अमेरिकामा विभिन्न तरिकाले बसोबास गरिरहेका नेपाली मूलका अमेरिकी तथा नेपाली भाषी पनि कोरोना भाइरस (कोभिड-१९) को चपेटामा परेका छन्।
अहिलेसम्म नेपाली मूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट संक्रमित भएको जनाइएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष तथा चिकित्सक डा. केशव पौडेलका अनुसार अमेरिकामा करिब ५०० नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन्। तीमध्ये आधाभन्दा बढी अपस्ताल भर्ना नभई सेल्फ क्वारेन्टिनमा छन्। कोरोनाका कारण न्युयोर्क निवासी अनिल लिम्बूको गत साता निधन भएको हाे।
तर यसको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। अमेरिकामा रहेका नेपाली कति संक्रमित भएका छन् भन्नेबारे आधिकारिक रूपमा बताउन कसैले सकेका छैनन्।
अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न भन्दै विभिन्न टेलिफोन नम्बर दिएको छ भने दूतावासको वेबसाइटमा एउटा फर्मसमेत राखिएको छ।
रासस (राष्ट्रिय समाचार समिति) सँगकाे कुराकानीमा अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीले अमेरिकामा पर्यटन वा अन्य प्रयोजनका लागि भ्रमणमा आएका नेपालीलाई विषम परिस्थितिमा उत्पन्न समस्या र भिसालगायतको विषयमा सम्बोधनका लागि अमेरिकी सरकारसमक्ष आवश्यक प्रक्रियाका लागि कूटनीतिक पत्राचार गरेको बताएका छन्।
अमेरिका भ्रमणमा रहेका कतिपय नेपालीको भिसाको म्याद सकिएको र उनीहरूमा ‘ओभरस्टे’ हुने हो कि भन्ने आशंका छ। अमेरिकाको राज्यसभाको विधायकमा निर्वाचित ह्यारी भण्डारीले नेपाली भाषी अमेरिकीको सहयोगका लागि आफ्नो कार्यालयले विभिन्न कार्यक्रम गरेको बताए।
भण्डारीले आफ्ना विभिन्न माध्यम तथा स्थानीय नेपाली समुदायसँगको परामर्शका आधारमा दैनिक रूपमा नेपाली भाषी कोरोनाबाट संक्रमित भएको रिपोर्ट आएको बताए।
आफ्नो कार्यालयले नेपाली भाषीका लागि बेरोजगार घोषणा गर्ने फर्म तथा व्यवसायमा आधारित कर्जा तथा कतिपय व्यक्तिको संक्रमण परीक्षणका लागि सहयोग गरेको उनले जानकारी दिए। भण्डारीले मेरिल्यान्ड जनरल एसेम्बलीमा हेल्थ एन्ड गभर्नमेन्ट अपरेसन कमिटीको सदस्यका रूपमा समेत काम गरिरहेका छन्।
अमेरिकाका न्यूयोर्क, क्यालिफोर्निया, न्युजर्सी, पेन्सलभेनिया, टेक्सासलगायत स्थानमा नेपालीको बढी बसोबास छ। यसैगरी मेरिल्यान्ड, न्युह्याम्पसायर, कनेक्टिकट, भर्जिनिया, नर्थ क्यारोलिना, कोलोराडो वासिङ्टन इलोनोइजमा पनि नेपालीको बसोबास छ।
अमेरिकाका ५० वटै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको छ। मुख्य रूपमा न्युयोर्कमा यसको संक्रमण व्यापक भएको छ। न्युयोर्कमा मात्र करिब ४० हजार नेपाली बसोबास गर्ने गरेको अनौपचारिक तथ्यांक छ।
संघीय सरकारले स्वास्थ्य बिमा नभएकाहरूको पनि उपचार गर्ने र राहत प्याकेजअन्तर्गत प्रतिव्यक्ति १२ सय डलर उपलब्ध गराउने भएकाले धेरै आत्तिन नपर्ने भण्डारीको भनाइ छ।
याे पनि :

प्रतिक्रिया