समाज


टेकु अस्पतालका डा.पुन भन्छन्ः अब पनि हेलचक्र्याइँ गर्‍याैँ भने हामीले भोग्ने इटालीकै अवस्था हो

टेकु अस्पतालका डा.पुन भन्छन्ः अब पनि हेलचक्र्याइँ गर्‍याैँ भने हामीले भोग्ने इटालीकै अवस्था हो

नेपालखबर
चैत २३, २०७६ आइतबार १:४१,

नेपालमा कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा पुगेको छ। अर्थात् भाइरस पहिलोपटक स्थानीय बासिन्दामा सरेको छ।

कैलालीमा कोरोना संक्रमित एक व्यक्तिको परिवारका सदस्यलाई पनि संक्रमण सरेको पुष्टि भएपछि यो महामारी दोस्रो चरणमा प्रवेश गरेको हो।

अब स्थिति गम्भीर बनेको हो?

आइतबार बिहान नेपालखबरले गरेको यो प्रश्नमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ चिकित्सक (क्लिनिकल रिसर्च युनिट संयोजक) डा. शेरबहादुर पुनले भनेः

संकेत गम्भीर अवस्थाकै हो, तर एकदमै गम्भीर अझै भएको छैन अर्थात् कोरोना महामारी रोक्न अझै समय छ हामीलाई।

अहिले यो संक्रमण स्थानीय व्यक्तिमा सरेको छ। जसलाई सेकेन्ड स्टेज (दोस्रो चरण) भन्छौं हामी। यो सम्भावना मैले पहिले देखेको थिएँ र भनेको पनि थिएँ- विदेशबाट भित्रिनेको व्यापक निगरानी गरौं र एक/एकलाई क्वारेन्टिनमा राखेर नमुना परीक्षण गरौं।

विमानस्थलबाट आएका यात्रुको त अलि निगरानी हुन्थ्यो, तर जब स्थलमार्ग भएर खासगरी भारतबाट व्यापक मात्रामा नेपाल भित्रिनेहरूको निगरानी हुन सकेन। त्यसकारण यसमा विशेषगरी स्थानीय तह सचेत हुनुपर्थ्याे/हुनुपर्छ। किनकि काे कहाँबाट भित्रियाे भन्ने जानकारी स्थानीय सरकारलाई बढी हुन्छ।

सबै मानिस त इमान्दार हुँदैनन्। ९५ प्रतिशत इमान्दार भए पनि सबै त इमान्दार हुँदैनन् कि जसले आफू विदेशबाट आएपछि इमान्दारीपूर्वक जानकारी गराउन् र क्वारेन्टिनमा बसुन्। त्यसैले मैले भनेको थिएँ- जति पनि विदेशबाट आउँछन्, तिनलाई १४ दिन क्वारेन्टिनमा राख्ने र एक एक परीक्षण गर्ने। त्यसो हुन नसक्दा आज यस्तो स्थिति आएको हो।

जाे इमान्दार थिए, उनीहरु विदेशबाट आएपछि इमान्दारीपूर्वक क्वारेन्टिनमा बसे, अस्पताल गए र उपचार गराए। तर संसारमा सबै मानिस इमान्दार हुँदैनन्। त्यसैकारण सरकारी तहबाट पनि निगरानी कडा  पारिनुपर्थ्याे/पारिनुपर्छ। 

अझै पनि बितिसकेको छैन। तर अब पनि ढिला गर्‍यौ‌ँ भने हामीले पनि चीन र इटालीले भोगेको पीडा भोग्ने स्थिति नआउला भन्न सकिन्न। महामारीले दोस्रो चरण पनि पार गर्‍यो भने के हुन्छ त्यो चीन, इटालीले भोगेको पीडा हामी सबैलाई थाहै छ। 

(कोरोना भाइरसको संक्रमणका कारण विश्वमा सबैभन्दा बढी इटालीमा १५ हजार ३ सय ६२ जनाको मृत्यु भइसकेको छ।)

त्यसैले अब १ मिनेट पनि ढिला नगरी जहाँ स्थानीय व्यक्तिमा संक्रमण सरेको पुष्टि भएको छ त्यस ठाउँलाई तुरुन्त सिल गरी परीक्षणलाई व्यापक बनाउनुपर्छ।

कैलालीमा कोरोना संक्रमित युवाबाट जो स्थानीय महिलालाई संक्रमण सर्‍याे, ती महिला कहाँ-कहाँ गएकी थिइन्, को-कोसँग सम्पर्क गरेकी थिइन्, त्यो तुरुन्त पत्ता लगाएर क्वारेन्टिन र परीक्षणलाई द्रुत बनाउनुपर्छ। 

(यही स्थितिलाई विचार गरेर सरकारले शनिबारदेखि लकडाउनलाई कडा बनाएको छ। एक स्थानीय तहबाट अर्काेमा पनि आवतजावत गर्न नपाइने सरकारले जनाएको छ। साथै स्थानीय व्यक्तिमा संक्रमण फैलिएको कैलालीका साथै कञ्चनपुर र बागलुङ तीन जिल्लामा परीक्षण व्यापक बनाउने निर्णय गरिसकेको छ।)

अहिले एक व्यक्तिबाट अर्काे व्यक्तिमा सरेको छ, अब एक गाउँ वा समुदायबाट अर्काे गाउँ वा समुदायमा यो संक्रमण फैलिनबाट रोक्न तुरुन्त लाग्न जरुरी छ। अझै पनि ढिलासुस्ती गर्ने, बैठकमै एक/दुई दिन बिताउने गरियो भनेचाहिँ स्थिति भयावह हुने संकेततिर उन्मुख छ।

तसर्थ केन्द्रीय अर्थात् स्थानीय सरकारले, म त भन्छु- अझ यसमा स्थानीय सरकार बढी जानकार हुन्छ, उसले तुरुन्त एक्सनमा जान जरुरी छ।

अब हामीले रणनीति परिवर्तन गर्न जरुरी छ। नयाँ योजना बनाउनुपर्छ मात्र होइन कि तुरुन्तै लागू गर्नुपर्छ।

जुन गाउँमा संक्रमण भएका व्यक्ति छन्, ती गाउँका कसैलाई पनि रुघाखोकी लागेको छ भने तुरुन्तै उसलाई क्वारेन्टिनमा राखेर परीक्षण गर्नुपर्छ। उसलाई फुत्किन दिन हुँदैन।

अब पनि ढिलासुस्ती, हेलचक्र्याइँ गर्‍याैँ र काेराेना भाइरस एक सुमदाय/गाउँबाट अर्काेमा सार्‍याैँ भने स्थिति भयावह हुनेछ।

(शनिबारसम्म नेपालमा कोरोना भाइरसबाट ९ जना संक्रमित भएका छन् भने कसैको मुत्यु भएको छैन।)

याे पनि:  
विदेशबाट आएकालाई अब खोजीखोजी परीक्षण गर्नुपर्छ : डा. शेरबहादुर पुन (अन्तर्वार्ता)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad