समाज


मिर्गौला बिरामीमा लकडाउन असरः २ छोरीको अनुरोध, आमाको नियमित डायलासिस गराउन पाउँ

मिर्गौला बिरामीमा लकडाउन असरः २ छोरीको अनुरोध, आमाको नियमित डायलासिस गराउन पाउँ

नेपालखबर
चैत २३, २०७६ आइतबार ९:१६,

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनका कारण मिर्गौलाका बिरामीहरु थप पीडित भएका छन्।

ललितपुरको निदान अस्पतालस्थित आरध्य फाउन्डेसनमा विगत केहि वर्षदेखि डायलासिस गराइरहेकी अमिता अधिकारीले लकडाउन सुरु भएपछि नियमित डायलासिस समेत गर्न नपाएको र त्यसका कारण उनले थप कठिनाई भोग्नुपरेको उनको परिवारका सदस्यहरुले बताएका छन्।

आफ्नी आमा नियमित डायलासिसबाट समेत बन्चित भएपछि अमेरिकामा रहेका उनका छोरीहरुले सामाजिक सञ्जालमा सार्वजनिकरुपमैं सहयोगको आग्रह गरेका छन्।

स्वेता र स्वाती अधिकारीको नामबाट ट्विटर र फेसबुबमा राखिएको सार्वजनिक अपिलमा उनीहरुले एक हप्तामा ३ पटक डायलासिस गर्नुपर्ने आफ्नी आमालाई अहिले २ पटकमात्र गराइएको बताइएको छ। उनीहरुका अनुसार हरेक पटक ४ घण्टा गर्नुपर्ने डायलासिस अहिले २–३ घण्टामा छोट्याइएको छ।

लकडाउनका कारण भारतबाट आउनुपर्ने सामान नआएपछि अस्पतालले सेवामा कटौती गरेको उनीहरुले बताएका छन्।

‘ट्युव, केमिकल र औषधि लगायतका धेरैजसो सामान भारतदेखि आउँछन्। भारतमा लकडाउन भएका कारण उपलब्ध स्टकबाटै काम चलाउनका लागि अस्पतालले सेवामा कम गरिरहेको छ,’ उनीहरुले लेखेका छन्। ‘त्यो स्टक पनि छिटै सकिनसक्छ।’

यसरी डायलासिसमा कमी गर्दा आमाको रक्तचाप बढ्ने लगायतका गम्भीर समस्या देखिएको उनीहरुले बताएका छन्।

‘उहाँसँगै रहेका अर्का बिरामीलाई पनि वान्ता र अरु जटिलता देखिएको छ। यहि अवस्था रहेमा नेपालमा डायलासिस गराइरहेका हजारौं बिरामीको ज्यान जोखिममा पर्नेछ,’ उनीहरुको अपिलमा लेखिएको छ।

यो अभावको गम्भिरताका साथ समाधान खोज्न नेपाल सरकार र स्वास्थ्य मन्त्रालयलाई उनीहरुले अनुरोध गरेका छन्।

‘रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बिरामीहरु कोरोना संक्रमणका बेला बढि जोखिममा रहने हुँदा बिशेष ख्याल गर्नुपर्ने अवस्थामा नियमित डायलासिस सेवा समेत नपाउँदा झनै चिन्ता बढेको छ।

यसैगरी अरु थुप्रै बिरामी पनि पीडित हुने भएकोले सबैको ध्यानाकर्षण होस् भनेर यसरी सार्वजनिक रुपमैं लेख्नुपरेको हो,’ अमेरिकाको मिसिसिपीबाट स्वेताले फोनमा नेपालखबरसँग बताइन्।

अस्पतालले नर्स तथा कर्मचारीको व्यवस्थापन, आवश्यक सामग्रीको कमीको कारण डायलासिसको संख्या घटाउनुका साथै समय छोट्याउनुपरेको बताएको अमिताका श्रीमान सरोज अधिकारीले बताए।
आवश्यकता अनुसार डायलासिस हुन नपाउँदा सास फेर्न अप्ठेरो हुने, शरिर दुख्नेदेखि बिभिन्न समस्या हुने उनले बताए।

मिर्गाैला उपचार गर्ने अन्य अस्पतालहरुमा पनि त्यस्तै अवस्था रहेकाे स्वास्थ्यकर्मीहरुले बताए।

सामग्री अभाव भएकाेले सेवा सीमित गर्नुपर्याे: डा. काफ्ले
मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले भारत र नेपाल दुवैतर्फ लकडाउन भएका कारण डायलासिसका लागि आवश्यक सामग्रीको अभाव भएको बताए।

‘हाम्रो लागि भारतबाट आउने सामान त्यहाँ र नेपालमा भएको लकडाउनको कारण आउन सकेको छैन,’ डा. काफ्लेले भने। ‘भारतमा बैशाख २ गतेसम्म लकडाउन छ। यो बैशाखको १५-२० सम्म पुग्नसक्छ त्यसैले व्यावसायीले पनि पर्याप्त सामान दिएका छैनन।’

उनले अहिले आफूहरुले पनि ४ पटक डायलासिस गर्नुपर्नेलाई ३ पटक, ३ पटक गर्नुपर्नेलाई २ पटक र ४ घण्टा लगाउनु पर्नेलाई ३ घण्टा र ३ घण्टा गर्नुपर्नेलाई २ घण्टामात्रै डायलासिस गरेको बताए।

‘यसले गर्दा बिरामीलाई अप्ठेरो भएको छ, तर, सामान अभाव हुँदा पनि जसरी भएपनि बिरामी बचाउनुपर्छ भनेर हामीले त्यस्तो गरेका हौं,’ उनले भने।

अहिले बजारमा उपलब्ध सीमित सामग्रीले असीमित उपचार गर्न नसकिने उनले बताए।

सरकारले नियमित डायलासिस गरिरहेकालाई दिनुपर्ने रकम समेत रोकेको पनि उनले जानकारी गराए। ‘डायलासिस गरिएको छ तर सरकारले पैसा दिएन जसले गर्दा संकटका बेला काम गर्न समस्या भइसक्यो,’ उनले थपे।

उनका अनुसार हाल देशभर नियमित डायलासिस गर्ने विरामीको संख्या ५ हजार छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad