काठमाडौं—राष्ट्रपति भवन शीतल निवासमा २०७७ वैशाख १ गते गर्ने भनेर तय भएको विभूषण सुशोभन कार्यक्रम सो मितिमा नहुने भएको छ। कोरोना भाइरस (कोभिड—१९) का कारण सिर्जना भएको प्रतिकूल परिस्थितिका कारण पूर्वनिर्धारित समारोह स्थगित गरिएको गृह मन्त्रालयले जनाएको हो।
गृह मन्त्रालय अन्तर्गत रहेको विभूषण समितिले सिफारिश गरेका व्यक्तिहरुलाई राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने चलन छ। चैत २१ गते बसेको समिति बैठकले ८ दिन पछि हुने समारोह स्थगनको निर्णय गरेको हो।
‘२०७७ साल वैशाख १ गते राष्ट्रपति कार्यालयमा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुने भनिएको विभूषण सुशोभन कार्यक्रम हाल विश्वभर महामारीको रुपमा फैलिइरहेको नोबल कोरोना भाइरस (कोभिड—१९) का कारण सिर्जित विषम परिस्थितिका कारण स्थगित गरिने भएको छ’, गृहसचिव महेश्वर न्यौपानेद्वारा विज्ञप्तिमा भनिएको छ,‘सो कार्यक्रम पछि उपयुक्त समयमा आयोजना गरिनेछ।’
२०७६ असोज ३ गते संविधान दिवसको दिन यो वर्ष विभूषण प्रदान गर्ने व्यक्तिहरूको नामावली अन्तिम रुप दिइएको थियो।

प्रतिक्रिया