समाज


यसपालि नेपालमा मनसुन प्रवेश ५७ वर्षयताकै छिटो

यसपालि नेपालमा मनसुन प्रवेश ५७ वर्षयताकै छिटो

नेपालखबर
जेठ १६, २०८२ शुक्रबार १८:३०, काठमाडौँ

नेपालमा यसपटक मनसुन ५७ वर्षयताकै सबैभन्दा छिटो भित्रिएको छ। 

मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार यसअघि मनसुन सबैभन्दा छिटो सन् १९९६ मा मे ३१ तारिखका दिन नेपाल भित्रिएको थियो। 

यस वर्ष सन् २०२५ मा त्यसभन्दा अझ चाँडो मे २९ तारिखमै मनसुन नेपाल भित्रिएको हो।  

नेपालमा मनसुन प्रवेश गर्ने सरदर मिति जुन १३ तारिख हो। तर मनसुन १५ दिन छिटो बिहीबार राति नै पूर्वी क्षेत्रमा प्रवेश गरेको मौसम महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए। 

उनका अनुसार नेपालमा मनसुनको तथ्यांक राख्न थालिएको सन् १९६८ देखि हो। त्यसयता यस वर्ष अहिलेसम्मकै छिटो मनसुन नेपालमा प्रवेश गरेको उनले बताए। 

यसको कारण के हो त? 

नेपालखबरको जिज्ञासामा उनले भने, ‘बंगालको खाडीमा न्यूनचापीय प्रणाली चाँडो विकास भएकाले मनसुन छिटो आइपुगेको हो।’

यसलाई जलवायु परिवर्तनको असर मान्न सकिन्छ कि? 

उनले भने, ‘यो कुराचाहिँ अनुसन्धानकै विषय हो। अहिले यही हो भन्न सकिन्न।’

हेर्नुहोस् नेपालमा मनसुनको रेकर्ड राख्न थालेदेखि गत वर्ष सन् २०२४ सम्म मनसुन भित्रिएको र बाहिरिएको तथ्यांक:

मौसमविद्का अनुसार नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो भने बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो।

तर यो सरदर मिति भएकाले नेपालमा मनसुन ठ्याक्कै यही मितिमा भित्रिने वा बाहिरिने गर्दैन, २/४ दिन अघिपछि हुने गरेको छ।

गत वर्ष सन् २०२४ मा पनि मनसुन सरदर मितिभन्दा ३ दिनअघि जुन १० तारिखमा प्रवेश गरेको थियो भने १० दिन ढिला अक्टोबर १२ तारिखमा बाहिरिएको थियो। 

तर यस वर्ष सन् २०२५ मा भने मनसुन रेकर्ड राख्न थालेयताकै छिटो गरी १५ दिनअघि नै नेपाल प्रवेश गरेको हो। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भाग कोसी प्रदेशबाट जेठ १५ गते राति मनसुन भित्रिएको हो र उक्त प्रदेशका अधिकांश स्थानमा मनसुन फैलिसकेको छ। जसका कारण कोसी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।

अब मनसुन क्रमश: पश्चिमतर्फ सर्दै बिस्तारै देशभर फैलिन्छ। मनसुन देशैभर पुग्न अझै केही समय लाग्ने मौसम महाशाखाले जनाएको छ।  

जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। 

विभागका मौसम विज्ञान सहायक सुरेश खनालका अनुसार जेठ १८ असोज ४ गतेसम्म ४ महिनाको अवधिमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना देखिएको हो। 

कुन-कुन प्रदेशमा छ सरदरभन्दा बढी वर्षाको सम्भावना?  
खनालका अनुसार सरदरभन्दा बढी पानी पर्ने सम्भावना कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा देखिएको छ। कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशका अधिकांश भूभागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ५५ देखि ६५ प्रतिशत छ।

यस्तै सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भूभाग, बागमती र कोसी प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत छ।

मधेस प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ। मधेस प्रदेशको समतल भूभागमा सरदर वर्षा हुने सम्भावना छ।  

सरदर वर्षा भनेको के हो? 
कुनै पनि ठाउँको सरदर वर्षा थाहा पाउन ३० वर्षको पानी परेको तथ्यांक अध्ययन गर्नुपर्छ। यसलाई टर्साइल क्याटागोरी भनिन्छ। यसका लागि ३० वर्षभन्दा लामो हरेक सालको वर्षालाई थोरैदेखि धेरैको क्रमलाई मिलाएर राखिन्छ।

अनि ३३.३ र ६६.६ प्रतिशतकले टुक्र्याई ३ बराबर भागमा विभाजन गरिन्छ। ३३.३ प्रतिशत वा त्यो भन्दा थोरै पानी पर्‍यो भने सरदरभन्दा कम पानी परेको भनिन्छ।

३३.३ प्रतिशतदेखि ६६.६ प्रतिशत बीचमा पानी पर्‍यो भने सरदर पानी परेको भनिन्छ। त्यसैगरी ६६.६ प्रतिशतभन्दा बढी पानी पर्‍यो भने सरदरभन्दा बढी पानी परेको भनिन्छ। 

मौसम विज्ञान सहायक सुरेश खनालका अनुसार यस वर्ष मनसुनमा तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना छ। सरदरभन्दा बढी पानी पर्ने र तापक्रम पनि बढी हुने भएकाले यसको असर धेरै क्षेत्रमा पर्ने देखिन्छ।

कृषिमा असर: सरदरभन्दा बढी वर्षा हुँदा बाढी आउने तथा पानी जम्ने समस्या हुन सक्छ। बालीमा लाग्ने रोग बढ्न सक्छ। बढी तापक्रमको असर पनि बालीनालीमा पर्न सक्छ। 

स्वास्थ्यमा असरः सरदरभन्दा बढी पानी पर्दा मलेरिया, डेंगी, हैजा, झाडापखालाजस्ता रोग फैलिन सक्छ। सरदरभन्दा बढी तापक्रमका कारण वृद्ध, बालबालिकाहरूमा गर्मीको असर पर्न सक्छ। जलस्रोतमा असरः सरदरभन्दा बढी पानी पर्नाले नदीनालामा बाढी आउन सक्छ। 

यातायात तथा पूर्वाधारमा असरः सरदरभन्दा बढी पानी पर्दा सडक, पोल पूर्वाधारमा क्षति हुन सक्छ। ठूलो पानी र बाढीले यातायात प्रभावित हुन सक्छ। यी कारणले विपद्का घटना बढ्न सक्छन्।

यसैले यस वर्ष मनसुन अवधिमा बढी सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आम नागरिकलाई आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad