताए।

सरकारले एसईईको नतिजालाई हरेक वर्ष किन यति धेरै गम्भीरतापूर्वक लिएको? यसबाट सरकारले पाठ्यक्रमकै नतिजालाई महत्त्व दिएको देखिन्छ, यसले पाठ्यक्रमभन्दा बाहिरका पुस्तक पढ्ने संस्कृति विकास गर्छ त? भन्ने कार्यक्रम सञ्चालकको प्रश्नमा सहसचिव सापकोटा भन्छन्, ‘विद्यालय तह भनेको १७ वर्षसम्मका बालबालिकालाई शिक्षा प्रदान गर्ने एउटा क्षेत्र हो। १७ वर्षसम्मको उमेर समूहलाई कहाँ लिएर जाने भन्ने एउटा गम्भीर कुरा हो। कक्षाकोठाभित्र पढाइने विषयवस्तुले उसको ज्ञान, सीप र क्षमता वृद्धि गर्नु पर्छ। र, यो वृद्धिको प्रतिफल नतिजामा देखिनुपर्छ। नतिजा देखिने भनेपछि अमूर्त कुरा गरेर हुँदैन। नतिजा भनेको उसले मार्कसिटमा ल्याएको स्कोर र व्यवहारमा देखिने परिवर्तन हो। स्कुलमा पढाइको कुरा गर्दा त्यहाँ जहिले पनि नतिजा जोडिएकै हुन्छ।’

उनी अगाडि थप्छन्, ‘पढाइ भनेको जहिले पनि निश्चित उद्देश्यका लागि हुन्छ। एउटा सिकाइको अवधारणा दिनको लागि त्यसमा जोडिएका राम्रा कुरा उत्खनन गर्नुपर्‍यो। तर, बुझ्नुपर्ने के हो भने हामीले विद्यार्थीलाई पढाइको लागि प्रोत्साहित गर्दाखेरी त्यो पढाइले उनीहरूको उज्ज्वल भविष्यका लागि मार्गनिर्देश गर्नु पर्छ। यसका लागि उसले कति दर्जन पुस्तक पढ्यो भन्ने कुरा वा उसले कति स्कोर ल्यायो भन्ने कुरा उसको नतिजामै गएर जोडिन्छ।’

पाठ्यक्रम बाहिरक पुस्तक पठन संस्कृति विकासका सन्दर्भमा भने विद्यालय तहमा पढाइने पाठ्यक्रममा सीमितता हुनैपर्ने सहसचिव सापकोटाको निचोड रह्यो।

बाहिरी पुस्तक पढ्ने नाममा विद्यार्थीलाई नकारात्मक असर पर्ने खालका पुस्तकले ल्याउने समस्याको जिम्मेवारी कसले लिने भन्ने उनको प्रश्न थियो। यस्तो अवस्थामा बाहिरी पुस्तक सान्दर्भिक हुन नसक्नेतर्फ उनको संकेत थियो।

‘पाठ्यक्रम बाहिरका पुस्तकले विद्यार्थीलाई आउट अफ ट्रयाक लग्यो भने त्यसको जिम्मेवारी कसले लिन्छ? यदि कुनै नियममा बाँधिएर काम गरिएको छ भने त्यो जिम्मा कसैले लिइरहेको हुन्छ। तर यदि विद्यालय वा शिक्षकले विद्यार्थीको लागि बहुपुस्तक अफर गर्छ र त्यसले विद्यार्थीको मनोविज्ञानमा फरक पर्‍यो भने त्यसको जिम्मेवारी पनि लिनुपर्ने हुन्छ। यो निकै जोखिमपूर्ण हुन्छ,’ सापकोटा प्रस्टयाउँछन्, ‘यो भएको कारणले नै कानुनले के भन्छ भने विद्यार्थीको मनोविज्ञानलाई असर नपर्ने खालको सामग्री विद्यालयमा पठनपाठन गर्ने प्रबन्ध गर्नु पर्छ। यही सिद्धान्तबाट पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री, सन्दर्भ सामग्री स्वीकृत हुनु पर्छ, यसको जिम्मेवारी कसै न कसैले लिनु पर्छ भनिएको हो।’ 

यति भन्दाभन्दै उनले सरकारले यति मात्र पाठ्यपुस्तक पढाउनुपर्छ भनेर बाँधेर भने नराखेको बताए। विद्यार्थीको पठन स्वतन्त्रतालाई सम्बोधन गर्नका लागि यति मात्र किताब स्वीकृत गर्ने भनेर सरकारले नभनेको उनको कथन थियो। डिजिटल स्रोत सामग्रीमा शिक्षा प्रणाली गइसकेकोले राम्रा कुरा त्यहाँबाट लिन सकिने उनले बताए।

शनिबार यी लगायतका विषयवस्तुमा टुंगिएको छलफल आइतबार पनि बिहान ८ बजेदेखि नयाँ वक्ताहरूसहित सञ्चालन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad